आन्तरिक एकता गर्नुस्, चुनाव जितिन्छः पोखरेल

पोखरा ।
आगामी मंसिर ४ गते कास्कीका नेकपा (एमाले)का नेता तथा कार्यकर्तालाई सबैको प्रशंसामात्र गर्न निर्देशन दिइएको छ । विगतको चुनावी धङधङीबाट बाहिर आउन र आम निर्वाचनसम्म नकारात्मक कुरा नगर्न पार्टी महासचिव शंकर पोखरेलले निर्देशन दिए ।
स्थानीय तहको चुनावमा पोखरा महानगर र देशका विभिन्न पालिकामा एमाले पराजय व्यहोर्नु परेको परिप्रेक्ष्यमा त्यस्तो निर्देशन दिइएको हो । एमाले कास्कीले आइतबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा महासचिव पोखरेलले कार्यतालिका बनाएर विगतको हारलाई जितमा बदल्ने गरी काम गर्न निर्देशन दिए । ‘मंसिर ४ गतेसम्म सबैले सबैको प्रशंसामात्र गर्नुस् । नेता, कार्यकर्ताले नकारात्मक कुरा नगर्नुस्,’ नेता पोखरेलले भने, ‘सबै नेता तथा कार्यकर्ताले यति योगदान पार्टीको लागि गर्नुस् ।’
आन्तरिक एकता कायम गरी जनतामा गए ३ देखि ४ प्रतिशत मत बढ्छ । पहिलाको हारलाई जितमा बदल्न सकिन्छ ।
शंकर पोखरेल
महासचिव, एमाले
नेता पोखरेलले पोखरा पार्टीले जित्ने र जित्नै पर्ने ठाउँ भए पनि सोंचेभन्दा फरक परिणाम आएको प्रतिक्रिया दिए । उनले जित्ने ठाउँ पार्टीभित्रको झगडाका कारणले गुमेको उल्लेख गरे । आशंकाले तथ्यलाई लुकाउने र सत्यलाई खोज्न असर पर्ने उल्लेख गर्दै नेता पोखरेलले आरोप प्रत्यारोपमा पुगेका नेता तथा कार्यकर्तालाई इमान्दार साबित गर्न सुझाव दिए । महासचिव पोखरेलले सबै नेताले कार्यतालिका बनाई एकै ठाउँमा बसेर शंका उपशंकालाई मेट्न सुझाए ।
‘जिल्लाका सबै ठूला नेता हामी मिल्यौं भन्नुस, सबै समस्या समाधान हुन्छ,’ महासचिव पोखरेलले भने, ‘आन्तरिक एकता कायम ग¥यौं भनेर जनतामा गए ३ देखि ४ प्रतिशत मत बढ्छ । त्यति मत बढे, पहिलाको हारलाई जितमा बदल्न सकिन्छ ।’ कास्कीका नेतामा मात्र होइन, कार्यकर्तामा समेत विभाजनको रेखा कोरिएको दाबी गर्दै उनले चुनावी समीक्षाको जिम्मा नेतालाई दिएर पार्टीको काम र संगठनलाई व्यवस्थित बनाउन सुझाव दिए ।
उनले वैचारिक पक्षलाई सुदृढ बनाउँदै एउटै आवाज र लयमा पार्टीलाई ढाल्न अनुरोध गरे । कास्कीको जित र हार कास्कीमा मात्र सिमित नहुने चर्चा गर्दै उनले कास्कीका नेता तथा कार्यकर्ताको सक्रियता तथा निस्क्रियताले गण्डकी प्रदेशको सबै जिल्लामा असर पर्ने भएकाले आम निर्वाचनको सन्दर्भमा सचेत र जिम्मेवार बन्न सुझाव दिए । पोखरेलले जनताको मनोविज्ञान बुझेर सत्ताको भण्डाफोर गरेर मत बढाउने रणनीति लागू गर्न निर्देशन दिए ।
उता, प्रेस चौतारी नेपाल गण्डकी प्रदेश कमिटीले आयोजना गरेको पत्रकार भेटघाटमा उनले वर्तमान सरकारले आर्थिक सुशासन खल्बलाएको र हरेक मामिलामा असफल भएको दाबी गरे । राष्ट्र निर्माणका लागि नभएर राजनीतिक शौदाबाजीका लागि सत्ता गठबन्धन भएको उनको टिप्पणी छ । महासचिव पोखरेलले गठबन्धन समृद्धिको आधार बन्न नसक्ने तर्क गरे । फगत स्वार्थ र लेनदेनका लागि सत्ता गठबन्धनले नीतिगत विचलन ल्याएको र वैदेशिक हस्तक्षेप निम्ताएको उनको दाबी छ ।
नीतिगत विचलन र सेटिङका कारण मुलुकले आर्थिक संकट सामना गर्नु परेको तर्क गर्दै उनले एमालेले मात्र अहिलेको संकटको हल गर्न सक्ने जिकिर गरे । एमाले नेतृत्वको सरकारका पालामा सबै सूचक राम्रा भएको जानकारी दिँदै उनले हरेक क्षेत्रमा केही न केही सुधार भएको उल्लेख गरे । एमालेले सरकार चलाएको अवधिमा सोधानन्तर स्थिति मुलुकलाई धान्ने अवस्थामा रहेको दाबी गर्दै उनले अहिलेको स्थिति पौने ३ अर्ब घाटामा रहेको उल्लेख गरे ।
एमालेको पालामा विदेशी मुद्राको सञ्चिति ११ महिनाका लागि भएकोमा अहिले घटेर ६ महिनाको लागि धान्ने अवस्थामा रहेको उनले सुनाए । विकास, निर्माण ठप्प भएको उल्लेख गर्दैै उनले लकडाउनको अवधिमा भन्दा पुँजीगत खर्च बढी हुन नसकेको तर्क गरे । आम चुनावको तयारीका लागि केही नेता दिल्ली जानु लज्जास्पद विषय भएको उल्लेख गर्दै उनले नेपाली जनतालाई फैसला गर्न नदिएर दिल्लीको आशीर्वाद खोज्नेलाई जनताले मत नदिने दाबी गरे । कार्यकर्ता भेलामा कांग्रेस खेतबारीको झार जस्तै टिप्पणी गर्दै नेता पोखरेलले गोडमेल नगरे झार बढे जस्तै एमालले केही नगरेर निस्कृय भए कांग्रेस बलियो बन्ने तर्क गरे ।
स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादीले अरुको सहयोगमा ४ प्रतिशत मत ल्याएको उल्लेख गर्दै उनले बामदेवले ६ प्रतिशत मत ल्याएर पार्टी चलाउन नसकेर बुझाएको जस्तो हालत माधव नेपालको हुने ठोकुवा गरे । ०७४ मा १७ प्रतिशत मत ल्याएको माओवादी कांग्रेसको सहकार्यमा १३ प्रतिशतमा सीमित भएको उल्लेख गर्दै उनले पहिलो संविधान सभाको निर्वाचनमा २२ प्रतिशत मत ल्याएको एमालेले अहिले ३४ प्रतिशत मत ल्याएको जानकारी दिए । उनले बामदेव र माधव नेपाल बाहिरिँदासमेत ६ लाख भोट बढेको उल्लेख गरे । कार्यक्रममा नेकपा (एमाले) जिल्ला कमिटी कास्की अध्यक्ष मनबहादुर गुरुङ, उपाध्यक्ष तेजनारायण अधिकारी र सचिव बैनबहादुर अधिकारी क्षेत्रीले बोलेका थिए ।
तपाईको प्रतिक्रिया