
पोखरा ।
पोखरा महानगरपालिका ३२ स्थित मालमूलमा फराकिलो फाँट छ । तर फाँटका खेतका गराहरु बाँझै छन् । किसानले धान रोपेका छैनन् । रोपून् पनि कसरी ? खेत त छ तर पानी नै छैन । गत भदौ ७ गते आएको बाढीले मालमूल फाँटको नहरमा भत्किएको थियो । जसको अहिलेसम्म पुनर्निर्माण हुन सकेको छैन ।
नहर बनाउन स्थानीयले बारम्बार आह्वान गर्दा पनि सरकारी पक्षले बेवास्ता गर्दा नहर बन्न नसकेको स्थानीय टीकाराम पंगेनी बताउँछन् । ‘वडा, महानगरदेखि मन्त्रालयसम्म पुग्यौँ तर कसैबाट सुुनुवाइ भएन,’ उनले भने, ‘बाढीले आएर नहर भत्काउँदा मेयर र सांसदले बनाउने आश्वासन दिएका थिए तर पूरा गर्न सकेनन् ।’ रोपाइँ सुरु हुन लाग्ने समयमा आएर गत जेठमा नहर मर्मत गर्न वडा कार्यालय र पोखरा महानगरपालिकाको पहलमा काम सुरु भयो । स्टिमेटभन्दा आधा कम बजेट पाएका स्थानीयबासी स्थानीय स्रोत, साधन प्रयोग गरी काम गर्ने योजनामा थिए । तर नहर मर्मतको ५० प्रतिशत काम भइसक्दा अख्तियारमा मुद्दा पर्यो ।
कानुन अनुसार असार, साउन र भदौ महिनामा खोला, नदीबाट बालुवा, गिटी झिक्न नपाउने भन्दै उजुरी परेपछि करिब १८ दिनमै काम रोकिएको थियो । पुनः विभिन्न सहमति भएसँगै काम सुरु भयो । अहिले ७५ प्रतिशत काम सकिएको पंगेनीले बताए । ‘अवरोध नआएको र नियमित काम भएको अहिलेसम्म सकिन्थ्यो, तर अहिले तीन चौथाइमात्र काम सकिएको छ,’ उनले भने, ‘निर्माण सम्पन्न हुन अझै १५/१६ दिन लाग्छ ।’ नहर नबन्दा खेतमा सिँचाइ हुन सकेको छैन । जसले गर्दा उक्त स्थानका ४ हजार रोपनी खेतमा सिँचाइ हुन सकेन जसले गर्दा हालसम्म रोपाइँ हुन सकेको छैन । अघिल्लो वर्ष असार महिनामा सकिने रोपाई यस वर्षभने साउन लाग्दासमेत हुन सकेको छैन ।
नहर नबन्दा २ महिनादेखि लगाएको बिउ रोप्न नपाएको पंगेनी बताउँछन् । ‘नहर नबन्दा कृषकले धान रोप्न पाएका छैनन्,’ उनले भने, ‘नहर मर्मत हुन्छ भन्ने विश्वासमा बिउ राखेका कृषकको बिउ मर्न लागिसकेका छन् ।’ मालमूल फाँटमा एक सिजनमा कम्तीमा २० हजार मुरी धान उत्पादन हुँदै आइरहेको छ । उक्त ठाउँमा जेठोबुढो, मन्सुली, पहेंले जस्ता रैथाने प्रजातिका धान उत्पादन हुन्छ । नहर मर्मतका लागि स्टिमेट ४ करोड ६० लाख भए पनि २ करोड ४० लाखमात्र बजेट निकासा भएको छ । अहिले स्रोतले नपुग्ने र अर्काे वर्ष निर्माण गरेर नहुने भएकाले बाँकीका लागि स्थानीय स्रोत, साधन प्रयोग गरिएको स्थानीय बताउँछन् ।

रिखिराम जिसी
जिसी समाधान संवाददाता हुन्








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया