सम्पादकीय: उकालो लाग्दै संक्रमणदर

समाधान संवाददाता २०७९ साउन ४ गते ११:५९

नेपालमा कोभिड १९को संक्रमण दरमा तीव्र रुपमा बढ्दै गएको छ । पछिल्लो एक महिना अघिसम्म औसतमा करिब शुन्य दशमलब ५ प्रतिशतभन्दा कम रहेको नेपालको कोभिड १९ संक्रमण दर हाल करिब ८ प्रतिशत पुगेको छ । जुन जनस्वास्थ्यको हिसाबले एक चिन्ताजनक अवस्था हो । असार १ देखि ३१ गतेसम्मको अवधिमा कोभिडको दैनिक संक्रमण दर झण्डै १० गुणा र सक्रिय संक्रमितको संख्या १३ दशमलब २३ गुणाले बढेको छ । असार १ मा देशभर ९७ जना सक्रिय संक्रमित र दैनिक संक्रमण दर शुन्य दशमलव ६४ प्रतिशत थियो ।

Advertisement

३० दिनपछि असार ३१मा कुल सक्रिय संक्रमितको संख्या १ हजार २ सय ८४ र दैनिक संक्रमण दर ६ दशमलब १५ प्रतिशत पुगेको छ । कोभिडको संक्रमाण दर अझ बढ्ने सम्भावना रहेकाले अस्पतालहरूलाई उच्च सतकर्ता अपनाउन र उपचार व्यवस्थापन जुट्न पर्ने अबस्था आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउन ३ गते मंगलबार मात्र थप ३ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ३ सय २८ जनाको परीक्षण गर्दा त्यतिमा संक्रमण पुष्टि भएको हो । योसँगै पछिल्लो अबधीमा सक्रिय संक्रमितको संख्या १ हजार ९ सय ८२ पुगेको छ । मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २३ हजार १ सय ५० पुगेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीका ३० सहित गण्डकीमा ४० जनामा कोरोना पुष्टि भएको हो । यो पुष्टि भएकासँगै गण्डकीमा कोभिड १९ संक्रमितको संख्या १ लाख २ हजार १ सय ६३ पुगेको छ । करिब ५ हप्ता यता विश्वका धेरै देशमा कोभिड १९ संक्रमणको नयाँ लहर सुरु भएको छ र त्यसको असर दक्षिण एसिया र नेपालमा पनि देखिएको छ । एक डेढ महिना अघिसम्म नेपालमा कोभिड १९ संक्रमण निकै न्यून थियो । त्यतिबेला परीक्षण पनि प्रशस्तै गरिने गरिन्थ्यो । तर संक्रमणको अनुपातमा परीक्षण पनि बढाउँदै लगिनुपर्नेमा हाल परीक्षण निकै न्यून गरिएको छ ।

दैनिक नयाँ कोरोना संक्रमण संख्या असारभन्दा अगाडि औसतमा १० भन्दा कम थियो भने तत्पश्चात् संक्रमण हरेक दिन गुणात्मक वृद्धि हुँदै गई हाल करिब ३ सय ५० पुगेको छ । कोभिड १९को संक्रमण कहाँ कसरी बढ्छ त्यसको कुनै निश्चित हुदैन । त्यसैले विश्वव्यापी रुपमा परेको प्रभाव र विगतमा नेपालले भोग्नु परेको जनधनको क्षतिबाट पाठ सिकी नेपाल सरकार र यसका सम्बन्धित निकायहरूले समयमै कोभिड १९ संक्रमण र महामारी नियन्त्रणमा ध्यान दिनुपर्ने देखिन्छ । हरेक व्यक्तिले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनावश्यक भीडभाड नजानेदेखि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनु जरुरी छ ।

Advertisement

तपाईको प्रतिक्रिया