सामुदायिक सेवा वर्ष पुरस्कार स्थापना

समाधान संवाददाता २०७९ साउन ४ गते १२:४६

पोखरा ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा पृथ्वीचोकले सामाजिक क्षेत्रमा योगदान गरेका व्यक्तिलाई सम्मान गर्न सामुदायिक सेवा वर्ष पुरस्कार स्थापना गरेको छ । संस्थाको वार्षिक साधारण सभाका प्रदान गरिने पुरस्कारको राशि नगद ११ हजार १ सय ११ रुपैयाँ, दोसल्ला र सम्मानपत्र रहेको केन्द्रका सचिव उत्तम जोशीले जानकारी दिए । सो पुरस्कार संस्थाले पहिलोपल्ट प्रदान गर्न लागेको हो ।

Advertisement

प्रतिभा छनोट गर्न सेवा केन्द्रका पूर्वअध्यक्ष तथा प्रमुख सल्लाहकार चिरञ्जीवी श्रेष्ठको संयोजकत्वमा गठित समितिको सदस्यमा प्राडा दिलबहादुर क्षेत्री, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, संस्थामा सचिव जोशी र कोषाध्यक्ष तीर्थ शर्मा ढकाल छन् । सचिव जोशीले सामाजिक, शिक्षा, खेलकुद, पत्रकारिताकाको क्षेत्रमा उत्कृष्ट काम गर्ने व्यक्तिलाई सम्मान गर्न पुरस्कार स्थापना गरिएको बताए ।

लागुऔषध विरुद्ध सचेतना
सामुदायिक सेवा केन्द्र पृथ्वीचोकले लागुऔषधका गलत प्रयोगका बिरुद्ध मंगलबार सचेतनामूलक कार्यक्रम गरेको छ । लागुऔषधको अबैध ओसारपसार तथा गलत रुपमा भएको प्रयोगले समाजमा अपराधिक क्रियाकलाप बढ्दै गएको अवस्थामा त्यसलाई रोक्न पृथ्वीचोकको बसपार्क क्षेत्रमा कार्यक्रम गरेको संस्थाका उपाध्यक्ष कमल श्रेष्ठले जानकारी दिए ।

पोखरा महानगरपालिका वडा नम्बर ९ का अध्यक्ष दीपेन्द्र मर्सानीले पर्चा, पम्लेटसहित भएको कार्यक्रमको उद्घाटन गरे । उनले समाजमा भएको विकृति, विसंगति न्यूनीकरणका लागि संस्थासँग सहकार्य गर्ने बताए । कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष तथा प्रमुख सल्लाहकार चिरञ्जीवी श्रेष्ठ, पूर्व अध्यक्ष तथा सल्लाहकार विष्णुमाया श्रेष्ठ, सचिव उत्तम जोशी, कार्यसमितिका सदस्य तथा कार्यक्रम संयोजक रेविका श्रेष्ठ लगायतले बोलेका थिए ।

कार्यक्रममा स्थानीय आमा समूह, युवा क्लब, महिला समूह, टोल विकास संस्था, प्रहरी प्रशासनका प्रतिनिधिको सहभागिता थियो ।

Advertisement

तपाईको प्रतिक्रिया