संगठन बनाउन भेला, प्रशिक्षण

समाधान संवाददाता २०७९ साउन १ गते ११:१८

पोखरा ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) गण्डकी प्रदेश कमिटीले संगठानिक सुदृढीकरण र कार्यकर्तालाई वैचारिक रुपमा प्रशिक्षित गर्न भेला प्रशिक्षण अभियान गर्ने भएको छ । प्रदेश कमिटीको शनिबार बसेको ११ औं पूर्ण बैठकले केन्द्रीय कमिटीको अन्तरपार्टी निर्देशन (अपानी) अनुसार साउन महिनामा भेला तथा प्रशिक्षण अभियान गर्ने निर्णय गरेको कमिटी सचिव धनञ्जय दवाडीले बताए ।

Advertisement

बैठकले साउन महिनाभरी जिल्ला तथा पालिका स्तरमा भेला, प्रशिक्षण गर्ने निर्णय गरेको छ । साउन ८ गते गण्डकी प्रदेश स्तरीय कार्यकर्ता भेला, साउन १७ गते जनवर्गीय संगठनका भेला, साउन २८ गते जनप्रतिनिधिको प्रशिक्षण हुने भएको छ । पार्टीका गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको अध्यक्षतामा भएको बैठकले साउन १० गते सबै जिल्ला कमिटीको बैठक गर्न निर्देशन गरेको छ ।

पार्टीले साउनको १२ गते मुस्ताङ, म्याग्दी र बागलुङको प्रशिक्षण भेला गर्ने भएको छ । साउनको १३ गते कास्की, पर्वत र तनहुँ र १४ गते स्याङ्जा, गोरखा र लमजुङको प्रशिक्षण भेला हुनेछ । १५ गते नवलपुर र मनाङको प्रशिक्षण भेलाको आयोजना गर्ने र सबै जिल्लामा प्रदेश कार्यालयले प्रशिक्षकको व्यवस्था गर्ने भएको छ । प्रदेश कमिटीले संगठन विभागसँगको समन्वयमा प्रदेशमा संगठनसम्बन्धी समस्या र समाधानका लागि साउनको दोस्रो साता कार्यशाला गोष्ठी आयोजना गर्ने निर्णय गरेको छ । बैठकले सबै जिल्लालाई साउनको १६ देखि २५ गतेसम्म पालिका स्तरीय प्रशिक्षण गरिसक्न निर्देश गरेको छ ।

स्थानीय तहको निर्वाचनको समीक्षासहित भावी योजना तय भएको छ । बैठकले पार्टी सदस्यता नवीकरण र अभिलेखिकरण ०७९ साउन मसान्तसम्म गरी पठाउन मातहतका जिल्ला कमिटीलाई निर्देशन दिएको छ । पार्टीका नयाँ सदस्यको व्यवस्थापन सम्बन्धमा (पार्टी प्रवेश) गरेका सदस्यको जिम्मेवारीका लागि प्रदेश कार्यालयलाई जिम्मेवारी गर्ने निर्णय गरेको छ । बैठकमा प्रदेश कमिटीको तर्फबाट अध्यक्ष शर्माले प्रस्तुत गरेको लिखित प्रतिवेदन जिल्ला कमिटी अध्यक्षहरुको टिप्पणी र सुझावसहित पारित गरेको छ ।

पार्टीका महासचिव शंकर पोखरेलले स्थानीय तहको निर्वाचनमा कमी, कमजोरी भएको भए सुधार गर्दै जानुपर्नेमा जोड दिए । निर्वाचनमा पार्टीले पाएको मत संरक्षण गर्दै आन्तरिक एकतालाई सुदृढ गर्नुपर्ने खाँचो उनले औंल्याए । ‘स्थानीय तहको निर्वाचन २०७४ को निर्वाचनमा पार्टीले ३३ प्रतिशत मत पाएकोमा अहिले झन सबै पार्टीको गठबन्धन हुँदा बढेर ३४ प्रतिशत पुगेको छ,’ महासचिव पोखरेलले भने, ‘नेपाली कांग्रेससँगको एकल प्रतिस्पर्धा भन्दा आंशिक र पूर्ण रुपमा गठबन्धन भएका स्थानमा धेरै प्रतिशत मत आउनु सकारात्मक हो ।’

Advertisement

महासचिव पोखरेलले नेपाली कांग्रेससँग एकल प्रतिस्पर्धा गरेका स्थानमा पार्टीले २५ प्रतिशत मत पाएको बताए । विपक्षी पार्टीको आंशिक गठबन्धन भएका स्थानमा ३१ प्रतिशत र सबै पार्टीको पूर्ण गठबन्धन भएका ठाउँमा पार्टीका नेता तथा कार्यकर्ताको बढी सक्रियता रहेका कारण ४० प्रतिशत मत आएको जानकारी दिए । पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव पद्माकुमारी अर्यालको उपस्थिति रहेको बैठकमा प्रदेश कमिटी उपाध्यक्ष मोहन रेग्मीले पनि बोलेका थिए ।

तपाईको प्रतिक्रिया