चुनावी अभियान चलाउँदै एमाले

समाधान संवाददाता २०७९ साउन ५ गते १२:३६

पोखरा ।
आम चुनावको तयारीका क्रममा नेपाल कम्युनिस्ट पार्टी (एमाले) गण्डकी प्रदेश कमिटीले प्रदेश जिल्ला र पालिका स्तरको भेला, प्रशिक्षण गर्न लागेको छ । स्थानीय तहको चुनावको समीक्षा गर्दै आगामी संघ र प्रदेशको निर्वाचनमा आफ्नो सम्पूर्ण शक्तिलाई निर्वाचन केन्द्रीत अभियान गर्ने क्रमको पहिलो कार्यक्रम प्रदेश स्तरीय प्रशिक्षणबाट सुरुवात गरेको पार्टीका प्रदेश कमिटी कार्यालय सचिव माधव बास्तोलाले जानकारी दिए ।

Advertisement

एमालेले साउन ८ गते पोखरा सभागृहमा गण्डकी प्रदेश स्तरीय कार्यकर्ता भेला गर्न लागेको छ । पार्टीले संगठानिक सुदृढीकरण र कार्यकर्तालाई वैचारिक रुपमा प्रशिक्षित गर्न केन्द्रीय कमिटीको अन्तरपार्टी निर्देशन (अपानी) अनुसार साउन महिनामा भेला तथा प्रशिक्षण अभियान गर्न लागेको हो । ‘पोखराको गण्डकी प्रदेशबाट सुरुवात भएको भेला प्रशिक्षण जिल्ला हुँदै पालिका स्तरमा लगिनेछ,’ उनले भने, ‘प्रदेशको भेला प्रशिक्षणपछि एमालेले वडा र टोल टोलमा अभियान सञ्चालन गर्ने योजना बनाएको छ ।’

उनले गण्डकी प्रदेश स्तरीय अभियानमा १ हजार ५ सय नेता तथा कार्यकर्ता परिचालन गर्ने योजना बनाएको बताए । प्रशिक्षणले कार्यकर्तालाई वैचारिक खुराक थप्नुका साथै आगामी निर्वाचनमा एमालेको भूमिकालाई प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । साउन महिनाभरी चल्ने अभियानले एमालेलाई जनतासँग जोड्ने उनले उल्लेख गरे । उनले अभियानको क्रममा वर्तमान सरकारले गरेका राष्ट्रघाती तथा जनविरोधी कामको भण्डाफोर गर्नुका साथै मंहगी, भ्रष्टाचार, विकासको बजेटको असमान वितरण सवाल उठाइने जानकारी दिए । उनले वर्तमान सरकारको असक्षमताको कारण नीतिगत भ्रष्टाचारको बढेको तर्क गरे ।

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री र गण्डकी प्रदेश सभाका सदस्यले परिवारको नाममा खोलेको ट्रस्टमा राज्यको रकम विनियोजन गरी दुरुपयोग गरेको उल्लेख गर्दै कार्यालय सचिव बास्तोलाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले जारी गरे चुच्चे नक्सा अनुसारको जमिन फिर्ता गर्नका लागि कूटनीतिक पहल गर्नुपर्नेमा वर्तमान सरकार भारतसमक्ष लम्पसारवादी बनेको आरोप लगाए ।

वैदेशिक हस्तक्षेप रोक्ने सवालमा वर्तमान सरकार असफल भएको दाबी गर्दै उनले एमसिसी, एसपिपी लगायतका सत्तारुढ गठबन्धनले गरेका राष्ट्रियता विरोधी गतिविधिको भण्डाफोर गर्ने जानकारी दिए । उनले आगामी निर्वाचनमा गण्डकी प्रदेशमा नेकपा (एमाले)लाई पहिलो शक्तिको रुपमा स्थापित गर्न अभियानको प्रमुख भूमिका रहने जनाए । स्थानीय तहको निर्वाचनमा भएका कमी, कमजोरीलाई आगामी निर्वाचनमा दोहेरिन नदिनका लागि एमालेले संगठन सुदृढिकरणको कामलाई व्यवस्थित गर्न लागेको हो । पार्टीका शीर्ष तहका नेताले दिने प्रशिक्षण कार्यक्रममा मापदण्डभन्दा बाहिरका सदस्यको सहभागितामा रोक लगाइएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया