
पोखरा ।
गण्डकी प्रदेश संग्रहालयमा नयाँ भौतिक संरचना धमाधम निर्माण भइरहेका छन् । नयाँ ग्यालरी, पुस्तकालय, कफी सप, कोसेली घर र अटोभिजन डकुमेन्ट्री सहितको पुरातात्विक र कलात्मक भवन बनिरहेका छन् । गण्डकी प्रदेश सरकारले बहुवर्षीय योजना अन्तर्गत ५ वर्षभित्र संरचना पुनर्निर्माण र नयाँ थप्न २१ करोड बजेट दिने भएको छ । संग्रहालयमा अहिले कार्यालय भवन निर्माण अन्तिम चरणमा छ । ग्यालरी, भवन धेरै पुरानो भएकाले पुनर्निर्माण तथा थप गर्ने योजना रहेको संग्रहालय प्रमुख करुणा राईले जानकारी दिइन् ।
परिसरभित्रको खाली जग्गामा भवन बनिरहेको छ । त्यहाँ पुस्तकालय, कफी सप, पोखराको चिनो स्वरुप पर्यटकका लागि काठ, माटो र धागोबाट बनेका स्थानीय उत्पादन कोसेली घर हुने राईले बताइन् । प्रदेशभित्र बसोबास गर्ने जातजातिका धर्म, संस्कृति भाषा जीवनशैली, भौगोलिक, पर्यटकीय गन्तव्यका बारेमा हेरेर आफैंले थाहा पाउन सकियोस् भनेर अटोभिजन डकुमेन्ट्री सञ्चालन गरिने प्रमुख राईले सुनाइन् ।

कार्यालय प्रयोजनमा प्रयोग भइरहेको कोठालाई प्रदेशबारे सम्पूर्ण जानकारी दिन सूचना कक्ष बनाइने भएको छ । प्रदेश संग्रहालय भए पनि सोचे जति पर्यटक नआएको राईले सुनाइन् । ‘संग्रहालय ओझेल पर्नुमा मुख्य ३ कारण छन् । पहिला प्रवेश गेटसमेत थिएन, गेट बनाएको २ वर्षमात्र भयो, गेट बनाएपछि भने पर्यटक आउन थालेका छन्,’ उनले भनिन्, ‘प्रचारप्रसारको पनि कमी छ । भर्खरैमात्र वेबसाइट बनाएका छौं । अब पर्यटकको चहलपहल बढ्छ कि ?’
२०४१ मा स्थापना भएको संग्रहालय पहिला संघ सरकारमातहत थियो । ०७२ सालदेखि गण्डकी प्रदेश मातहतमा आएको हो । संग्रहालयमा गण्डकी र आसपासमा बसोबास गर्ने गुरुङ, थारु, छन्त्याल, मगर, दुरा, थकाली जातिका भेषभुषा, गरगहना, परम्परागत बाजागाजा, हातहतियार र नापतौल सामग्री संग्रहित छन् । मुस्ताङमा उत्खननबाट प्राप्त पुरातात्विक सामग्री पनि संग्रहालयमा छन् । यहाँ १६ औं शताब्दीदेखिका पुरातात्विक बहुमूल्य विभिन्न धातु, हातहतियार र मूर्ति देख्न सकिन्छ ।
आर्थिक वर्ष २०७८/७९ मा यो संग्रहालय १५ हजार पर्यटक संग्रहालय पुगेका छन् । संग्रहालयमा अहिले १० जना स्थायी र २ अस्थायी कर्मचारी छन् । मंगलबार र सार्वजनिक बिदाका दिन संग्रहालय बन्द हुन्छ ।





प्रमिला कुँवर
पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् ।









लक्ष्मी ग्रुपको ५२औं स्थापना दिवसमा २१ कर्मचारी सम्मानित
‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया