मेयर आचार्यको सम्पत्ति ४३ करोड

पोखरा ।
पोखरा महानगरपालिका मेयर धनराज आचार्यले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको विवरणमा पैत्तिक सम्पतिबाहेक साढे ४३ करोड सम्पत्ति देखिन्छ ।
आचार्यको पोखरा महानगरपालिका ९ मा २८९ वर्गमिटरमा २ वटा घर छन् । श्रीमती पुष्पाकुमारीको नाममा काठमाडौं सीतापाइलामा ९२५ वर्गफिटको २ कित्ता जग्गामा घर छ । उनले पोखरामा रहेका २ वटा घरको मूल्य ९ करोड २५ लाख रुपैयाँ र काठमाडौंमा रहेको घरको मूल्य १ करोड ८५ लाख रुपैयाँ उल्लेख गरेका छन् ।
पोखरा ११ मा आफ्नै नाममा दुई कित्ता जग्गा र घर छन् भने दोलखामा रहेको ५८ रोपनी ७ आना जग्गाको मूल्य ८७ लाख रुपैयाँ पर्ने जनाएका छन् । नगद १५ लाख नगद मौज्दात राखेका मेयर आचार्यको २५ करोड ९९ लाख ४५ हजार ६ सय १६ रुपैयाँ बराबरको सेयर र विभिन्न कम्पनीमा लगानी छ । मेयर आचार्यले आफूसँग २ करोड रुपैयाँ बराबरको कार, भ्यान र ३ स्कुटर रहेको खुलाएका छन् ।
आचार्यसँग ५ तोला हिरा, ५४ तोला सुन र ३८ तोला चाँदी रहेको छ । मादी गाउँपालिकास्थित सुपर मादी हाइड्रो र हेवा खोला हाइड्रो पावरका प्रमुख सञ्चालक रहेका आचार्यसमेत संलग्न तमोर जलविद्युत आयोजना निर्माणको चरणमा छ । उनको मेगा बैंक र सिटी डेभलपमेन्ट बैंकमा प्रमुख सेयर छ ।
मेयर आचार्यले २ करोड ८५ लाख रुपैयाँ ऋण पनि देखाएका छन् । अहिले ऋणबाहेक ४० करोड ७६ लाख ४५ हजार ६ सय रुपैयाँ बराबरको आफूसँग सम्पत्ति रहेको मेयर आचार्यले सार्वजनिक गरेका हुन् ।
तपाईको प्रतिक्रिया