सम्पादकीय: फोहोरमा फोहारी काम नहोस्

व्यवस्थित सहरीकरणको चुनौती फोहोर व्यवस्थापन पनि हो । यो चुनौती अहिले पोखरा महानगरपालिकालाई पनि छ । झन् पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पूरा भई सञ्चालनको तर्खर हुँदा फोहोर थन्क्याउँदै आएको ल्यान्डफिल साइट सार्नुपर्ने छ । तर नयाँ ठाउँको खोजी भएको छैन । पोखरा ३३ भरतपोखरीमा ठाउँ खोजिएको कुरा छ, तर स्थानीय त्यो कुरा सुनेदेखि नै विरोधमा छन् । पोखरा २० मा फोहोर लैजाने कुरा आउँदा पनि विरोधै भएको थियो ।
महानगरपालिकालाई फोहोर व्यवस्थापन ठूलो टाउको दुखाइ भएको छ । अहिले महानगरपालिकामा निजी क्षेत्रलाई फोहोर संकलनको ठेक्का दिइएको छ, निजी क्षेत्रले कुस्त पैसा असुल्छ । महानगरपालिकालाई खास आम्दानी छैन । बरु फोहोर व्यवस्थापनमा करोडौं खर्च भइरहेको छ । यो फोहोरमा भइरहेको फोहोरी राजनीतिका कारण हो । संसारका बडेबडे महानगरपालिकामा पनि फोहोर व्यवस्थापन निकै राम्रोसँग भइरहेको हुन्छ । पोखरा भने थोरै जनसंख्या भएको ठाउँ हो, यहाँको फोहोर त्यति जटिल नहुनुपर्ने हो, जति भइरहेको छ । अब परम्परागत हिसाबले फोहोर व्यवस्थापन गर्नु हुँदैन ।
संसारमा नयाँनयाँ प्रविधि आएका छन् । फोहोरबाटै ग्यास बनाउने उद्योग त पोखराको ३२ नम्बर वडामा खुलिसकेको छ । गण्डकी ऊर्जा प्रालि उद्योगले दैनिक ४५ टन गोबर र कुखुराको सुलीबाट मल र ग्यास उत्पादन गरिरहेको छ । यो उद्योग कुहिने फोहोरलाई मल र ग्यास बनाउन सक्षम पनि छ । महानगरपालिकाले यो उद्योगसँग समन्वय गर्दा कुहिने फोहोरको मल पनि बन्छ र ग्यास पनि । अथवा महानगरपालिकाको फोहोर पैसा तिरेरै किन्छु भन्ने प्रस्ताव आएको सुनिन्छ । तर निजी केही कम्पनीले फोहोर संकलनका नाममा कुस्त कमाइरहेको र त्यसको सेटिङ कर्मचारीहरुसँग भएको भन्ने आरोप लाग्दै आएको छ ।
त्यही आरोपलाई पुष्टि गर्ने गरी नयाँ जनप्रतिनिधि आउनुपूर्वसन्ध्यामा फोहोर व्यवस्थापनको टेन्डर खुलाइएको थियो । अब पोखरा महानगरपालिकाले कुहिने र नकुहिने फोहोर घरघरै वर्गीकरण अनिवार्य गर्नैपर्छ । कुहिने फोहोर तरलगाउने निजी उद्योग खोजी गर्नुपर्छ वा आफै त्यसको मेसो मिलाउनुपर्छ । धरान नगरपालिकाले त फोहोरबाट ग्यास निकालेकै छ । हेटौंडा नगरपालिकाले फोहोर विद्युतीय प्रविधिबाट विसर्जन गर्छ, जसबाट कुनै प्रदूषण बाहिर निस्कन्न । हेटौंडामै फोहोर त्यसरी व्यवस्थापन गर्न सकिने मसिनहरुको उद्योग पनि छ, जसले मसिनहरु जापान निर्यात गर्छ ।
विश्वका थुप्रै सहरले फोहोरबाट बिजुली निकालेका छन् । सुखद कुरा के भने पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य यी सब कुराको जानकार छन् । अब प्रतीक्ष उनको दृढ इच्छाशक्ति र व्यवस्थित योजना तथा कार्यान्वयनको छ । फोहोर व्यवस्थापनमा सघाउनु नागरिकको पनि कर्तव्य हो । निर्णय र कार्यान्वयनको जिम्मेवारीचाहिँ मेयर आचार्य र अरु सबै जनप्रतिनिधिको । यो राजनीतिको फोहोरी खेल झैं विरोधमात्रै गर्ने र असफल बनाउने माध्यम बन्नु हुँदैन ।
तपाईको प्रतिक्रिया