श्रीमद् बितकको प्रचारमा मोटरसाइलक र्याली

पोखरा ।
पोखरामा हुन लागेको श्रीमद् बितक चर्चा शब्द दर्शन तथा श्रीकृष्ण कथा कार्यक्रमको प्रचारप्रसार गर्दै शनिबार मोटरसाइकल र्याली निकालिएको छ । पोखरा ८ रत्नचोकस्थित श्री कृष्ण प्रणामी मन्दिरको आयोजनामा कार्यक्रम हुन लागेको हो । मन्दिर प्राङ्गणबाट सुरु भएको मोटरसाइकल र्यालीले एयरपोर्ट, मुस्ताङचोक, राष्ट्र बैंक चोक, रत्न चोक, सृजना चोक, पृथ्वी चोक, नागढुङ्गा लगायतका क्षेत्र परिक्रमा गरेको थियो ।
कथा कार्यक्रम साउन २ देखि भदौ ३ गतेसम्म चल्ने मन्दिरका अध्यक्ष पुरुषोत्तम रेग्मीले जानकारी दिउ । भदौ ३ गते श्रीकृष्ण जन्माष्टमी प्राकट्य महोत्सव पनि गरिनेछ । कार्यक्रममा गुरुजी बाणी तथा बितक कथाकार युवा धर्म प्रचारक श्यामदास महाराजले संगीतमय कथा प्रवचन गर्ने छन् । कार्यक्रम हरेक दिन बिहान ११ देखि दिउँसो २ बजेसम्म चल्नेछ । दैनिक करिब ३ सय सुन्दरसाथजी भक्तजनको सहभागिता रहने अनुमान गरिएको छ ।
कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । मन्दिर स्थापना काल २०४८ सालदेखि नै बर्सेनि कार्यक्रम गर्ने गरिएको छ । यस पटक समेत गरी ३१ औ पटक कार्यक्रम गरिँदैछ । कार्यक्रम सम्पन्न गर्नका लागि ७ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
भक्तजनबाट प्राप्त दान, भेटीबाट कार्यक्रमको खर्च व्यवस्थापन गरिनेछ । बचत भएको रकम मन्दिरको भौतिक पूर्वाधार निर्माणका लागि खर्च गर्ने योजना छ । कार्यक्रम उद्घाटनअघि साउन २ गते कलश यात्रा गरिनेछ । साउन २७ गते रक्षबन्धनका दिन विशेष कार्यक्रम गरिने आयोजकले जनाएको छ ।
तपाईको प्रतिक्रिया