‘फेवाको सिल्ट्रेसन ड्याममा त्रुटि’
पोखरा ।
महालेखा परीक्षकको २०७९ को प्रतिवेदनले पनि फेवा मुहान बनाइएका सिल्ट्रेसन ड्याम कमसल भएको ठहर गरेको छ । महालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदनले फेवा मुहानमा बनाइएका ड्याम प्राकृतिक विपत्तिका कारणले नभई कमसल निर्माणले भत्किएको निष्कर्ष निकालेको हो ।
मुहानमा बर्सेनि बगेर आउने गेग्रान छेक्न पोखरा महानगरले सिल्ट्रेसन ड्यामको निर्माण गरेको थियो । त्यसरी थुप्रिने गेग्रानले फेवातालको आकार साँघुरिएपछि तालको संरक्षणका लागि पोखरा महानगरपालिकाले २८ करोड रुपैयाँ खर्चेर ड्याम बनाएको हो । तर, फेवाताल बचाउन बनाइएको ड्याम नै कमसल भएपछि हर्पन खोलामा बनेको ड्याम भत्केर निर्माण सकिएको वर्ष दिन पनि नबित्दै खण्डहर बनेको छ ।
हर्पन, लौरुक, बेत्यानी र लौरुक खोलामा बनेका ड्याममध्ये हर्पनको ड्याम वर्ष दिन नपुग्दै भत्किएको हो । ड्याम निर्माण गरेर तालमा सोझै मिसिने ढुंगा, गिटी छेकेपछि तालको संरक्षण पनि हुने, ड्याममा थुप्रिने ढुंगा, गिटी बेचेर महानगरलाई आम्दानी पनि हुने उद्देश्य राखेर ड्याम बनाएको थियो । फेवा सिल्ट्रेसन प्रालि नामक कम्पनीलाई २४ वर्षका लागि उक्त ड्याम ठेक्कामा दिइएको छ । कमसल निर्माण भएको भन्दै सुरुवातदेखि नै विवादित ड्यामलाई पुनःनिर्माणका लागि ५४ करोड रुपैयाँको स्टिमेट निकालेर कम्पनीले महानगरमा बुझाएको छ ।
महालेखाको प्रतिवेदनले ड्याम निर्माण गर्दा गुणस्तरमा ध्यान नदिएको उल्लेख गरेको छ । २८ करोड १९ लाख ८६ हजार रुपैयाँ लागतमा बनेको ड्याम कुनै उपयोग बिना फेरि सुरुवातबाटै निर्माण गर्नुपर्ने अवस्था छ । विवादित ड्याम अध्ययनका लागि गण्डकी प्रदेश सरकारले पनि अध्ययन समिति बनाएको थियो। ‘फेवा सिल्ट्रेसन ड्याम समस्या र न्यूनीकरण’ नामको उक्त प्रतिवेदनले निर्माणमै गम्भीर त्रुटि भएको औंल्याएको थियो ।
महालेखाको २०७९ को प्रतिवेदनले पनि ड्याम निर्माणका क्रममा गुणस्तरीय काम गर्नुपर्नेमा महानगरले ध्यान नदिएको देखाएको छ ।
तपाईको प्रतिक्रिया