बास्तोलालाई श्रीपति पत्रकारिता पुरस्कार

समाधान संवाददाता २०७९ असार २९ गते १०:५७

पोखरा ।
श्रीपति कोइराला गुठी पोखराले यसै वर्ष स्थापना गरेको श्रीपति सामाजिक पत्रकारिता पुरस्कारबाट आदर्श समाज राष्ट्रिय दैनिकका प्रधानसम्पादक कृष्णप्रसाद बास्तोलालाई सम्मान गरिने भएको छ । गुठीबाट सञ्चालित श्रीपति समाजसेवा पुरस्कार २०७९ सर्लाहीको लालबन्दी नगरपालिका २ जुटपानीस्थित पदम भुवनेश्वरी नमुना वृद्ध सेवाश्रमलाई प्रदान गरिने भएको छ ।

Advertisement

गुठीले १ सय १५ औं श्रीपति जयन्ती अवसरमा सोमबार आयोजित कार्यक्रममा उक्त घोषणा गरेको हो । गुठीका अध्यक्ष लक्ष्मण कोइरालाले पुरस्कार गुठीको ३० औं वार्षिक साधारणसभामा प्रदान गरिने जानकारी दिए । श्रीपति सामाजिक पत्रकारिता पुरस्कारको राशि २२ हजार २ सय २२ र सम्मानपत्र छ । समाज परिवर्तन, सामाजिक जागरण, समाजिक गतिविधि उजागर गर्ने पत्रकारलाई प्रदान गरिने प्रदेशस्तरीय यो पुरस्कार यसै वर्षदेखि सुरु गरिएको हो ।

श्रीपति समाजसेवा पुरस्कारको राशि २ लाख २२ हजार २ सय २२ र सम्मानपत्र छ । यसअघि उक्त पुरस्कारबाट अनुराधा कोइरालाद्वारा स्थापित माइती नेपाल र महावीर पुनबाट स्थापित राष्ट्रिय आविष्कार केन्द्र काठमाडौं सम्मानित भइसकेका छन् ।
सर्लाहीको पद्म भुवनेश्वरी नमुना वृद्ध सेवाश्रम लामो समयदेखि ज्येष्ठ नागरिक तथा अशक्त, असहाय एवं वेवारिसे नागरिकको सेवामा समर्पित छ । पत्रकार बास्तोला ४२ वर्षदेखि पत्रकारिता क्षेत्रमा निरन्तर क्रियाशील छन् । विभिन्न सामाजिक संस्थामा पनि आवद्ध उनी स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष हुन् ।

कार्यक्रममा पुरस्कार छनोट समिति संयोजक प्राडा दिलबहादुर क्षत्रीले श्रीपतिको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा उपाध्यक्ष फणीन्द्रराज कोइराला, सचिव नवराज कोइरालाले पनि बोलेका थिए । विसं १९९० को आसपासमा विभिन्न स्थानमा पाटी पौवा स्थापना गरी सामाजिक क्षेत्रमा योगदान पु¥याएका श्रीपति कोइरालाको स्मृतिमा ०४९ सालमा स्थापित श्रीपति कोइराला गुठी पोखराले पुरस्कार, छात्रवृत्ति लगायत विभिन्न सामाजिक कार्यक्रम गर्दै आएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया