१६ जना कर्मचारीको म्याद नथप्ने माछापुच्छ्रेको निर्णय

पोखरा ।
माछापुच्छ्रे गाउँपालिकाले १६ जना कर्मचारीको म्याद नथप्ने भएको छ । गाउँपालिकाको मंगलबार बसेको गाउँकार्यपालिकाको बैठकले गाउँपालिकामा कार्यरत १६ करार कर्मचारीको म्याद नथप्ने निर्णय गरिएको गाउँपालिकाका सूचना अधिकारी युवराज पौडलले जानकारी दिए । गाउँपालिकाले म्याद सकिएका स्वास्थ्यतर्फका ६ र अन्य १० जना म्याद नथपेको हो ।
गाउँपालिकाले अन्य ४७ जनाको भने म्याद थप गरेको छ । संघको कार्यक्रम र म्याद थप भएका कार्यक्रमका कर्मचारीहरुको म्याद थप गरिएको उनले बताए । गाउँपालिकाले पूर्वाग्रही ढंगले करार कर्मचारीलाई एकलौटी तरिकाले हटाएको हटाइएका एक कर्मचारीले बताए । ‘गाउँपालिकाका कार्यक्रमका म्याद थप भएको छ, नयाँ कर्मचारीलाई दक्ष बनाउन समय लाग्छ, त्यस्तो अवस्थामा पुराना कर्मचारीलाई निरन्तरता दिनुपथ्र्याे,’ उनले भने । गाउँपालिकाले कर्मचारीको अहिलेसम्मको कामको मूल्याकंन नगरेको उनले बताए ।
नयाँ जनप्रतिनिधि आएसँगै देशका धेरैजसो स्थानीय तहले करारका कर्मचारी हटाएका छन् । ०७४ सालको स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको कार्यकालमा नियुक्त भएका अधिकांश कर्मचारीलाई हटाउने निर्णय गर्दा कतिपय स्थानीय तहले म्याद थपेका छन् । स्थानीय तहका जनप्रतिनिधि पालिकाले व्यहोर्नु परेको आर्थिक भार घटाउन करारका कर्मचारी हटाइएको दाबी गर्छन् । करार कर्मचारी पंक्ति भने राजनैतिक भागवण्डा र खिचातानीका कारण नयाँ जनप्रतिनिधि आएसँगै आफू्नजिकलाई नियुक्ति दिन करारका कर्मचारी हटाइएको तर्क गर्छन् ।
कुनै पालिकाले भने म्याद सकिदासम्म पनि कुनै पनि निर्णय गर्न सकेका छैनन् । जसले गर्दा करारका कर्मचारी अन्यौलमा छन् । कास्कीको पोखरा महानगरमा ३५९ जना करारको कर्मचारी छन् । उनीहरुको असार मसान्तमा म्याद सकिएको हो तर म्याद सकिएको ३ दिन वितिसक्दा पनि महानगरले कुनै निर्णय लिन सकेको छैन ।
तपाईको प्रतिक्रिया