काहुँ धर्मकाया मण्डलालाई ७० लाख
गण्डकी ।
पोखराको उत्तरपूर्वी भेगमा अवस्थित रमणीय काँहुडाँडामा निर्माण गर्न लागिएको धर्मकाया बुद्ध मण्डलालाई गण्डकी प्रदेश सरकारले प्राथमिकतामा राखेको छ । धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिको सक्रियतामा पोखरा महानगरपालिका ११ मा १ सय ७८ रोपनीमा बुद्धमूर्तिसहितका संरचना निर्माण गर्न लागिएका छन् ।
विशाल बुद्धको मूर्तिसहित ठूलो संख्यामा साधकले एकसाथ ध्यान गर्ने मिल्ने ध्यानस्थलका रूपमा यसको विकास गर्न लागिएको छ । समितिका उपाध्यक्ष राजबहादुर गुरुङ बुद्ध मण्डला निर्माण गर्न देश विदेशमा रहेका विभिन्न व्यक्तिको दान तथा खरिदबाट ८ रोपनी जग्गा प्राप्त भएको बताउँछन् । अन्य जग्गा धारापानी सामूदायिक वन उपभोक्ता समितिले उपलब्ध गराएको हो । सबै जग्गाको उपयोग हुने गरी ध्यानस्थल, स्तूपा, पुस्तकालय, पर्यटन केन्द्रलगायत संरचना निर्माण गरिने भएको छ ।
गुरुयोजना तथा विस्तृत आयोजना प्रतिवेदन बनाउने तयारी छ । मण्डला निर्माण कार्य प्रदेश सरकारको प्राथमिकतामा राहेको प्रदेश कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापा बताउँछन् । मण्डला स्थापनापछि उक्त क्षेत्रको पर्यटकीय र रोजगारीमा टेवा पुग्नेछ । प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० मा यसका लागि ७० लाख विनियोजन गरेको छ । ‘प्राविधिक समस्या समाधान गरी निर्माणको काम अघि बढाउनु पर्छ’, थापाले भने । स्थानीय, प्रदेश र संघीय सरकारको समन्वयमा संरचना निर्माण गरिनेछ । यो क्षेत्र पर्यटकीय गन्तव्य बन्ने समितिका कार्यवाहक अध्यक्ष भरतराज शाक्य बताउँछन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गत वर्ष नेपाल भ्रमणका क्रममा संसद्मा सम्बोधनपछि पोखरालाई बुद्ध सर्किटसँग जोड्न तत्कालीन क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाको संयोजनमा बैठक बसी सुरुमा सिद्धार्थ यशोधराको मूर्तिसहितको उद्यान निर्माण गर्न समिति गठन गरिएको थियो । पहिला बुद्ध मण्डला निर्माण गर्ने योजना समितिको छ ।
मण्डला निर्माण गर्न सिंगापुरका नागरिक क्याथरिङ तानले डिजाइन गरिरहेको शाक्यले जानकारी दिए । पोखरा सहर, फेवाताल र हिमाल एकसाथ अवलोकन गर्न मिल्ने मण्डला निर्माण गर्न लागिएको छ । सराङकोट र विश्वशान्ति स्तूपमा पर्यटकीय चहलपहल बढेको छ । यहाँ २०२६ सालमा धरहरा निर्माण गरिएको थियो । यहाँबाट अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरिलगायत हिमशृङ्खलाका साथै सूर्योेदय र सूर्यास्तको मनमोहक दृश्य हेर्न सकिन्छ । उक्त क्षेत्रमा पोखराको चापापानीबाट ७ किलोमिटर लामो सडक यात्रामार्फत पुग्न सकिन्छ । काहुँकोटमा बाइसे चौबिसे राज्यकालमा घले राजाको राज्य थियो । यहाँ देउराली मन्दिरसमेत छ ।
तपाईको प्रतिक्रिया