सम्पादकीय: सिमसार जोगाऊँ

समाधान संवाददाता २०७९ साउन १ गते ११:५७

पृथ्वी विविधतायुक्त छ । कतै पानी नै पानी छ । कतै हिऊँको थुप्रो छ । कतै मरुभूमि । त्यस्तै विविधताको एउटा पाटो सिमसार हो । छिपछिपे पानी भएको ठाउँलाई सिमसार भनिन्छ । नदीखोला किनार र तालतलैयाका वरिपरि सिमसार हुन्छ । सिमसारलाई पृथ्वीको अदभूत स्थल पनि मानिन्छ । हेर्दा पानीको ढाड यस्तो ठाउँमा धेरै जीवजस्तुको आहार हुन्छ, बासस्थान हुन्छ । अझ तालका लागि त यो मिर्गाैला नै मानिन्छ । जसरी मिर्गाैलाले मानिसको शरीका विकार छान्छ । शरीर स्वस्थ राख्छ । सिमसारले त्यस्तै काम तालका लागि गर्छ ।

Advertisement

पानीको स्रोत पनि बन्छ । सिमसार नभए तालहरुको अस्तित्व रहन्न । पोखराका फेवा लगायतका तालहरुका सिमसार भने क्रमशः अतिक्रमणमा पर्दै गएका छन् । जसले भोलिका दिनमा तालको अस्तित्व संकटमा पर्ने निश्चित छ । सिमसारमा अचेल धमाधम गे्रगर हालेर घडेरी बनाइँदैछ । वास्तवमा मानिसले ठानेको छ, सिमसार पुरें, भोलि यस्तो प्रलय आउन सक्छ जसले उसैलाई पुर्छ । तसर्थ सिमसार पुर्नु घुँडामा बञ्चरो हान्नुजस्तै मूर्खतापूर्ण कर्म हो । जानाजान यस्तो मूर्खता पोखराका तालका सिमसारहरुमा भइरहेको देखिन्छ । अरु सिमसारहरुको हालत पनि घडेरीमा रुपान्तरण हुनु नै भइरहेको छ ।

त्यसैले त बर्खामा पानी जमेर घरघरै पसेको छ । अहिले त घरका कोठामा मात्रै भलबाढी पसेको छ, सिमसार कत्ति नराखी पुरियो भने एक दिन सबै घर भत्काउने गरी पानीले वितण्डा मच्चाउन सक्छ । त्यति बेला त्यहाँ बस्नेहरुले पानी पनि भन्न नपाउने अवस्था आउन सक्छ । सिमसार पुर्ने मूर्खता एउटा । त्यहाँ घडेरी किन्ने र घर बनाउने कमजोरी अर्काे र त्यस्तो अतिक्रमण टुलुटुलु हेर्ने नियमनकारी संस्था पोखरा महानगर अर्काे । मुख्य दोष महानगरको छ । सिमसारमा घर बनाउनै दिनुहुन्न । त्यो अधिकार महानगरपालिकालाई छ । सिमसार पुर्नेलाई कानुनको कठघरामा उभ्याएर कारबाही गर्ने काम पनि उसैले गर्नुपर्छ ।

तर महानगरको ध्यान त्यता गएको छैन । विकास भनेको प्रकृतिलाई जोगाउनु पनि हो भन्ने सामान्य अक्कल पनि नहुनु निकै बिडम्वना हो । प्रकृतिसँग जोरी खोजेर विकास सम्भव छैन । प्रकृति मासेर विकास भन्ने नाममा कंक्रिटको जंगल तयार गर्नु हुँदैन । तर पोखराका सिमसार धमाधम पुरिएको पुरियै छन् । धमाधम घर बनेका बन्यै छन् । महानगर मूकदर्शक बनेको छ । पोखराको फेवाताल रामसार सूचीमा परेको सम्पदा हो । सिमसार पुरिँदै जाँदा अचेल फेवातालमा पहिलापहिला देखिने गरेर पन्छी हराएका छन् । आज सिमसार पुरेर पोखरालाई बर्बाद पारिँदा भोलिको पुस्ताले पक्कै श्राप दिनेछ । बेलैमा सोचौं ।

Advertisement

तपाईको प्रतिक्रिया