मुस्ताङमा सीमास्तम्भको अनुगमन

जोमसोम ।
मुस्ताङका प्रमुख जिल्ला (सिडिओ) नेत्रप्रसाद शर्माले बुधबार उत्तरी क्षेत्रमा अवस्थित सीमास्तम्भको अनुगमन तथा निरीक्षण गरेका छन् । नेपाल सरकार परराष्ट्र मन्त्रालय र चिनियाँ विदेश मन्त्रालयबीच गत असार ३० गते संयुक्त सीमा अनुगमन गर्ने सहमति भएको सन्दर्भमा शर्माले सीमा अनुगमन गरेका हुन् । सिडिओ शर्मासहित प्रहरी नायव उपरीक्षक रामकुमार दानी, सशस्त्र प्रहरी नायव उपरीक्षक मोहनजंग कार्की र सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी) छोसेकोको संयुक्त टोलीले उत्तरी सीमाक्षेत्रको स्तम्भ अवलोकन गरेको हो ।
मुस्ताङका सिडिओ नेत्रप्रसाद शर्मासहित संयुक्त सुरक्षा टोलीले चिनको स्वशासित क्षेत्र तिब्बत र नेपालतर्फको कोरलानाका आसापास अनुगमन गरेका हुन्
सिडिओ शर्मासहितको संयुक्त सुरक्षा टोलीले चिनको स्वशासित क्षेत्र तिब्बत र नेपालतर्फको कोरलानाका आसापास पर्ने २१ नम्बर सीमास्तम्भदेखि २५ नम्बर सीमास्तम्भको अवलोकन हो । सवारी तथा पैदलमार्गबाट सीमा अनुगमन गरिएको सिडिओ नेत्रप्रसाद शर्माले जानकारी दिए । चीनसँग जोडिएका सबै सीमा स्तम्भको दुरी करिब १ किमीको फरकमा रहेको सिडिओ शर्माले उल्लेख गरे । ‘म सिडिओको रुपमा रहँदा ३ पटकसम्म सीमा अनुगमन तथा निरीक्षण गरिसक्यौं, हाम्रा सबै सीमा स्तम्भ सुरक्षित छन्,’ सिडिओ शर्र्माले भने, ‘एकपटक दुबैतर्फबाट संयुक्त सीमा स्तम्भ अनुमगन गर्ने भन्ने प्रस्ताव गरेका छौं, सम्भवत चाँडै संयुक्त सीमा स्तम्भ अनुगमन गर्ने वातावरण मिल्नेछ ।’
उत्तरी कोरलानाकादेखि डोल्पाक्षेत्रसम्को दुरीमा १८ देखि २३ नम्बर सीमा स्तम्भ रहेको र २५ नम्बर सीमा स्तम्भदेखि मनाङको सीमानासम्मको दुरीमा ३३ नम्बर सीमास्तम्भ रहेको सिडिओ शर्माले जानकारी दिए । उपल्लो मुस्ताङको छोसेरमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) बसेपछि समय सापेक्ष निरन्तर सीमा स्तम्भको अनुगमन गर्ने काम हुने गरेको सिडिओ शर्र्माले उल्लेख गरे । हालसम्म उत्तरी कोरला नाकाको मुस्ताङ क्षेत्रसँग जोडिएका नेपाल–चीन सीमास्तम्भमध्ये १८ देखि ३२ नंं सीमास्तम्भ गरी १५ वटा सीमा स्तम्भको अनुमगन र पहिचान भएपनि ३३ नम्बर सीमा स्तम्भको भने पहिचान हुन नसकेका सिडिओ शर्माको भनाइ छ । पहिचान हुन नसकेको ३३ नम्बर सीमा स्तम्भ पनि चिनिया पक्षको सहयोगमा अनुमगन गर्ने योजना रहेको बताए ।
उत्तरी नेपाल–चीन सीमास्तम्भहरुमध्ये सबै सीमास्तम्भ देखिने गरी चीन पक्षले सुरक्षा दस्ता खडा गरेको प्रजिअ शर्माले उल्लेख गरे । मुस्ताङको अधिकांश सीमा स्तम्भसम्म पुग्न चीन पक्षले सडक मार्गसमेत बिस्तार गरेको छ । पछिल्लो समय उत्तरी सीमा क्षेत्रमा नेपाल पक्षले पनि बेला/बेलामा नियमित सीमा स्तम्भ अवलोकन गर्दै आइरहेको सिडिओ शर्माले बताए । चीनको स्वशासित क्षेत्र तिब्बत र नेपालतर्फको कोरलानाकाको २४ नं सीमा स्तम्भ मुस्ताङक्षेत्रको केन्द्रबिन्दुमा रहेको मुख्य सीमास्तम्भ हो ।
चीन पक्षले दीर्घकालिन व्यापार तथा पारवाहान मार्ग विस्तार गर्ने उद्देश्यले ठूला/ठूला भव्य सरचना निर्माण गरिसकेको छ । कोरलासम्मको तिब्बती भूमिमा दुईलेनको कालोपत्रे सडक विस्तार गरिसकेको छ । नेपाल पक्षले भने दीर्घकालीन उद्देश्य लिएर कोरलानाकाको दजगजा क्षेत्रमा १ हजार रोपनी जग्गा भन्सार, अध्यागमन, सुरक्षा पोस्ट, सुख्खा बन्दरगाह र क्वारेन्टाइन लगायत संरचना बनाउन नेपाल सरकारको नाममा लालपुर्जा लिइसकेको छ । सरकारले कोरलानाकालाई लक्षित गरी लोमान्थाङको लुंखुफाँटमा नेपाली सेनाको टुकडी र लोमान्थाङ–२ छोसेरमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) क्याम्प समेत स्थापना गरिसकेको छ ।
तपाईको प्रतिक्रिया