जोमसोम ।
चीनसँग सीमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका २ नेचुङमा मुस्ताङ भन्सार कार्यालय छ । अहिले भन्सार कार्यालयमा १ कार्यालय सहयोगीमात्र छन् । उनकै जिम्मामा पूरै कार्यालय छ । भन्सार विभागले उपल्लो मुस्ताङको लोमान्थाङ स्थित नेचुङमा भन्सार कार्यालय स्थापना गरेको थियो । यसको सम्पर्क कार्यालय मुस्ताङ सदरमुकाम जोमसोममा छ । मुस्ताङ भन्सार कार्यालय नेचुङमा न त कुनै कर्मचारी हुन्छन्, न जोमसोम राखिएको सम्पर्क कार्यालयमा नै कर्मचारी बस्छन् ।
मुस्ताङ भन्सार कार्यालय विभागको स्वामित्वमा छ भने यसको सम्पर्क कार्यालय जोमसोममा भाडाको घरमा राखिएको छ ।
मुस्ताङ भन्सार कार्यालयमा १ कार्यालय सहयोगीले अफिस कुरेर बसे पनि सम्पर्क कार्यालयमा बाह्रै महिना ताला लाग्छ । मुस्ताङ भन्सार कार्यालयमा दरबन्दी ७ जनाको छ । १ अधिकृत, २ नायब सुब्बा, १ लेखापाल, १ कम्प्युटर अपरेटर र २ कार्यालय सहयोगीको दरबन्दी छ ।
यसअघि १ नायब सुब्बा, १ लेखापाल र १ जना कार्यालय सहयोगीले भन्सार विभागबाट तलब भत्ता लिने गरेका थिए । तर लेखापाल हालै सरुवा भई अन्यत्र गएका छन् भने नायब सुब्बाको पदमा पनि रिक्त छ । मुस्ताङ भन्सारमा अधिकृतसहित अन्य कर्मचारीलाई विभागले भन्सार गतिविधि नहुने हुँदा नखटाएको हो । बर्सेनि लाग्ने व्यापार मेलामा विभागले कर्मचारी काजमा खटाउने गरेको छ । मेला बन्द भएपछि कर्मचारी पुरानै ठाउँमा फर्किन्छन् ।
मुस्ताङ भन्सार कार्यालय बर्सेनि असार र भदौ महिनामा मात्र सक्रिय हुने गरेको छ । अन्य समय भन्सारको गतिविधि हुँदैनन् । तिब्बतको कोरला नाकाको चिनियाँ भूमीमा नेपाल–चिनबीचको अन्तरदेशीय मेला लाग्ने गर्छ । नेपालतर्फ सीमावर्ती क्षेत्रका बासिन्दाले खाद्यान्न, लत्ता कपडा, किराना सामग्री खरिदसहित स्थानीय उत्पादन बिक्री वितरण गर्छन् । मेलामा मुस्ताङ भन्सार कार्यालयले बर्सेनि १५ लाखसम्म राजस्व संकलन गथ्र्याे ।
महामारीपछि चीनले कोरलानाका विगत ३ वर्षदेखि मेला बन्द गरेको लोमान्थाङ गाउँपालिका अध्यक्ष टसी नर्बु गुरुङले बताए । लामो समयदेखि नाका बन्द हुँदा उपल्लो मुस्ताङमा चिनियाँ सामग्रीको अभाव छ । उपल्लो मुस्ताङी तथा स्थानीय जनप्रतिनिधिले अहिले कोरोना कहरको जोखिम कम भएकाले व्यापार मेला सञ्चालन गर्नुपर्नेमा जोड दिएको उनको भनाइ छ ।
मुस्ताङकासांसद प्रेमप्रसाद तुलाचनले समेत यस बिषयमा संघीय सदनमा ध्यानार्कषण गराएका थिए ।
मेलामा नेपालबाट पस्मिना, यार्सागुम्बा, आलु र फापर लगायतका स्थानीय उत्पादन निर्यात हुन्छन् भने चीनबाट निर्माण सामग्री, खाद्यान्न, लत्ताकपडा, किराना सामग्री, कस्मेटिक, भाँडावर्तन, कृषि उपकरण र भेडा-च्यांग्रा आयात गरिन्छ । कोरलानाका बन्द भएसँगै तिब्बतबाट भेडा–च्यांग्रा आयात रोकिँदा नेपालमा भेडा-च्यांग्रा महङ्गिएका छन् ।
मेलामा चिनियाँ पक्षले स्थानीय प्रशासन र स्थानीय तहसँग समन्वय गरी नागरिकताको प्रतिलिपिका आधारमा प्रवेश दिन्थ्यो । चीनले दलाई लामाको लकेट लगाएर जान निषेध गथ्र्यो । भन्सार विभागले मेलाबाट २०७९/०८० मा कम्तीमा ३ लाख ८३ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । मुस्ताङ भन्सार कार्यालयमा विभागले कर्मचारी नखटाउँदा भन्सारको अन्य नियमित कामकाज कोलेनिकालाई विभागले जिम्मा दिएको कोष नियन्त्रक डालेश्वर अर्यालले जानकारी दिए ।
मुस्ताङ भन्सार कार्यालयमा कर्मचारी नभए पनि सीमाक्षेत्रको कोरलापासमा भन्सार, अध्यागमन, सुरक्षा पोस्ट, सुख्खा बन्दरगाह आदि प्रयोजनका लागि भन्सार कार्यालयको नाममा लालपुर्जा प्राप्त भएको कोष नियन्त्रक अर्यालले बताए । हाल लोमान्थाङको नेचुङमा मुस्ताङ भन्सार कार्यालयको नाममा १ सय ७ रोपनी र जोमसोममा ७ रोपनी जग्गा छ । विभागले कोरला नाका खोल्ने दीर्घकालीन लक्ष्य लिएर जोमसोम भएको आफ्नो ७ रोपनी जग्गा संरक्षणका लागि ६० लाख लागतमा कम्पाउन्ड वाल लगाएको छ ।
नेपाल–चीन द्विपक्षीय अन्तरदेशीय व्यापार तथा पारवाहन सम्झौता नभएसम्म मुस्ताङ भन्सार कार्यालय सक्रिय हुने देखिँदैन । भारतीय नाकाबन्दीपछि सरकारले नेपाल–चीन व्यापारिक मार्ग विस्तार गर्ने उद्देश्यले ०७४ देखि झन्डै साँढे ६ अर्ब लागतको बेनी–जोमसोम–कोरला सडक विस्तार गरिरहेको छ । जोमसोम–कोरलाका ७ सडक खण्डमध्ये ६ खण्ड करिडोर सडकलाई हस्तान्तरण भइसकेका छन् भने १ खण्ड अन्तिम चरणमा छ । बेनी–जोमसोम ४ वटा सडक खण्डको काम पनि अन्तिम चरणमा छ ।
सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया