बोलबम पदयात्राको तयारी

समाधान संवाददाता २०७९ असार ३१ गते ११:५१

पोखरा ।
केदारेश्वर महादेवमणि बोलबम धाम बैदामले बोलबम पदयात्रासहित जलापर्ण कार्यक्रम गर्न लागेको छ । हरेक साउन महिनाको सोमबार बोलबम पदयात्रा हुने गरेको छ । २० वर्षदेखि निरन्तर चलेको बोलबम जलयात्रा कोभिड १९ का कारण विगत २ वर्ष यता हुन सकेको छैन । बोलबम समितिका अध्यक्ष शंकर खरालले बोलबमको पूर्व सन्ध्यामा असार ३२ गते शनिबार मोटर साइकल र्‍याली निकालिने जनाए ।

Advertisement

साउन महिनाको २, ९, १६, २३, र ३० गते सोमबार बगरको गाइघाट स्थित सेतीनदीदेखि पदयात्रा गरी केदारेश्वर मणि बोलबम धाममा जलार्पण गरिने अध्यक्ष खरालले बताए । ‘जलयात्रामा नौमती बाजा, भजनकीर्तन, झाँकी प्रस्तुत गर्ने कार्यक्रम छ,’ उनले भने, ‘बोलबम धाममा मध्यान्न षोडस उपचार सहित विशेष पूजा आराधानादेखि विशिष्ट विद्धानबाट धार्मिक प्रवचन हुनेछ ।’ अध्यक्ष खरालले हरेक सोमबारको साँझ सन्ध्याकालीन आरती हुँदै आएकोमा बोलबममा झनै विशेष हुने दाबी गरे । अध्यक्ष खरालले भारतको बैजनाथबाट बोलबमको सुरुवात भएको बताए । पहिला पहिला नेपालबाट बोलबमको लागि भारत जाने गरिएकोमा अहिले भारतबाट नेपाल आउन थालेको उनले उल्लेख गरे ।

केदारेश्वर महादेवमणि सेवा आश्रमका पीठाधीश डा लेखनाथ आचार्यले बोलबम शिव साधकका लागि शक्ति जागृत गर्ने पर्व भएको जानकारी दिए । उनले बोलबममा साकार र निराकारको रुपमा शिवको आराधना गरिने बताए । बोलबमको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनदेखि आर्थिक गतिविधि बढाउन सहयोग पुगेको दाबी गर्दै उनले पछिल्लो समयमा सुस्ताएको पर्यटन, धार्मिक गतिविधिलाई बढाउने उल्लेख गरे । उनले भोलेबम, भोलेबम हुँदै परिस्कृत रुपमा बोलबम भएको जानकारी दिए ।

कार्यक्रममा सेवा आश्रमका उपाध्यक्ष मिना भट्टराई, बोल बम समिति सचिव खेम पहारी र प्रचारप्रसार समिति संयोजक पार्वता पौडेल बोलबमको आध्यात्मिक, धार्मिक र पर्यटकीय महत्वको बारेमा बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया