काेराेना रोकथाम र नियन्त्रणका लागि तयारीमा जुट्दै प्रदेश सरकार

जनस्वास्थ्यका मापदण्ड पालना गर्न प्रदेश सरकारको आग्रह

समाधान संवाददाता २०७९ साउन ६ गते १६:२८

पोखरा ।
कोभिडको संक्रमणदर बढेपछि रोकथाम र नियन्त्रणका लागि गण्डकी प्रदेश सरकार तयारीमा जुटेको छ । यसका लागि बिहीबार प्रदेशस्तरीय कोभिड १९ नियन्त्रण निर्देशक समितिको बैठक बसेको छ ।

बैठकले सबै सरकारी, गैरसरकारी कार्यालयहरू तथा मानिसको भीडभाड हुने स्थान, विश्वविद्यालय, विद्यालय र शिक्षण संस्था, धार्मिक स्थल र नियमित भिडभाड हुने प्रकृतिका व्यावसायिक तथा मनोरञ्जनस्थलहरूका साथै गोष्ठी, सेमिनार, बैठक जस्ता मानिसको जमघट हुने कार्यक्रममा अनिवार्य मास्क लगाउने, सेनिटाइजरको व्यवस्था गर्ने जस्ता जनस्वास्थ्यका मापदण्डहरूको अनिवार्य पालना गर्ने व्यवस्था मिलाउन समन्धित सबैलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

कोभिड १९ संक्रमणको पछिल्लो अवस्था र सो को तयारी तथा प्रतिकार्यका अतिरिक्त संक्रमण रोकथाम र जोखिम नियन्त्रणका लागि गण्डकी प्रदेशका अस्पताल र स्वास्थ्य संस्थाहरूमा आवश्यक औषधी, औजार/उपकरण एवं जनशक्तिको व्यवस्थापन गरी तयारी अवस्थामा राख्ने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय बैठकले गरेको छ ।

Advertisement

मानिसहरूको जमघट र भिडभाड हुने स्थानहरूमा कोभिड १९ नमुना परीक्षण अभियान सञ्चालन गरी समुदायस्तरमा फैलन नदिन सचेत गराउने र नियमित परीक्षणको दायरालाई बढाउने व्यवस्था मिलाउने निर्णय भएको प्रमुख सचिव रविलाल पन्थले जानकारी दिए । कोभिड १९ विरुद्धको खोप कार्यक्रमलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्न खोप नलगाएका, पूर्ण मात्राको खोप नलगाएका तथा अतिरिक्त बुस्टर मात्रा लगाउने समय भएका व्यक्तिहरूलाई खोप लगाउन अनुरोध गर्ने निर्णय भएको प्रमुख सचिव पन्थले बताए ।

कोभिड १९ सम्बन्धी कुनै पनि जिज्ञासा भएमा संघीय सरकारले व्यवस्था गरेको १११५ नम्बर वा फोन मार्फत् चिकित्सकीय सेवा आवश्यक परेमा निशुल्क हटलाइन नम्बर ११३३ मा सम्पर्क गर्न र गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रको निशुल्क हटलाइन नम्बर १०९२ मा सम्पर्क गर्न अनुरोध गर्ने निर्णय भएको स्वास्थ्य सचिव डा. श्रीराम तिवारीले जानकारी दिए ।

Advertisement

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ३ तहका सरकारको समन्वयकै कारण गतविगतमा कोरोना महामारी नियन्त्रण र रोकथामका लागि गण्डकी प्रदेशमा प्रभावकारी काम भएको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले अब पनि त्यसै अनुसार अगाडि बढ्न निर्देशन दिएका छन् । कोरोना संक्रमणका कारण आइसोलेनसमा रहेका मुख्यमन्त्री पोखरेलले जुम मिटिङमा भने, ‘महामारी कसरी बढ्दै जाने हो, त्यसको आँकलन गर्न सकिँदैन, विगतको अनुभवलाई अहिले प्रयोग गर्नुपर्छ ।’ अस्पतालहरुमा आवश्यक सामग्रीदेखि जनशक्ति व्यवस्थापनका लागि उपयुक्त कदम चाल्न उनले स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएका छन् ।

खोपको प्रवन्धका अतिरिक्त पिसिआर परीक्षण, अस्पतालहरुमा शड्ढयाको प्रबन्ध लगायत विषयमा कति पनि कमजोरी नदेखिने गरी काम गर्न उनले आग्रह गरेका छन् । कोरोनाको प्रभाव घट्दै गएको र खोपको मात्रा पूरा गरेकाले ढुक्क भएर मास्क र सेनिटाइजर प्रयोग कम गर्न थालेकोतर्फ ध्यानाकर्षण गराउँदै मुख्यमन्त्री पोखरेलले यसतर्फ पनि सचेत रहन सर्वसाधारणमा अनुरोध गरेका छन् ।

बिहीबार गण्डकी प्रदेशमा ६४ जनाको पिसिआर परीक्षण गरिएकामा २४ जनामा संक्रमण देखिएको छ । अहिले प्रदेशभर १ सय ३१ जना संक्रमित रहेकामा ३ जनामात्र अस्पतालमा भर्ना भएका छन् । अहिले कास्की, स्याङ्जा, तनहुँ, नवलपरासीमा मात्र सक्रिय संक्रमित छन् । बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङले जिल्लास्तरमा रहेका अस्पतालहरुमा जनशक्ति र अन्य प्रबन्धका लागि समन्वय भइरहेको जानकारी गराइन् । कोभिड कोषबाट तलब खानेगरी नियुक्त गरिएका कर्मचारीको करार अवधि सकिएकाले अब फेरि ओएन्डएम गरेर नियुक्त गर्न लागिएको उनले बताइन् ।

उक्त अवसरमा वन तथा वातावरण मन्त्री दीपक थापा, आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्मा, प्रमुख सचिव रविलाल पन्थले समसामयिक विषयमा भनाइ राखेका थिए । मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय गण्डकीका सचिव डा. विनोदविन्दु शर्मा, प्रदेश आपूर्ति केन्द्रका निर्देशक डा. रोशन न्यौपानेले कोभिड नियन्त्रणमा विगतमा गरेका अभ्यास र अब चाल्नुपर्ने उपायका बारेमा प्रस्तुति गरेका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. श्रीराम तिवारीले जनशक्तिवाहेक अरु सबै हिसावमा मन्त्रालय तयारी अवस्थामा रहेको भनाइ राखे । उक्त अवसरमा कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, संक्रामक तथा सरुवा रोग अस्पतालका कार्यकारी निर्देशक डा. विकास गौचन, नेपाल प्रहरीका डिआइजी, सशस्त्र प्रहरीका प्रदेश प्रमुख, नेपाली सेनाको ३ नम्बर वाहिनीका वाहिनीपतिलगायतले आवश्यक तयारीका बारेमा जानकारी गराए ।

तपाईको प्रतिक्रिया