सम्पादकीय: फोहोरमैलाको व्यवस्थापनका लागि ठोस योजना आवश्यक

समाधान संवाददाता २०७९ असार २९ गते १२:११

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि नजिकैको ल्यान्डफिल साइटलाई तत्काल अन्यत्र सार्नु पर्छ । तर त्यसको लागि पोखरा महानगरले जग्गाको अझै व्यवस्थापन गर्न सकेको छैन । स्थानीय तहको निर्वाचन २०७९मा निर्वाचित जनप्रतिनिधिहरुको कार्यपालिकाको पहिलो बैठकले पोखरा ३३ भरतपोखरीको लटमुरपाटामा ल्यान्डफिल साइड सार्नको लागि सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेको थियो । महानगरको ५५ औं कार्यपालिका बैठकले गरेको निर्णय स्थानीय जनताको अबरोधपछि कार्यान्वन हुन सकेको छैन । वातावरणीय अध्ययनपश्चात् मात्रै ल्यान्डफिल साइट राख्ने स्थान तोक्ने भनेपछि आन्दोलन स्थगित भएको छ ।

Advertisement

दीर्घकालीन हिसाबले बनाउने ल्यान्डफिल साइटका बारेमा वातावरणीय अध्ययन नगरी ठाउँ नतोक्ने महानगरको योजना छ ।
समग्र पोखराको फोहोरमैलाको व्यवस्थापनदेखि ल्याण्डफिल साइट कहाँ बनाउने भन्नेमा महानगरले ठोस योजना ल्याउन सकेको छैन । महानगरले तत्कालको लागि फोहोर उठाउने जिम्मा पाएका कम्पनीको म्याद थप्ने योजना सार्वजनिक गरेको छ । यस भन्दा अगाडीका जनप्रतिनिधिले वैकल्पिक व्यवस्था नहुँदासम्मको लागि पोखरा महानगरपालिकाले पोखरा १४का स्थानीय समुदायसँग म्याद थप्दै चलाउँदै गरेको छन् । हाल पोखरामा दैनिक १ सय ८८ टन फोहोर उत्पादन हुन्छ ।

पोखरा वडा १४ स्थित बाच्छेबुडुवामा रहेको ल्यान्डफिल साइटमा व्यवस्थापन हुँदै आएको छ । महानगरले आगामी वर्षको बजेटमा ल्यान्डफिल साइटका लागि जग्गा खरिद, स्थानीय सहजीकरण, साइट एवं पूर्वाधार निर्माणका लागि अध्ययन, साइट र पूर्वाधार निर्माण, निजी तथा दातृ निकायसँग सहकार्य, ब्रुमर खरिद र सरसफाइ शीर्षकमा १० करोड विनियोजन गरेको छ ।
अहिलेको ल्यान्डफिल साइट पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको नजिकै रहेको र यसको विकल्प नखोजेसम्म उडान सुरु गर्न नसकिने अवस्था छ । चीन सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण समेत गरी सकेको छ ।

Advertisement

करिब २ किलोमिटरमा रहेको ल्यान्डफिलका कारण हवाई उडानमा पक्षीं तथा चराचुरुंगी आउने र विमानसँग ठोक्किने जोखिम हुने भएकोले ल्यान्डफिल साइट स्थानान्तरण गर्न गर्नु पर्छ । विमानस्थल निर्माण आयोजनाले ल्यान्डफिल साइट सार्न पोखरा महानगरलाई ३ वर्षदेखि अनुरोध गर्दै आएको थियो । गत कात्तिक ५ गते भएको पोखरा महानगरपालिकाको ५२ औं कार्यपालिका बैठकले ल्यान्डफिल साइड सार्ने निर्णय गरेपनि जग्गाका व्यवस्थापन हुन सकेको छैन । विगतमा पोखरा २० मा रहेको पस्मराङ खोंचमा ल्यान्डफिल साइट सार्ने निर्णय स्थानीयको अवरोधपछि योजना पनि अघि बढ्न सकेको थिएन ।

पोखराको फोहोर मैलाको दीर्घकालिन रुपमा व्यवस्थापनको लागि ल्यान्डफिल साइट आवश्यक छ । निजी क्षेत्र, सामाजिक संघ संस्था लगायतका सरोकारवालासँगको समन्वयमा काम अगाडी बढाउनु पर्छ । वर्गिकरणको व्यवस्था गर्न सके फोहोर मैलालाई मुहानमानै व्यवस्थापन गर्न सकिन्छ । कुहिने फोहोरबाट प्रांगारिक मल बनाउन सकेमा नकुहिने थोरै फोहोरमैलाको व्यवस्थापन गर्न सहज हुन्छ । वैज्ञानिक रुपमा व्यवस्थापन गर्न सके फोहरलाई मोहरमा रुपान्तरण गर्न सकिन्छ । त्यसको लागि महानरको स्पष्ट दृष्टिकोण, योजना र कार्यक्रम आवश्यक पर्छ ।

Advertisement

तपाईको प्रतिक्रिया