दूरावस्थामा मध्यपहाडी लोकमार्ग

राष्ट्रिय समाचार समिति (रासस) २०७९ असार ३१ गते १३:५९

बागलुङ ।
दुई वर्षअघिको वर्षात्मा क्षतविक्षत बनेको मध्यपहाडी लोकमार्गको घोडाबाँधे–हटिया खण्ड झनझन दूरावस्थामा पुगेको छ । सालिन्दा खस्ने पहिराले सडक जीर्ण र बिरुप बनेको छ । मर्मत सुधारको कुनै गुञ्जायस छैन । जोखिम मोलेर सवारी चलाउनुपर्ने स्थिति छ । यात्रुलाई सास्ती छ । घमाउँदा तै बिसेक देखिए पनि झरी पर्दासाथ सडक बेहाल बन्ने गरेको गलकोटका जीप चालक प्रदीप सुनारले बताए ।

Advertisement

‘सडकमा जहीँतहीँ खाल्डाखुल्डी छन्, कालोपत्र उप्केर सडक पुरानै अवस्थामा फर्केको छ’, उनले भने, ‘वर्षायामको यात्रा जहिल्यै कष्टपूर्ण हुन्छ, सडक बनाउनेतिर कसैको ध्यान गएको देखिन्न ।’ २० किमी दूरीको उक्त खण्ड कालोपत्र भएको छ वर्ष नबित्दै जीर्ण बनेको हो । संरक्षण नहुँदा सडकका अरु पूर्वाधार पनि मासिएका छन् । गेगर र झाडीले ढाकिएर नालीको नामोनिसान भेटिन्न । पर्खाल जीर्ण छन् ।

सडक छेउछाउका नयाँ–पुराना पहिराले सडकलाई साँघुरो पारेका छन् । गलकोट नगरपालिका १ र २ का कैयन ठाउँमा सडक भासिएको छ । जम्दारे, भुङ्खानी, चौराहा र साइनपाटन सामुदायिक वन क्षेत्रमा पहिराको उच्च जोखिम छ । तिनै ठाउँमा यसपालिको वर्षाले थप क्षति पु¥याएको छ । दुई वर्षअघि जम्दारेको घुम्तीमा सडक भासिएपछि केही समय ठूला सवारीको आउजाउ नै रोकिएको थियो । त्यो घुम्तीमा अहिले पनि जोखिम कायमै छ । भासिएको ठाउँमा ढुङ्गा माटो हालेर सामान्य मर्मत मात्र गरिएको छ ।

Advertisement

ठाउँपिच्छेका पहिराले सडक साघुरिँदै गएपछि सवारीले निर्वाध हुँइकिन पाएका छैनन् । त्यसले गन्तव्यसम्मको यात्रालाई पनि लम्बाइदिने गरेको छ । गलकोट–१ का अध्यक्ष लालबहादुर रानाले कालोपत्र भएको अर्को वर्षदेखि नै सडक बिग्रन सुरु भएको बताए । अधिक वर्षा हुँदा सडकमा छिटो क्षति पुग्ने गरेको उनको भनाइ छ ।

‘गत जेठ २५ र २६ गतेको वर्षापछि त्यही खण्डमा ठूल्ठूला पहिरा गए, सडक मात्र नभएर व्यक्तिका घरगोठमा पनि क्षति पुग्यो’, वडाध्यक्ष रानाले भने, नाली पुरिने, पहिराको व्यवस्थापन नहुनेजस्ता कारणले पनि सडक बिग्रने गरेको छ ।’ लोकमार्ग आयोजना कार्यालयलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सडक सुधार नभएको उनले बताए । ‘सडक धेरै नै बिग्रिसकेकाले टालटुले कामले अब हुँदैन, पुनःनिर्माण नै गर्नुपर्ने अवस्था छ’, वडाध्यक्ष रानाले भने, ‘आयोजना व्यवस्थापनले गम्भीरता देखाएर काम गर्नपर्छ, नत्र गौरवको आयोजना कै बदनाम हुने स्थिति छ ।’

Advertisement

वर्षायाममा खसेका पहिरा पन्छाएर सडक सुचारु गर्ने गरिए पनि दीर्घकालीन रुपमा सडक सुरक्षाको काम हुन सकेको छैन । लोकमार्गको रेखदेख र मर्मतसुधारमा आयोजना कार्यालयले नै अनदेखा गरिरहेको स्थानीयको गुनासो छ । नालीसम्म सफाइ हुन सके पनि समस्या केही कम हुने देखिन्छ । केन्द्रीय आयोजना भएको हुँदा स्थानीय तह लोकमार्गप्रति उदासिन छन् । सामान्य मर्मतसम्भारका काम पनि आयोजनालाई देखाएर पन्छिने प्रवृत्ति छ । लोकमार्ग आयोजना कार्यालय पर्वतका इन्जिनियर ठाकुर भण्डारीले ठेक्का सम्झौता भइसकेकाले आउँदो असोजदेखि मर्मतसुधार थालिने बताए ।

‘खाल्डाखुल्डी पुर्ने, ग्याबिन, मेसिनरी पर्खाल र नालीको काम हुन्छ’, उनले भने । ‘बर्सात सकिएपछि निर्माण कम्पनीस्थलमा खटिन्छ, अहिले सामान्य ममर्त र सफाइको काम आयोजना कार्यालयबाटै भइरहेको छ ।’ सडक पुनःनिर्माण नै गर्ने भनेर केन्द्रमा पठाइएको रु ४० करोडको लागत योजना सदर नभएपछि रु २० करोडमा मर्मत सुधारका लागि ठेक्का भएको उनको भनाइ छ ।
‘सडक बिजोग नै छ, पुनःनिर्माण नै गर्नुपर्ने अवस्था देखिन्छ, तर तत्काललाई बृहत् मर्मतसुधारले पनि धेरै सहजता ल्याउँछ’, इन्जिनियर भण्डारीले भने । ‘आउँदो हिउँदमा हर हालतमा काम हुन्छ, ढिलासुस्ती हुन दिँदैनाैँ ।’ त्यस खण्डमा सुरुदेखि नै पहिराले सडक बिगारेको आयोजना कार्यालयले जनाएको छ । कमजोर भू–बनोट, पानीको उचित निकास नहुनुजस्ता कारणले पनि सडक भासिने, पहिरा जानेजस्ता समस्या निम्तने गरेको छ ।

लोकमार्गले जिल्लामा १४२ किमी दूरी समेट्छ । घोडाबाँधे–हटिया खण्ड सबैभन्दा सुरुमा कालोपत्र भएको थियो । सदरमुकामदेखि घोडाबाँधे जोड्ने २५ किमी सडक भने अझै पूरा कालोपत्र हुन सकेको छैन । तल्लो खण्डको उपल्ला चौरदेखि खहरेसम्म पाँच किमी र उपल्लोको बिहुँ खण्डमा छ किमी मात्र कालोपत्र छ । निर्माण कम्पनीको ढिलासुस्ती र मनपरिका कारण ठेक्का लगाएको वर्षौंसम्म पनि सडक कालोपत्र हुन नसकेको हो । लोकमार्गको पश्चिम खण्ड हटियादेखि बुर्तिबाङ हुँदै पूर्वी रुकुमको सीमासम्मै कालोपत्र भइसकेको छ । सदरमुकामतर्फ जोड्ने सडक भने मार्ग खुलेको २५ वर्ष बित्न लाग्दासमेत उस्तै हालमा छ ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया