जोमसोम ।
मुस्ताङमा कर कार्यालय नहुँदा यहाँका सेवाग्राही सास्ती भोग्न बाध्य छन् । कोरोना कहरअघि बर्सेनि एक पटक जोमसोममा कर शिविर सञ्चालन हुन्थ्यो । पछिल्लो ३ वर्षयता कर शिविर जिल्लामा भएको छैन ।
कर कार्यालय नहुँदा र कर शिविर पनि सञ्चालन नहुँदा मुस्ताङका सेवाग्राही आन्तरिक राजस्व कार्यालय बागलुङ धाउनुपर्ने बाध्यता छ । आन्तरिक राजस्व विभागले धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा कर कार्यालय स्थापना गर्न सकेको छैन । कर कार्यालय नभएको र शिविर पनि आयोजना नहुँदा मुस्ताङका व्यवसायी तथा उद्यमीले समय र आर्थिक खर्च गरी सेवा लिनुपर्ने अवस्था विद्यमान छ ।
कर कार्यालय नभएको मुस्ताङमा करदाता थपिँदै गए पनि कर शिविर नहुँदा राजस्व बुझाउन बागलुङ जानुपर्ने वाध्यता छ
यहाँका व्यवसायी तथा उद्यमीले जिल्लामै कर कार्यालय वा नियमित कर शिविर सञ्चालन गर्नुपर्ने माग गरेका छन् । कर कार्यालय नहुँदा मुस्ताङका कारदाताले आफ्नो विवरण बुझाउन, राजस्व तिर्न, करको दायरामा जोडिन र कर चुक्ता गर्न सास्ती खेप्न बाध्य हुनु परेको छ । सेवाग्राहीले सबै खाले सरकारी भुक्तानीका लागि पान नम्बनर पेश गर्नु अनिवार्य छ । तर, यी सबै सेवाबाट लिन यहाँका सेवाग्राहीले बागलुङ धाउनुपर्ने छ ।
मुस्ताङमा कर कार्यालयको अन्तशुल्क प्रशासन हेर्ने जिम्मा कोष तथा लेखा नियन्त्रण कार्यालय मुस्ताङलाई छ । कार्यालयका कोष नियन्त्रक डालेश्वर अर्यालले हिमाली तथा दुर्गम जिल्लामा व्यक्तिगत पान नं. लिन आन्तरिक राजस्व विभागले सम्बन्धित कोष तथा लेखा नियन्त्रण कार्यालयलाई जिम्मा दिने निर्णय गरे पनि यो निर्णय कार्यान्वयन हुन नसकेको जनाए ।
जिल्लाका सेवाग्राही बाग्लुङ धाउनपर्ने अवस्था अझै जारी छ । कोलेनिका कार्यालयले नियमित अनुगमन गर्न नसक्दा उद्योग, प्रतिष्ठान र अन्य व्यवसायीलाई करको दायरामा ल्याउनसमेत कठिनाइ भएको छ । मुस्ताङका ५ स्थानीय तहमा ७ हिमाली फलफुलमा आधारित मदिरा उद्योग र ५ सय ५७ वटा अन्तशुल्क इजाजत लिने होटल तथा रेस्टुरेन्ट र अन्य व्यवसायी रहेको कोष तथा लेखा नियन्त्रण कार्यालय मुस्ताङले जनाएको छ । पछिल्लो समय सेवाग्राहीमा कर सचेतनामा विकास हुन थालेसँगै करको दायरामा जाडिनेको संख्या वृद्धि हुन थालेको कोष नियन्त्रक अर्यालको भनाइ छ । उनले सेवाग्राहीलाई कर दायरामा ल्याउन नियमित अनुगमन आवश्यक भएको औंल्याए ।
आन्तरिक राजस्व कार्यालय बागलुङ अन्तर्गत कोष तथा लेखा नियन्त्रण कार्यालयले राजस्व अन्तशुल्क वापत आर्थिक वर्ष २०७८/०७९ मा २ करोड ७० लाख राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०७७/०७८मा १ करोड ३२ लाख अन्तशुल्क राजस्व कर संकलन गरेको कोष तथा नियन्त्रण कार्यालय मुस्ताङले अघिल्लो वर्षभन्दा गत वर्ष १ करोड ४८ लाख अन्तशुल्क राजश्व उठाउन सफल भएको कार्यालय प्रमुख अर्यालले बताए । जसअन्तर्गत आ.व. २०७८/०७९ मा फलफूलमा आधारित मदिरा उद्योगबाट २ करोड ५२ लाख र होटल तथा रेस्टुरेन्ट व्यवसायीबाट अन्तशुल्क इजाजत दर्ता तथा नवीकरणवापत १८ लाख राजस्व उठेको हो ।
कार्यालयका अनुसार आन्तरिक राजस्व विभागले हिमाली जिल्लामा फलफूलमा आधारित मदिरा उद्योगलाई अन्तशुल्क करमा ८० प्रतिशत छुट दिएको छ । आर्थिक वर्ष २०७८/०७९ मा मुस्ताङमा १ लाख लिटर फलफूलमा आधारित मदिरा उत्पादन भएको अनुमान छ । मुस्ताङको टुकुचेमा १ वटा, मार्फा ५ वटा र स्याङमा १ गरी ७ वटा उद्योग दर्ता छन् । कोष तथा लेखा नियन्त्रण कार्यालयले संघ तथा प्रदेश कार्यालयतर्फ २२ करोड ५५ लाख राजस्व संकलन गरेको छ । जस अन्तर्गत संघीय कार्यालयतर्फ २० करोड ८५ लाख र प्रदेश कार्यालयतर्फ ८५ लाख ८५ हजार राजस्व संकलन भएको छ ।
सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया