सम्झनामा तेजनाथ गुरु
तेजनाथ घिमिरेको जन्म विसं १९९६ असोज १ मा नदिपुर पोखरामा भएको हो । उहाँ सानैदेखि तीक्ष्ण बुद्धिको हुनुहुन्थ्यो । निरंकुश, जहाँनिया राणा शासन कालीन समय भए पनि आफ्नै बुबा पण्डित गुरुप्रसाद घिमिरेसँग घरमै उहाँले पढ्ने अवसर पाउनुभयो । पछि बनारस गएर संस्कृत साहित्य र व्याकरणमा शास्त्री गर्नुभयो । विसं. २०१५ सालमा १८ वर्षको कलिलो उमेरमा शिक्षक बनेर सुदुरपश्चिमको डडेलधुरा जिल्ला भएको थियो ।
हामीले पढ्दै गरेको ‘घनघश्याको उकालो’सँग उहाँले त्यतिखेरै साक्षात्कार गर्नुभयो । यो उकालो यस निबन्धमा लेखिएभन्दा अझै बढी गाह्रो, अप्ठ्यारो छ भन्नुहुन्थ्यो । उहाँका कान्छा छोरा गोविन्द घिमिरे सहपाठी र बालसखा भएकाले बुबा तेजनाथसँग सरसल्लाह लिने, दुःख सुखका कुरा गर्ने, आफ्ना लेख, कविता उहाँसँग रुजु गराउने, उहाँका अनुभव, लेख, रचना, कविता, गजल, गीत, निबन्ध श्रवण गर्ने अवसर पाएँ । नुवारथोकसँग गुरु तेजनाथको पुरानो र गहिरो सम्बन्ध थियो ।
काका टेकनाथ बराल, वनदेवी पहारी मेडम र तेजनाथ गुरुले सँगै मल्टिपल तालिम लिनुभएको थियो । सरकारी नोकरीका क्रममा ठूलोबुबा तारानाथ बराल र तेजनाथ गुरुसँगै हुनुहुन्थ्यो । प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेसको कार्यकर्ता बनेर काँग्रेसका सम्पूर्ण आन्दोलन, कार्यक्रम र क्रियाकलापमा बुबा अग्निलाल बरालसँगै तेजनाथ घिमिरेले सक्रिय सहभागिता देखाउनुभयो । पश्चिमाञ्चलको पहिलो पत्रिका हिमदूतको सम्पादन गर्नु भयो । यसरी उहाँ पोखराको पहिलो पुस्ताको पत्रकार बन्नुभयो ।
जीवन व्यस्त र सक्रिय जिउनु भएका गुरुले वेणी, भूपी स्मृतिग्रन्थ, शिक्षाज्योति, नानी सारस्वत र डिठा श्रीप्रसाद स्मृति ग्रन्थको पनि सम्पादन गर्नुभयो । पोखरेली युवा सांस्कृतिक परिवारको उहाँ संस्थापक सदस्य, पछि अध्यक्ष, आजीवन सदस्य, सल्लाहकार रहेर निरन्तर योगदान दिनुभयो । समता काव्य सन्ध्यामा नियमित ज्येष्ठ नागरिकको रुपमा उपस्थित भएर सबैलाई सल्लाह र हौसला प्रदान गर्नुहुन्थ्यो । टिकटमा मुक्तक कार्यक्रममा लौरो टेकेर भए पनि आएर मुक्तक सुनाएर सबैलाई हँसाउनु हुन्थ्यो । उमेर बूढो भए पनि मन र उत्साह सधैं युवाको सरह थियो ।
तेजनाथ गुरु शिक्षक बनेर डडेलधुरा पुग्दा त्यहाँ विद्यालयको संरचना केही पनि रहेनछ । गुरुले यत्रतत्र देखिएका छपनी, ढुंगा ल्याउनुहोस् भन्नुभयो । मानिसले के गर्ने हो भने । ल ल पहिला त ल्याउनुहोस् भन्नुभयो । यसरी ल्याइएको छपनी, ढुंगालाई ब्ल्याकबोर्डको रुपमा प्रयोग गर्नुभयो । १८ वर्षको कलिलो उमेरको दुःख नपाएको पोखरा बजारको पण्डितको छोराले जुन त्याग, तपस्या गरेर सुदुरपश्चिम पुगेर शैक्षिक आन्दोलन छेड्नुभयो, त्यो अतुलनीय छ । बाँसका खामा गाडेर, खरका छाना छाउन लगाएर कक्षाकोठा बनाएर विद्यालय संचालन गर्नुभएका गुरुको तेजिलो दिमागको जति प्रशंसा गरे पनि कम हुन्छ ।
लेखपढ गर्ने चलन नै नभएको त्यो बेलामा नै उहाँ विद्वान् हुनुहुन्थ्यो । चेतनशील, शिक्षाप्रेमी तेजनाथ गुरु शिक्षक बनेर अर्मला पुग्नुभयो । गाउँले धेरैजसो बसाइँ सरेर पोखरा जान खुट्टा उचालिरहेका थिए । उहाँले म बजारबाट यहाँ आएँ, तपाइँहरु किन जानु प¥यो, नजानुहोस् भन्नुभयो । उहाँका गहकिला, मर्मस्पर्शी धारणा सुनेर मानिस बसाइँ नसर्ने निर्णय गरे । यो कार्यले गाउँलेलाई फाइदा भएको महसुसपछि गरियो ।
कन्या माविको नयाँ संरचना बनाउन गुरुको ठूलो परिश्रम र योगदान छ । फासिष्ट तानाशाही पञ्चायती व्यवस्थाको जगजगी थियो । प्रतिबन्धित नेपाली कांग्रेसका कार्यकर्ताले म काँग्रेस हुँ भन्न पनि सक्ने अवस्था थिएन । जनतासँग पुग्ने कुरा त धेरै टाढा थियो । त्यस्तो अवस्थामा तेजनाथ गुरुले नेपाल शिक्षक संघ गठन गर्नुभयो । संस्थापक अध्यक्षको हैसियतले विद्यार्थी, अभिभावक भेट्ने निहुँले जनतासँग पुग्नुभयो । विसं. २०४६ सालको जनआन्दोलन सफल हुनुमा साहित्यकार र शिक्षकहरुको ठूलो हात छ । वि.सं. २०६२।६३ सालको जनआन्दोलन शिथिल हुँदै गएको तेजनाथ गुरुले महसुस गर्नुभयो ।
अब भएन भनेर उहाँले सडक कविताको परिकल्पना गर्नुभयो । पोखराका चोकचोकमा जोसिला, विद्रोही कविता वाचन भए । उहाँले छन्दमा कविता वाचन गरेर जनआन्दोलनमा उत्रन जनता जनार्दनलाई आग्रह गर्नुभयो । हेर्दाहेर्दै लाखौं जनता एकैचोटी सडकमा उत्रे । आन्दोलन सफल भयो । तेजनाथ गुरुले जस मैले पाउनु पर्दछ भन्नुभएन । कुनै नेताले पनि उहाँलाई धन्यवादसम्म भनेनन् । किशोर अवस्थादेखि नै काव्य साधना गरे पनि वि.सं. २०१७ सालदेखि थुप्रै पत्रपत्रिका, किताबमा उहाँका रचनाहरु, आलेख हजारौं प्रकाशित भएका छन् ।
कुनै बेला दैनिक जनमत पत्रिकामा देश–काल स्तम्भमा उहाँका रचना प्रत्येक दिन छापिन्थे । संस्कृत र व्याकरणको ज्ञाता भएकाले उहाँका काव्यकृति माथिल्लो स्तरका छन् । अनावरण मुक्तकमाला र देशकाल उहाँका कृति हुन् ।
पश्चिमाञ्चलको पहिलो पत्रिका ‘हिमदूत’ सम्पादन गर्नु भयो । यसरी उहाँ पोखराको पहिलो पुस्ताको पत्रकार बन्नुभयो
देवराज बराल
गुरुका वि.सं. २०६६ चैत्रमा “कालचक्र” र “सेती गण्डकी” दुई पुस्तक सिग्देल प्रेस पोखराबाट प्रकाशित भए । तेजनाथ घिमिरे श्रीप्रसाद स्मृति प्रतिष्ठान, अवलोकन साहित्य र शिरोमणि सम्मान पुरस्कार २०६०/२०६१/२०६२ बाट पुरस्कृत हुनुभएको छ । राष्ट्रिय शिक्षा समिति र गण्डकी वृहत साहित्य सम्मेलन (वि.सं. २०२२, हंसपुर, कास्की)– प्रथम, नगद/स्वर्ण पदक प्राप्त गर्नुभयो । यसैगरी राष्ट्रिय निबन्ध प्रतियोगिता र जिल्ला शिक्षा समिति कास्कीबाट नगद पुरस्कार प्राप्त गर्नुभयो ।
उहाँले प्राप्त गर्नुभएका कदर/सम्मान
१) पोखरेली युवा सांस्कृतिक परिवारबाट सम्मानित
आजीवन सदस्य, पूर्व अध्यक्षको कदरपत्र
२) दयाशंकर स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित
३) लेखनाथ साहित्य प्रतिष्ठान सम्मानपत्र २०६६
उहाँका अभिनन्दन
१) नेपाल शिक्षक संघ, कास्की २०५४
२) कन्या मावि पोखरा २०५८
३) माछापुच्छ्रे एफएम २०५९
४) कन्या मावि भूपू विद्यार्थी संघ २०६३
विभूषण
१) गद्दी आरोहण रजत महोत्सव २०५३
२) प्रवल गोरखा दक्षिणबाहु २०५५
आजभन्दा ६० वर्ष अगाडि पोखरा रुढीवादी परम्पराले चुर्लुम्म डुबेको थियो । त्यस्तो बेलामा पनि तेजनाथ घिमिरेले अन्तरजातीय विवाह गर्नुभयो । ठूलाबडाले अन्तरजातीय विवाह गर्ने क्रम पोखरामा सुरुआत गुरुबाट भएको हो । यस कार्यले राम्रो सामाजिक क्रान्ति ल्यायो । त्यसपछि मात्रै अरुले अन्तरजातीय विवाहको मान्यता पाए । अहिले यो चलन सामान्य भइसकेको छ । गुरुले परिवारमा राम्रो शैक्षिक वातावरण बनाएको गहिरो अनुभव गरेको छु ।
उहाँका जेठा छोरा दाजु प्रकाश घिमिरे कवि, पूर्व प्रधानाध्यापक पूर्व शिक्षक, नाट्यकर्मी हुनुहुन्छ । दाजु पशुपतिप्रसाद लगायत थुप्रै सिनेमा र नाटकमा संलग्न हुनुहुन्छ । माहिला दाजु जीवन घिमिरे जिल्ला खेलकुद समितिमा आवद्ध हुनुहुन्छ । कान्छा दाजु गोविन्द घिमिरे पिएन क्याम्पसमा उपप्राध्यापक (स्वास्थ्य र शारीरिक शिक्षा) हुनुहुन्छ । दुवै छोरी इन्दु र ज्योति पनि कलेजको पढाइ सकेर शिक्षक र स्टाफ नर्स बन्नुभएको छ ।
चक र डस्टरसँग धेरै खेल्नुभएका गुरु बिछ्यौना परेको लामो समय भएको थियो । वि.सं. २०७९।०३।३२ गते बिहान २ः१२ बजे गुरुको स्वर्गवास भयो । उहाँको पार्थीव शरीरलाई नेपाली कांग्रेसका पूर्व महामन्त्री, पूर्व सभामुख तारानाथ रानाभाटले चारतारे झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गर्नुभयो । शवयात्रामा दाजुभाई, इष्टमित्र, छिमेकी, पोखरेली कविहरु, कांग्रेसका कार्यकर्ता, शिक्षकको बाक्लो उपस्थिति थियो । तुलसीघाटमा जेठा छोरा प्रकाशले बिहान ११ः०० बजे दागबत्ती दिनुभयो । स्व. कविवर बुबा तेजनाथ घिमिरेको आत्माको चिरशान्तिको कामना गर्दछु । शोकसन्तप्त घिमिरे परिवारलाई हार्दिक समवेदना प्रकट गर्दछु ।
तपाईको प्रतिक्रिया