नर्मदेश्वर मोक्षाश्रममा संकीर्तन हुने
पोखरा ।
पोखरा महानगरपालिका वडा नं २७, २९ र ३३ को त्रिवेणी मदौरुकुना मदौरुघाटस्थित नर्मदेश्वर मोक्षाश्रमधाममा १ महिने हरिनाम संकीर्तन गरिने भएको छ । कर्दम–कश्यपजस्ता ऋषिमुनिको साधनास्थलका रूपमा लिइने शुक्ला गण्डकी र बगादी नदीको संगमस्थलको यस तीर्थस्थलमा यही साउन १ गतेदेखि महिनाभर लोक कल्याणको कामना गर्दै हरिनाम संकीर्तन गर्न लागिएको नर्मदेश्वर मोक्षाश्रमधाम संरक्षण समितिका अध्यक्ष झविन्द्रराज आचार्यले जानकारी दिए ।
प्राचीन कालदेखि साधकको अभिलाषा पूर्ण गर्ने तीर्थस्थलका रूपमा परिचित भए पनि यस तीर्थस्थलको आवश्यक प्रचारप्रसार भने हुन नसकेको उनले बताए । तीर्थस्थलको महत्वलाई थप उजागर गर्दै पूर्वाधार विकासका योजनालाई अघि बढाएको समितिले धाम परिसरमा द्वादश ज्योर्तिलिंगसहित जमिनमुनि १५ फिट गहिराइ, ३२ फिट लम्बाइ र १५ फिट चौडाइको गर्भगृहमा ११ फिट उचाइको श्री नर्मदेश्वर शिवलिंग स्थापना गर्ने लक्ष्य लिएको छ ।
१२ रोपनीमा फैलिएको मन्दिर परिसरमा सर्वेश्वर शिव, श्रीरामचन्द्र, श्रीकृष्ण आदि भगवान्का लीला शैलीमा आधारित कलात्मक मूर्ति रहने जनाइएको छ । मन्दिरको उचाइ जमिनको सतहबाट ४५ फिट र चौडाइ ५० फिट हुने र नेपाल आमा एवं अवतारी महापुरुषहरूको मूर्ति स्थापना गरी यस क्षेत्रकै अपूर्व दर्शनीय धाम बनाउने लक्ष्य राखिएको छ । समितिले धाममा साधु, सन्त, वृद्धवृद्धा, ब्रम्हचारी, बटुक र भक्तजनका लागि नित्य भोजन, आवासका साथै अन्य अतिथि तथा धार्मिक पर्यटकका लागि प्राथमिकतानुसार आतिथ्य भोजन उपलब्ध गराउँदै आएको छ । उक्त कार्यका लागि मुठ्ठीदान आह्वान गरिएको छ ।
अध्यक्ष आचार्यका अनुसार समितिले धाममा गौशाला, विशाल अतिथिगृह, पोखरा तथा मुक्तिनाथमा आउने तीर्थालुका लागि सुविधासम्पन्न भवन, गौशाला, यज्ञमण्डप, १०८ शिवलिंग, धर्मकुवा, महाकालेश्वर अखण्ड दीप, १ सय ८ दीप लगायत निर्माणका लागि लघु तथा गुरुयोजना अघि सारेको छ । धाममा वैदिक सनातन आधुनिक गुरुकुल पाठशाला स्थापनाको लक्ष्यसमेत राखिएको छ । गुरुयोजनानुसार पूर्वाधार निर्माणका लागि रु आठ करोड लागतको अनुमान गरिएको बताउँदै उनले लक्षित योजनामध्ये ४० प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिए ।
पीतृतीर्थका रूपमा समेत रहेको यस धामका सम्बन्धमा केही रोचक किंवदन्तीसमेत छन् । परापूर्वकालमा वरवृक्षको छहारीमा बसी तपस्या, साधना एवं यज्ञादि कार्य हुने भएकाले नर्मदेवर भगवान्लाई दायाँपारी वरवृक्षको समीप हुँदै बग्ने नदीलाई बरगाछी भनिएको र पछि अपभ्रंश भई बगादी भनिएको किंवदन्ती छ । यसै स्थलमा कुनै साधकले तपस्या र साधनाको माध्यमबाट विशेष धार्मिक पर्वमा अदृश्य पुजारीको माध्यमबाट पूजाअर्चना गर्ने गरेको र पूजाका लागि भक्तजन पुग्दा पूजा भइसकेको देखिने जनश्रुति छ ।
धाममा वैशाख, साउन र माघे संक्रान्तिका साथै शिवरात्रि, नवदुर्गा, हरिसयनी एकादशी, हरिबोधिनी एकादशी, रामनवमी आदिमा विशेष मेला लाग्ने गर्दछ ।
तपाईको प्रतिक्रिया