सुकुम्बासीलाई लालपुर्जा, सार्वजनिक जग्गा संरक्षण

समाधान संवाददाता २०७९ साउन ४ गते ११:२३

पोखरा ।
पोखरा महानगरले वास्तविक सुकुम्बासीलाई दिन सघाउने जनाएको छ । भूमि आयोगसँग सहकार्य गरी वास्तविक सुकुम्बासीलाई लालपुर्जा दिन सघाउने तर सार्वजनिक जग्गा अतिक्रमण भने हुन नदिने महानगरले जनाएको छ ।
पोखराका २० हजार भूमिहीनको लगत संकलन गरी काम भइरहेको जनाउँदै महानगरले सकेसम्म छिटो सुकुम्बासी समस्या समाधान गर्न योगदान गर्ने जनाएको छ ।

Advertisement

पोखरा महानगरपालिकाले पोखरा ३३ मा अनाधिकृत रुपमा निर्माण गरिएका छाप्रा भत्काएको छ । महानगरका कानुन महाशाखा प्रमुख नारायणप्रसाद शर्माले विभिन्न जिल्लाबाट आएका मानिसले अबैध रुपमा निर्माण गरेर बसेका छाप्रा सोमबार हटाइएको जानकारी दिए । पोखरा १८, ३३ लगायतका सार्वजनिक स्थानमा रातारात घर टहरा बनाई सार्वजनिक जग्गा कब्जा गरिएकाले अतिक्रमण हटाइएको महानगरले जनाएको छ । पटक पटक अनुरोध गर्दासमेत अटेर गरिएकाले ७ दिनको सूचना दिएर सार्वजनिक जग्गा खाली गराइएको महानगरले जनाएको छ ।

मेयर धनराज आचार्यको निर्देशन र वडाध्यक्ष रामचन्द्र अधिकारीको उपस्थितिमा ती छाप्रा भत्काइएको शर्मा बताए । वडा नम्बर ३३ को दुई पिप्लेमा निर्माण गरिएका २३ र वडा नम्बर ३३ कै पशुपति घाटमा निर्माण गरिएका ३ गरी २६ वटा छाप्रा भत्काइएको हो । पोखरा महानगरको सार्वजनिक जग्गा संरक्षण अभियानको सुरुवात स्वरुप छाप्रा भत्काएको हो । अन्यत्र पनि यस्ता अनधिकृत रुपमा निर्माण गरिएका संरचना क्रमशः भत्काउँदै लागिने उनले बताए । सर्वजनिक जमिन कब्जा गरी विभिन्न स्थानमा आफूखुसी संरचना निर्माण गरिएको पाइए महानगरमा जानकारी गराउनसमेत शर्माले महानगरवासीलाई आग्रह गरेका छन् ।

Advertisement

सार्वजनिक जमिनमा टहरा वा अन्य संरचना निर्माण गरेकाहरुलाई आफैं यस्ता संरचना हटाउन आग्रह गर्दै उनले नभए कानुन बमोजिम क्षतिपूर्ति तिराएर महानगर आफैले संरचना हटाउने बताए । ‘अनधिकृत रुपमा जग्गा कब्जा गरी निर्माण गरिएका २६ छाप्रा भत्काएका छौं । पोखरा महानगरको सार्वजनिक जग्गा संरक्षणको अभियान यहीँबाट सुरु भएको छ । महानगरका अन्यत्र पनि यसरी निर्माण गरिएका संरचना क्रमस हटाइनेछ,’ उनले भने, ‘यसमा मेयर सा’पको खास इनिसियसन छ । यो वा त्यो समूह, संस्था वा व्यक्तिका नाममा सर्वजनिक संरचना निर्माण गर्न महानगरले दिने छैन ।

नगर प्रहरी नायब निरीक्षक पुरुषोतम थापाका अनुसार जिल्ला प्रशासन कार्यालयको सहयोगमा नगर प्रहरी, जिल्ला प्रहरी कार्यालय कास्की, इलाका प्रहरी कार्यालय डाँडाको नाक र सशस्त्र प्रहरीको सहकार्य महानगरले पोखरा ३३ मा सार्वजनिक जग्गा कब्जा गरी अवैध रुपमा निर्माण गरिएका संरचना हटाएको हो ।

तपाईको प्रतिक्रिया