गण्डकीमा क्याथ ल्याब
स्वास्थ्य समस्या कसैलाई आई नपरोस् । अझ मुटुको समस्या त कसैलाई नहोस्, यो हाम्रो कामना हो । मुटुको धडकन छ त जीवन छ, नत्र छैन । अझैं भनौं मानिस स्वस्थ भइरहनु पर्छ र स्वस्थ जीवनयापन गर्न पाउनुपर्छ । यदि यसो हो भने स्वस्थ नागरिक भएको त्यही देश नै समृद्ध देश हुन्छ भन्ने कुरालाई कल्ले पो नकार्ला ?
मानव शरीर हो कति बेला के के आईपर्छ । सकेसम्म त रोग लाग्नै नदिने, डाक्टर, स्वास्थ्यकर्मीले दिएको परामर्शलाई लागू गर्नुपर्यो । सजगता अपनाउँदा अपनाउँदै पनि स्वास्थ्य समस्या आईहाल्यो भने द्रुत गतिमा उपचारका लागि स्वास्थ्य संस्थामा जानु पर्यो ।
रोटरीबाट पौने ५ करोड र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थपिएको रकमसहित साढे ५ करोडमा तयार भएको क्याथ ल्याब आजबाट सञ्चालनमा
मानिसमा धेरै प्रकारका स्वास्थ समस्या देखिने गर्छन्, जसको उपचार तत्काल हुन पाएन भने ज्यान जोखिममा पर्न सक्छ । एउटा प्रमुख हो मुटुको समस्या । यो समस्या देखिएको ३० मिनेटमा डाक्टरसम्म पुग्न सकियो भने बिरामीलाई जोखिमबाट मुक्त गराउन सक्ने सम्भावना बढी हुन्छ । ढिलो भइहाल्यो भने ९० मिनेटसम्मको अवधिलाई सम्भावनायुक्त मानिन्छ ।
अन्य रोगभन्दा भिन्दै र संवेदनशील छ मुटुको उपचार । यसको उपचारका लागि गण्डकी प्रदेशवासीलाई पहिले पोखरा बाहिर उपचारका लागि जानुपर्ने, खर्च पनि उत्तिकै हुने र हेलिकोप्टरकै सेवा लिनु पर्यो भने पनि डेढ लाख त जुटाउनै पर्यो । अनि भन्ने बित्तिकै पैसा कहाँबाट जुटाउने, जुटाईहाले पनि खर्च त भयो । अझ पैसा नहुनेका लागि के ? अवस्था गम्भीर छैन त ? हो, यसैको आवश्यक्ता परिपूरणका लागि अगाडि सर्यो रोटरी क्लब अफ पोखरा । यहाँका सबै रोटरी क्लबको संयुक्त प्रयासमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा स्थापना र जडान गरियो क्याथ ल्याब ।
क्याथ ल्याब मुटुको समस्या भएकाहरुको जाँचका लागि गएको माघमा जडान भएपछि अब यसको औपचारिक उद्घाटनको चरणमा आएको छ । मुटुको उपचारका लागि जडान गरिएको क्याथ ल्याबबाट एन्जिओग्राम, एन्जियोप्लास्टी र मुटुको शल्यक्रियाका लागि आवश्यक जाँच गरिन्छ । यो आधुनिक अमेरिकी उपकरण हो । जो आइजिएस ३२० अप्टिमा ब्रान्डको रहेको छ ।
विशुद्ध नागरिकको स्वास्थ्य सेवाका लागि हामीले सन् २०१८ मा क्याथ ल्याब जडानको अवधारणा बनायौं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र हामीबीच रोटरी मुटु उपचार केन्द्र परियोजना पोखराको नाममा सम्झौता पनि भयो । त्यसपछि लगातारको प्रयास जारी रह्यो । मेसिन खरिदका लागि हामी आवश्यक रकम संकलनतिर लाग्यौं । यसमा देश, विदेशमा रहेका रोटरी क्लबहरुको प्रमुख हात छ । रोटरी डिस्ट्रिक तथा रोटरी फाउन्डेसनले सघायो । जसबाट हामीले ४ करोड ७८ लाख संकलन गर्न सक्यौं । यसमा पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थपिएको खर्चसहित जम्मा यो परियोजनाका लागि साढे ५ करोड खर्च भएको छ ।
रकम संकलनमा नेपालका ८ रोटरी क्लबबाट २ करोड, विदेशी क्लबबाट १ करोड, चार वटा रोटरी अन्तर्राष्ट्रिय डिस्ट्रिकबाट करिब १ करोड रहेको छ । यसमा द रोटरी फाउन्डेसनसहितको गरेर ४ करोड ७८ लाख र प्रतिष्ठानबाट थपिएको गरेर साढे ५ करोड लागत रहेको छ ।
सर्वसुलभ सेवा दिनका लागि क्याथ ल्याब
पोखरामा क्याथ ल्याब जडान गर्नुको एउटै उद्देश्य सबैका लागि मुटुको समस्याबाट ज्यान जोखिममा पर्न नदिन र स्वस्थ बनाउनकै लागि हो । यहाँबाट कयौं रकम खर्च गर्न काठमाडौं वा बाहिर जानुपर्ने बाध्यतालाई कम गर्न नै हो । सबैभन्दा ठूलो कुरा नागरिकको स्वस्थ्यकै लागि हो । सबै प्रदेशबासीलाई सर्वसुलभ सेवा दिनका लागि क्याथ ल्याब जडान भई अहिले उद्घाटनको चरणमा आईपुग्नु गौरवको कुरा पनि हो ।
पश्चिमाञ्चल अस्पतालमा अहिले मुटु रोग विशेषज्ञका रुपमा ३ डाक्टर रहेका छन् । सबै कुराको काम हुने भए पनि अप्रेसनका लागि विशेषज्ञ सर्जनको लागि तत्काल अस्थायी रूपमा व्यवस्था गरिएको छ । तर, यसको दीर्घकालीन व्यवस्थाको खाँचो छ । यसको व्यवस्या छिट्टै होला भन्ने आशा गरौं ।
यस क्याथ ल्याब स्थापनाका लागि संयोजकको भूमिकामा रहेको नाताले अब पोखरालाई संघीय राजधानीपछिको सुविधा सम्पन्न अस्पताल र अध्ययन केन्द्र बनाउनका लागि यो कार्यले मियोको रुपमा काम गर्ने आवश्यक्ता बोध गरिएको छ । अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडीको पढाइ सुरू भएको छ भने डिएम, एबिबिएसको पढाइपछि सुरु हुने लक्ष्य छ । यसलाई हामीले स्वास्थ्य उपचार केन्द्रका रुपमा मात्रै नलिएर स्वास्थ्य क्षेत्रको अध्ययन, अनुसन्धानको केन्द्रको रुपमा पनि लिएका छौं ।
७ क्लबको तर्फबाट समितिमा बाबुराम बराल, माधवप्रसाद सिग्देल, विनोदप्रसाद हेज्यू, विश्वप्रसाद कर्माचार्य, बाबुराम पाठक, जयराम पौडेल र अब्राहम खान छन् । यस्तै, रोटरी क्लब अफ पोखरा सहयोग समितिमा ज्ञानेन्द्रप्रसाद सिग्देल, रामचन्द्र थापा, उदीप श्रेष्ठ, मीनु श्रेष्ठ कुँवर, राजेन्द्र श्रेष्ठ, जितेन्द्र सिग्देल, विनयकुमार श्रेष्ठ, कपिलकिरण श्रेष्ठ र सल्लाहकार किरणलाल श्रेष्ठ छन् ।
बराल रोटरी क्लब अफ पोखराका पूर्व अध्यक्ष तथा रोटरी मुटु उपचार केन्द्र परियोजनाका संयोजक हुन्
तपाईको प्रतिक्रिया