
प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले प्रष्ट भने, ‘सङ्घीयता चाहिँदैन !’ लामै समयदेखि चित्रबहादुर केसी यही अभियानमा छन् । राजावादीहरु यसै भन्छन् तर खड्गप्रसादको किटानीले बिशेष अर्थ राख्छ । इन्जिनियर कँडेल, झापाका एक प्रसाइँ वा हान्दे बाँसकोटा आदि केही मान्छे केपी ओलीको अघोर देवत्वकरण गर्छन्, त्यो उनीहरुको वैयक्तिक स्वार्थको अभिव्यक्ति हुनसक्छ तर समकालीन नेपाली नेतामा ओलीको अग्लाई थोक्कै उच्च नदेख्नु पनि आँखाको धमिलोपनै हो । उनी मात्रै एक्ला बृहस्पति हुन् जसले माओवादीद्वारा मच्चाइएको गृहयुद्धलाई धनयुद्ध भनेर ललकारे ।
हाल अर्जुन ज्ञवालीजस्ता अनुसन्धाताले त्यो सत्यलाई प्रमाणित गरे । गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको त्रिखुट्टीमा अडिएको वर्तमान राजनीतिक व्यवस्थाको एक खुट्टी धर्मराएको छ । दुई खुट्टीले ओदान अडिँदैन । अदालतको काइते फैसलाद्वारा निर्मित गठबन्धन सरकार एमालेभन्दा धेरै पश्चगामी निस्क्यो । महँगी र राष्ट्रघातले गणतन्त्र धरापमा परेको सत्यलाई प्रकरण–प्रकरणमा अध्ययन गर्नु उचित होला ।
गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको त्रिखुट्टीमा अडिएको वर्तमान राजनीतिक व्यवस्थाको एक खुट्टी धर्मराएको छ । दुई खुट्टीले ओदान अडिँदैन
१) लुतो फालिँदै, क्यान्सर पालिँदे
भ्रष्टता र कसिनतन्त्र, काम हुन्छ अति ढिलो
लुते सङ्क्रान्तिले फालोस्, देशमा छ हिलैहिलो
कवि छविलाल आचार्यले भनेजस्तै ०७९ को लुते सङ्क्रान्ति पनि मनाइयो । लगभग रोपाइँ सकेर एकछाक गतिलो खाइने चाड यो सङ्क्रान्ति हो । लुतोभन्दा खतरनाक क्यान्सरले यतिखेर नेपाल आमा प्रताडित छन् । भन्न त सबै भन्छन्, मुलुक तिव्र गतिले श्रीलंकाको बाटोमा बढ्दैछ तर मैले गरेर केही हुँदैनको मनोविज्ञान व्यापक छ । बूढो पोख्रेल वा ठिटो न्यौपाने जस्ता नेता फ्यास्स–फ्यास्स बोल्छन् तर त्यो पानीको फोकाभन्दा बढी महत्वको हुँदैन । ती जोकर वा सत्ताका नोकरभन्दा माथि उठदैनन् । यिनका आवाजले प्रेमचन्दको ‘कात्रो’ कथा सम्झाउँछ । यस्तो व्यवस्थाले मान्छेलाई कतिसम्म निकम्मा बनाउँछ, कात्रोमा त्यो देखाइएको छ :
बाबुछोरा उसिनेको आलु खान अगेनाको छेउमा बसेका हुन्छन् । अर्को कोठामा बुहारी सुत्केरी बेथाले च्यापिन्छे । रुन्छे, कराउँछे, चिच्याउँछे । बाबु चाहिँ भन्छ, जा नै मूर्दार एस्सो हेर्, म जानु मिल्दैन । छोरो बाबुले आलु भ्याइदेला भन्ठानेर तिमी जाऊ न, म त के जान्दछु र भन्छ । दुवै उठ्दैनन् । उसिनेको तातो आलु हतार–हतार खान्छन् । उता बुहारी बित्छे । कात्रो किन्ने पैसा उठाउन बाबुछोरा बिलाप गर्दै हिँड्छन् । जम्मा भएको पैसाले टन्न रक्सी धोक्छन् । गाउँलेले लास उठाउँछन् । यस्तै निकम्माका संख्याले नेपालमा लुतो फालिँदै क्यान्सर पालिँदैछ । अंगको सानो भाग काटेर सग्लो ज्यान जोगाइनु विवेक हुनसक्छ ।
२) सानेपामा शेरबहादुर : सरदर ९९ प्रतिशत नेपाली आज उनै बाबुछोराको हालतमा हौँला । सबैमा गैर जिम्मेवारीपना र सबै आलस्यको बिरामी । नरेन्द्र मोदी नेपाल आउँदा नेपाली हालतलाई हाम्रा प्रधानमन्त्रीले दर्शाएका थिए । उच्च ओहोदाकी, ठूलै प्रगतिशील छविकी साहित्यकार आफ्नो बाबुभन्दा बूढो उमेरको वृद्धलाई बलात्कारको बात लगाउन मिडियामा बोल्छे– ‘परार साल उसको घरमा उसले मेरो चुरा खेलायो, हात मुसार्यो र किस खायो !’
स्पर्श सुख यौनावेगको स्खलनभन्दा धेरै मज्जाको हुन्छ । महात्मा गान्धी नाङ्गी नानीहरु च्यापेरै सुत्थे । सहमतिमा बिरोध नगरिए, पछि त्यस्तो घात गरिनु नहुने हो । कानुनले भन्छ, ‘एउटी सबल युवतीलाई एक पुरुषले बलत्कार गर्नै सक्दैन, बाल–वृद्धा वा अपांगता भएकी भए मात्रै बलात्कार मुद्दा लाग्छ !’ सिधासाधालाई बलात्कार गर्न उक्साउने पनि ठालू नै हुन् । स्वघोषित साम्राज्यवाद विरोधीहरु अवैज्ञानिक र अप्राकृतिक यौन सम्बन्ध राख्न सिकाइरहेका हुन्छन् । पापधर्म उनीहरुको शब्दकोशमै हुँदैन । धर्म निरपेक्षताको अर्थ अहिले खुल्दैछ । संसारमा निरपेक्ष चिज, बस्तु वा तत्व केही हुँदैन ।
सबै सापेक्षतामा अडेको हुन्छ । नेपाल जस्तो धार्मिक सहिष्णु मुलुकमा धर्म निरपेक्षता थोपरेर फेरि युद्ध निम्त्याइँदैछ । जापान अधीनको चिनियाँ जनता अफीममा लट्ठिएझैँ नेपालीलाई स्खलनले शिथिल पारिँदैछ । जनार्दन सुवेदी भन्छन्, ‘देशै वेश्यालय भइसक्यो !’ सानेपामा शेरबहादुर देउवाले आफ्नै कार्यकर्ताको चर्को विरोध खेप्नु पर्दैछ । लाग्छ, केही जिउँदा कांग्रेसी बिस्तारै शास फेर्दैछन् ।
३) चिनियाँ नेताको कसरत: चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिऊ जिआन ताओ ०७९ असारको अन्तिम साता नेपाल आए । भनिन्छ, कम्युनिस्ट मिलाउन धेरै पापर बेले । शेरबहादुर देउवाकै चरणको शरणमा रहेका कम्युनिष्टहरुले केपी ओलीसँग मिल्न नसकिने बताएपछि भ्यागुताको धार्नी पुगेन । चिनियाँ नेता चीन फर्किने बित्तिकै प्रचण्ड भारत हानिए । आर्जु र प्रचण्ड दुवैले उतैका प्रभुको आशीर्वाद खोज्दै छन् भन्ने जनसाधारणको अडकललाई मिडिया र विश्लेषकहरुले पुष्टि गरिरहेका छन् । यसैले माओवादी केन्द्र र एमाले पुनर्मिलनको सम्भावना बारे सोँच्दा ‘हिन्दू जातिका उत्थान और पतन’ मा उल्लेखित एउटा रोचक वर्णन स्मरणीय हुन्छ :
‘वर्तमान हिन्दू जाति भानमती का एक पिटारा है जिसमे न मालूम कितने प्रकार के रक्तोँ का सम्मिश्रण हो गया है, यहाँतक कि बडे–बडे राजबँशो तथा ब्राह्मण गोत्र प्रवर्तक महर्षियोँ का रक्त भी अछूत रक्त से अछूत नही रह सका ।’ सिधै कुरा छ, नेकपा हुँदा विशाल एमालेभित्र सानो माओवादी कसरी घोलघाल भए होलान् ? एमालेसँग लपक्कै टाँसिएर गएका बादल गुट फेरि प्रचण्डसँगै फिर्ता आउलान् ?
४) पिटबुल डग, सुशीला र हाम्री आमा: अस्ति असार २८ गते लखनऊमा सुशीलालाई आफैले पालेको कुकुरले टोकीटोकी मारेछ । रक्तमुछेल शरीर मिडियाले देखायो । त्यै पिटबुल डगलेझैँ नेताले हाम्री आमालाई रक्ताम्य पारेर लुछिरहेका छन् । सद्दे छोराछोरी बिदेशमा छन् । धन्न, केही नेता दूरदर्शिता दर्शाइरहेका छन् । मुमाराम भन्छन्, ‘प्रचण्ड र माके सँगै सकिन्छन् !’ कुनै पनि राजनीतिक व्यवस्था निर्विकल्प हुँदैन । लाग्छ, नेताका कामले गणतन्त्रको आयु सकिँदैछ ।

मदन भण्डारी
साहित्यकार भण्डारी राजनीतिक क्षेत्रमा पनि विश्लेषणात्मक कलम चलाउँछन्
तपाईको प्रतिक्रिया