सार्वजनिक यातायात महासंघको प्रदेश कार्यालय

समाधान संवाददाता २०७९ असार २९ गते १०:२२

पोखरा ।
पोखरामा सार्वजनिक यातायात केन्द्रीय महासंघको गण्डकी प्रदेश कमिटीको कार्यालय उद्घाटन गरिएको छ । पोखरा ११ स्थित रानीपौवामा गण्डकी यातायात व्यवस्था कार्यालयका प्रमुख डिल्लीराम रिजालले कार्यालय उद्घाटन गरे । रिजालले यातायात महासंघको उद्देश्य अनुरुप नै काम गर्नेमा विश्वास व्यक्त गरे । उनले यातायात व्यवस्थामा सेवाग्राहीलाई व्यवस्थित तरिकाले सेवा, सुविधा प्रदान गर्नका लागि लागिपरेको उल्लेख गरे ।

Advertisement

‘हाम्रो कार्यालयमा हुने गरेको बेथितीको विरुद्धमा मैले काम गरिरहेको छु, उनले भने, ‘अब डिजिटलाइजलाई ध्यानमा राखेर मैले विभागमा प्रस्तावहरु लगिसकेको छु । जसरी हुन्छ भीडभाडलाई कम गर्ने र नागरिकमैत्री सेवा प्रदान गर्नको लागि म लागिपरहेको छु ।’ उनले मुलुक संघीय संरचनामा गइसकेको बताउँदै प्रदेशमा अधिकार नदिएको बताए । ‘हाम्रो सर्भरसमेत हाम्रो हातमा छैन,’ उनले भने, ‘एउटा नयाँ कर्मचारी सरुवा भएर आयो भने उसको एकाउन्ट बनाउन केन्द्रलाई नै गुहार्न पर्छ । त्यसैले हाम्रो अधिकार केन्द्रमै डम्पिङ भएको छ ।’

उनले बिचौलिया प्रथालाई अन्त्य गर्ने उद्देश्यसहित प्रविधिको प्रयोग गर्नेतर्फ पहल गरिरहेको जनाए । सार्वजनिक यातायात केन्द्रीय महासंघको गण्डकी प्रदेश कमिटी अध्यक्ष वसन्त प्रधानले उक्त कार्यालयबाट सवारीमा लगानी गर्ने र यात्रुको समस्या समाधानको पक्षमा लाग्ने बताए । उनले सार्वजनिक यातायातले भोग्ने गरेका समस्या र यात्रुलाई गरिने ठगीको विषयमा गम्भीर भएर काम गर्नेसमेत प्रतिवद्धता जनाएका थिए ।

प्रदेश कमिटीले प्रदेशभित्र सञ्चालन हुने यातायात सेवाको संरक्षण, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा गुणस्तरीय सेवा प्रदान गर्ने, नेपाल सरकार तथा कम्पनी ऐन, पर्यटन ऐन, साबिक करार ऐन, यातायात व्यवस्था ऐन र अन्य प्रचलित ऐन, कानुनको अधिनमा रही दर्ता भए गरेका यातायातसँग सम्बन्धित सम्पूर्ण कम्पनी, प्रालिलाई सदस्यता प्रदान गर्ने, पेशागत संरक्षण गर्ने, यातायात क्षेत्रसँग सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने, आलोपालो पद्धति अनुसार रुटको व्यवस्था गर्ने, यातायातसँग सम्बन्धित आवश्यक नीति, नियम आचारसंहिता ऐन, कानुन निर्माण, तर्जुमा गर्नका लागि सम्बन्धित निकाय तथा प्रदेश सरकारलाई राय, सुझाव तथा परामर्श दिने लगायतको उद्देश्यअघि सारेको छ ।
यो कमिटीमा २४ यातायात प्रालि सदस्यका रुपमा आवद्ध छन् ।

Advertisement

तपाईको प्रतिक्रिया