पाेखरामा लक्षित राजस्व उठेन

राष्ट्रिय समाचार समिति (रासस) २०७९ साउन ६ गते ११:४५

पाेखरा ।

Advertisement

आन्तरिक राजस्व कार्यालय पोखराले गत आर्थिक वर्ष २०७८/७९ मा लक्ष्यको ९५ दशमलव ६६ प्रतिशतमात्र राजस्व संकलन गरेको छ । विशेष गरी पर्यटन क्षेत्रबाट राम्रो राजस्व उठाउँदै आएको कार्यालयको पर्यटन व्यवसाय कोभिडअघिकै लयमा फर्किन नसक्दा राजस्वको लक्ष्यसमेत प्रभावित भएको हो ।

गत आवमा ५ अर्ब १० करोड १७ लाख २८ हजार राजस्व संकलनको लक्ष्य राखेको कार्यालयले ४ अर्ब ८८ करोड ४ लाख ४१ हजारमात्र संकलन गरेको छ । संकलित राजस्व लक्ष्यभन्दा २२ करोड १२ लाख ८७ हजार कम हो । कार्यालयले आयकरतर्फ लक्ष्यभन्दा बढी राजस्व संकलन गरे पनि मूल्य अभिवृद्धि कर(मुअकर) र अन्त शुल्क लक्ष्य अनुसार संकलन नहुँदा समग्र राजस्वको लक्ष्य पूरा हुन नसकेको हो ।

Advertisement

कार्यालयले आयकर शीर्षकमा २ अर्ब ८४ करोड १ लाख २१ हजार संकलनको लक्ष्य राखेकामा ३ अर्ब ३ करोड ५६ लाख जम्मा भएको छ । त्यो लक्ष्यको १ सय ६ दशमलव ८८ प्रतिशत हो । यसैगरी मुअकरमा १ अर्ब ५७ करोड १० लाख ७८ हजारको लक्ष्य राखिएकामा १ अर्ब ३३ करोड ५५ लाख ४२ हजार संकलन भएको प्रमुख कर अधिकृत एवं राजस्व कार्यालयका प्रमुख एवं प्रमुख कर अधिकृत रमेश शर्माले बताए ।

कार्यालयले गत आर्थिक वर्षमा घरबहाल करतर्फ ६ करोड ३९ लाख ३४ हजार, ब्याजकर ३५ करोड ३५ लाख १६ हजार, अन्तशुल्क १८ करोड ९७ लाख ५२ हजार, स्वास्थ्य सेवा कर १६ लाख ४१ हजार र शिक्षा कर ४ लाख ३४ हजार संकलन गरेको छ । कार्यालयले भने लक्ष्य पूरा हुन नसके पनि राजस्व संकलन सन्तोषजनक नै रहेको जनाएको छ । विगतको राजस्वको वार्षिक वृृद्धिदरभन्दा कम भए पनि राष्ट्रिय औसतभन्दा माथि रहेकाले राम्रो नै मान्नुपर्ने कार्यालय प्रमुख शर्माले जनाए ।

Advertisement

कार्यालयको कार्यक्षेत्रमा सेवा क्षेत्र बढिरहेको र होटल तथा पर्यटन क्षेत्र कोभिड अघिकै लयमा फर्किन नसक्दा त्यस क्षेत्रबाट जम्मा हुने मूल्यअभिवृद्धि करमा कमी आएको र सरकारी कार्यालयको पूँजीगत खर्च कम हुँदासमेत राजस्वको समग्र लक्ष्य भेट्टाउन नसकिएको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख शर्माले भने, ‘हाम्रो कार्यालयको कार्यक्षेत्रमा सेवा क्षेत्र बढी छ, होटल र पर्यटन क्षेत्र पुरानै लयमा फर्किन नसक्दा सो क्षेत्रबाट भ्याट आउन सकेन, पोखरा महानगरपालिका र प्रदेशस्थित कार्यालयबाट पनि गत वर्ष पुँजीगत खर्च कम हुँदा सरकारी कार्यालयबाट आउनुपर्ने मुअकर पनि सोचे अनुसार आउन नसक्दा हामीले लक्ष्य हासिल गर्न सकेनौं ।’

आन्तरिक राजस्व कार्यालय पोखरामा गत असार मसान्तसम्म ६२ हजार ४ सय ७१ आयकरमा र ११ हजार ७ सय १२ करदाता मूल्यअभिवृद्धि करमा दर्ता भएका छन् । व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाताको संख्या १ लाख ३० हजार ८ सय ७० रहेको कार्यालयका सूचना अधिकारी मदनबहादुर केसीले जानकारी दिए । गत आर्थिक वर्ष २०७८/७९ मा आयकरतर्फ ७ हजार ४ सय ६६, मुअकरमा १ हजार ३५ र व्यक्तिगत स्थायी लेखा नम्बर लिने २२ हजार ५ सय ८३ करदाता थपिएका छन् ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया