वडासम्म मानव अधिकार एलाइन्स
पोखरा ।
ग्रामीण तहमा मानव अधिकार संस्कृति विकास गर्न मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलाइन्स)ले हरेक पालिकाको वडा तहमा संरचना निर्माण गर्ने तयारी गरेको छ । एक गाउँपालिका एक मानव अधिकार रक्षकको अवधारणाअघि सारेको एलाइन्सलाई वडा तहका विस्तार गर्न लागेको एलाइन्सका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश इन्चार्ज रामचन्द्र पौडेलले जानकारी दिए ।
संस्थाको २३ औं स्थापना दिवसको अवसरमा एलाइन्स गण्डकी प्रदेश तथा कास्की शाखाले बुधबार आयोजना गरेको मानव अधिकारको सवाल र मानव अधिकार एलाइन्सको भूमिका विषयक कार्यक्रममा उनले संगठनलाई पालिका तथा वडा तहमा पुर्याएर मानव अधिकार रक्षक तथा अभियन्तालाई समेट्ने जानकारी दिए । संस्थाको पोखरामा भएको पाँचौ राष्ट्रिय महाधिवेशनले विधानलाई संशोधन गरेर वडा स्तरका युवा क्लब, आमा समूह र टोल विकास संस्थालाई सदस्य बन्न मिल्ने व्यवस्था गरेको छ,’ सचिव पौडेलले भने, ‘टोल तथा वडा तहका रक्षक तथा अभियन्तालाई समेट्ने क्रममा भदौमा राष्ट्रिय स्तरको भेला गर्न लागिएको छ ।’
उनले ७ सय ५३ पालिकाबाट प्रतिनिधित्व गर्ने मानव अधिकार रक्षकको भेलाले वडा तहमा एलाइन्सलाई पुर्याउन सहयोग पुग्ने चर्चा गरे । केन्द्रीय सचिव पौडेलले ७७ जिल्लामा शाखा विस्तार गरेको संस्थामा मानव अधिकारको क्षेत्रमा काम गर्ने १ हजार ३ सयभन्दा बढी सदस्य संस्था रहेको जानकारी दिए । नेकपा (एमाले) गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले मानव अधिकारको सवालमा एलाइन्सले दिएका राय, सुझावका आधारमा पार्टी चल्ने बताए । अहिलेको सन्दर्भमा मानव अधिकारको विषय धेरै वृहत भएको चर्चा गर्दै उनले पछिल्लो पुस्ताको अधिकार, स्वच्छ वातावरणको हकदेखि पृथ्वीलाई जोगाउने सबाल उठ्ने गरेको उल्लेख गरे ।
गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदीले संक्रमणकालीन न्यायका संयन्त्रलाई सशक्त बनाएर सशस्त्र द्वन्द्वकालका मुद्दालाई सही रुपमा सम्बोधन नभए दण्डहिनता मौलाउने तर्क गरे । दिगो विकास र आर्थिक समृद्धिको लागि आर्थिक समाजिक र सांस्कृतिक अधिकारको सवाललाई जोड तोडका साथ उठाउनुपर्ने उल्लेख गर्दै उनले जनताको गास बास र कपासको अधिकारमा पार्टी जिम्मेवार र उत्तरदायी बन्नुपर्ने सुझाव दिए ।
मानव अधिकार एलाइन्सका केन्द्रीय सदस्य तथा इन्सेक गण्डकी प्रदेशका संयोजक शिव खकुरेलले पछिल्लो समयमा महिला तथा बाल अधिकार उल्लंघनका घटना बढेको जानकारी दिँदै लैगिंक हिंसा न्यूनीकरणका लागि पार्टीले सशक्त भूमिका खेल्नुपर्ने बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति कास्की प्रमुख लीलाधर पौडेल, नेकपा (एमाले) जिल्ला कमिटी कास्की उपाध्यक्ष तेजनाराण अधिकारी, अखिल नेपाल किसान महासंघ गण्डकी प्रदेश इन्चार्ज रामबहादुर थापा, मानव अधिकार एलाइन्स कास्की अध्यक्ष पदमराज पहारी, उपाध्यक्ष गीता पौडेल, सचिव मधु पन्थी लगायतले पार्टीका हरेक संरचनालाई मानव अधिकार मैत्री बनाउनुपर्नेमा जोड दिए ।
तपाईको प्रतिक्रिया