कम्युनिस्टः जनताको शक्ति

२०६२/६३ जनआन्दोलन भइरहेको बेला म सानो थिएँ तर जानिनजानी म त्यो आन्दोलनमा सहभागी भएको थिएँ । त्यो मेरो अन्जानैमै अभिव्यक्ति स्वतन्त्रताप्रतिको लगाव थियो । यसरी परिवर्तनको निम्ति दिलोज्यान दिने सहिदप्रति सम्मान छ ।
कुरा यसरी सुरु गरौं । जति बेला म स्कुले जीवनमा थिएँ, त्यस बखत हाम्रो विद्यालय भर्खरमात्र उच्च माध्यमिक बनेको थियो, म कक्षा ११ पढ्दै थिएँ । त्यति बेला विद्यालय व्यवस्थापन समितिले ढिलो गरी भर्ना गर्ने विद्यार्थीका लागि चक्रिय रुपमा विलम्ब शुल्क लिने निर्णय कार्यान्वयन गरेको थियो । त्यो निर्णयका कारण भर्ना गर्न ढिलो भएका विद्यार्थीले भर्ना शुल्कभन्दा बढी रकम विलम्ब शुल्क बुझाएरमात्र भर्ना हुन पाउने भए ।
परीक्षा आउनै लागेको थियो । धेरै साथीहरु किसानका छोराछोरी, हामी निम्न आय स्तर भएकै थियौं । साथीहरू पैसाकै कारण कठिनाइमा पर्नु भएको थियो । मेरो भने भर्ना पहिले नै भएका कारण त्यो तनाव भने थिएन तर साथीहरूको त्यो कठिनाइ म महसुस गर्न सक्थें । मलाई नबोली मन शान्तै बस्न सुख नै भएन । म तत्कालीन समयमा अनेरास्ववियु क्षेत्रीय कमिटी सचिवका रुपमा कार्यरत थिएँ । हामीले त्यो निर्णय विरुद्ध आवाज उठायौं । त्यो विषयले आन्दोलनकै रुप लियो । हामीले जिद्दी गरेर नै त्यो निर्णय कार्यान्वयन नहुने कुरामा सहमति गराई छाड्यौं । हामीले जित्यौं, हामीले उठाएको आवाजले सार्थकता पायो । त्यो दिन मलाई लाग्यो कि हामीसँग अरु केही नभए पनि आवाज छ । हामी आवाज दिन सक्छौं ।
बोल्नेलाई बोल्न देऊ, त्यो स्वतन्त्रता हो, त्यो नै कम्युनिस्ट शक्ति हो ।
तसर्थ पार्टीले अभिव्यक्ति स्वतन्त्रता वा प्रेसको संक्षेपका बारेमा कुनै पनि कानुन बनाउदैन भने यसको अर्थ हुन आउँछ कि देशमा लोकतन्त्र छ । सामान्यतया भन्नुपर्दा, यसको अर्थ यो हो कि सरकारले असाधारण परिस्थितिमा बाहेक उनीहरूले के बोल्ने वा लेखेका आधारमा व्यक्ति वा संस्थाहरूलाई जेल, जरिवाना लगाउन सक्दैन । यसरी हामी हाम्रो राजनीतिमा यो पूर्णतः प्रयोग हुन आवश्यक छ । हामी जब सत्तामा पुग्छौं, तब शक्तिको बलले हामी अन्धा हुन पुग्छौं । अभिव्यक्ति स्वतन्त्रता हामी सुन्न पनि सक्दैनौं, आलोचनालाई हामी निस्तेज पार्न खोज्छौं । यसरी हामी स्वयंमै एक तानाशाह जन्मिएको हुन्छ, जुन कम्युनिस्ट मेनोफेस्टो विपरीत छ । बोल्नेलाई बोल्न देऊ, त्यो स्वतन्त्रता हो, त्यो नै कम्युनिस्ट शक्ति हो ।
यद्यपि हाम्रो पार्टी एमालेभित्र पनि कहिलेकाँही मेनेफेस्टो विरुद्ध नै क्रियाकलाप हुन्छन् । त्यस्ता क्रियाकलाप विरुद्ध जागरुक कार्यकर्ता सचेत हुनुपर्छ । गरिबको पार्टी एक दिन सत्तामा पुगेर ती गरिबीको रेखामुनि रहेका नेपालीका निम्ति केही गर्न सक्छ भन्ने मेरो सुरुवात समयमा अनुभव थियो । त्यो नै मेरो मगजमा कम्युनिस्ट शक्तिशाली हुन्छन् भन्ने कुराको बोध थियो । कम्युनिस्ट मेनोफेस्टोमा उल्लेख गरेको जस्तो नेपालका सबै पार्टी र शक्तिहरुले यो स्वीकार गरेका छन् कि कम्युनिस्टहरु स्वयं एक शक्ति हुन् ।
समय अनुकूल विचारलाई परिवर्तन गरेर मदन भण्डारीले जनताको बहुदलीय जनवाद जसरी सृजना गर्नुभयो, यो शक्ति सुनमा सुगन्ध जस्तै बन्यो । जसले हामीलाई संसदीय व्यवस्थाबाट नै जनवादी सत्ता स्थापनाको माध्यम बनाउने बाटो खुला गरिदिएको छ । विकास र समृद्धिसँगै जनताका आधारभूत आवश्यकता पूरा गर्न जनपक्षीय काम गर्ने व्यवस्था गरेको छ । दोस्रो कुरा यो समय विचार प्रकट गर्नेहरुको हो । कुनै पनि स्थानमा वा समयमा विचार दबाइएको वा दबिएको हुन सक्छ । एक महान् उद्देश्यका साथ तानाशाहहरु क्रमशः राणा विरुद्ध, राजाका विरुद्ध हामीले बोलिरह्यौं र आज स्वतन्त्रताको दिन हामीले पायौं । त्यससँगै फेरि पनि प्रत्येक दिन एक महान् उद्देश्यका साथ हाम्रो आफ्नै प्रवृति स्पष्ट हुन अति आवश्यक छ । माओवादी जनयुद्धको समाचार र स्थानीय सरकारको प्रवृति–बिरुद्ध आम–मानिसमा चेतनाको विकास हुँदै थियो । तत्कालीन समयमा जनताको विचार, भावनालाई एक गर्ने काम सबै राजनीति दलले गरे ।
यसरी हामीले जहाँ पनि आवाज बुलन्द गर्न सक्नुपर्छ भन्ने जनाउँछ । अदालतले प्रेसलाई फराकिलो रूपमा बोल्ने, लेख्ने र छाप्नेमात्र नभई प्रसारण, इन्टरनेट प्रयोग गर्ने र अभिव्यक्तिका अन्य रूप पनि कभर गर्ने भनेर व्याख्या गरेको छ। वाक स्वतन्त्रता पनि प्रतीकात्मक अभिव्यक्तिमा लागू हुन्छ, जस्तै झण्डाहरू प्रदर्शन गर्ने, पुत्ला जलाउने, हातमा कालोपट्टी बाँध्ने, मसाल जुलुस निकाल्ने । प्रायः हामीले आन्दोलनमा सबै रुप देखिरहेका नै छौं । पार्टीको निर्देशनमा साँझमा एक्कासि मसाल देख्दा डर र उत्साह दुबै देख्न सकिन्थ्यो । हामीले पुलिस, प्रशासन, सरकार बिरुद्ध बोल्यौ है भन्ने लाग्थ्यो । क्रमशः त्यो आगो देशभरी फैलिन्थ्यो र परिवर्तन हुन्थ्यो । त्यो निस्वार्थ विचारको भावना हुन्थ्यो । त्यसैले हामीले अभिव्यक्ति चाहे सडकमा होस् या त सदनमा बुलन्द गरिरहनु पर्छ ।
जनताले सरकारमा विश्वास गरेका हुन्छन् । तर सरकार भने स्वविचार लिएर जनताको भावना विपरीत काम गर्छ भने कम्युनिस्ट कार्यकर्ताले संगठित रुपमा विरोध गर्नु पर्छ । कार्ल माक्र्स भन्नुहुन्छ कि आवश्यकता नदेखिने हुन्छ, जबसम्म यो सचेत हुँदैन । त्यसैले स्वतन्त्रता आवश्यकताको चेतना हो । यो नै कम्युनिस्टहरुको शक्ति हो, हामी अरु केही नसके पनि आवाज दिन सक्छौं ।
तपाईको प्रतिक्रिया