नमखु लेकमा आलो रगत खाने मेला
एउटै याकचौरीबाट १५ देखि ३५ गिलाससम्म आलो रगत निकाल्ने गरिन्छ
जोमसोम ।
विश्वकै अग्लो ठाउँमा रहेको तिलिचो ताल जाने पदमार्ग । समुन्द्री सतहको झन्डै ४ हजार उचाईमा अवस्थित लेक । मुस्ताङको घरपझोङ ५ नमखुलेकमा अहिले याक/चौरीको रगत खाने मेला जारी छ । बुधबार सुरु भएको मेला १० गतेसम्म चल्नेछ । मुस्ताङमा बर्सेनि वैशाख र साउनमा याकचौरीको आलो रगत खाने मेला चल्छ । तर, कोरना महामारीका कारण ३ वर्षदेखि यो मेला सञ्चालन हुन सकेको थिएन ।
कोरोनाको जोखिम कम हुँदै गएपछि मुस्ताङका याकचौरी पालकले यसपालि मेला चलाएका हुन् । त्यसो त नमखुलेंकसहित थासाङ गाउँपालिकाको मार्चे लेंकमा पनि याकचौरीको आलो रगत खाने मेला जारी छ । जोमसोमदेखि ठिनी हुँदै करिब ५ किलोमिटर कच्ची सडकको यात्रा गर्दै करिब ४५ मिटरको पैदलयात्रा तय गरेपछि मनमोहक नमखुलेक पुगिन्छ ।
नीलगिरी हिमालको फेदमा अवस्थित नमखुलेकमा याकचौरीको आलो रगत खान जिल्ला भित्र र जिल्ला बाहिरका उल्लेख्य मानिस आईपुगेका छन् । बर्सेनि मौसम अनुसार बस्ती स्थान्तरण गर्दै आएका याकचौरीलाई गर्मी बढेपछि नमखुलेक ल्याइएको छ । नमखुमा स्थानीय भूपेन्द्र शेरचन, वीरबहादुर घर्ती, मनकुना थकाली सहितका ५ वटा याकचौरी गोठ छन् । त्यहाँ झन्डै करिब ५ सय हाराहारी याकचौरी पालन गरिएको छ ।
त्यहाँसम्म पुग्न गण्डकी प्रदेश सरकारले कच्ची सडक स्तरोन्नति गरेकाले मेलामा जानेहरुलाई सहज भएको छ । यस पटक ३ सय बढी सर्वसाधारण यहाँ पुगेका छन् । याकचौरीको आलो रगत पिउनाले पेटसम्बन्धी विभिन्न रोग निको हुने जनविश्वास छ ।
हिमाली उच्च लेकमा पालन गरिएका याकचौरीले त्यहाँका यार्सागुम्बा, पाँच औले, निरमसी, जटामसी, कुटुकी, वन लसुन, जिम्बु जस्ता जटिबुटी खाने भएकाले याकचौरीको आलो रगत स्वास्थ्यका लागि फाइदाजनक बताइन्छ ।
१२ वर्षदेखि याकचौरी पालन व्यवसाय गर्दै आएका जोमसोमका भूपेन्द्र शेरचनले चौरीको आलो रगत बिक्री गरी वैकल्पिक रुपमा आम्दानी गर्ने गरेको बताए । बर्सेनि याकचौरीको रगत बेच्दा सबै खर्च कटाएर १० लाखसम्म आम्दानी गर्ने गरेको शेरचनले सुनाए । याकचौरीको संख्या वृद्धि गर्ने, दूधबाट बिभिन्न परिकार बनाउने, याक बिक्री गर्ने र याकचौरीको आलो रगत निकालेर बिक्री गर्ने गरेको उनले जानकारी दिए ।‘ याकचौरी पालनबाट पनि मनग्ये आम्दानी गर्न सकिन्छ, विदेशी पलायन हुनु पर्दैन,’ शेरचनले भने, ‘परिश्रम र मेहनत गरे स्वदेशमै पनि राम्रो कमाइ हुन्छ ।’
उनले राज्यले पशुपालकका लागि विभिन्न अनुदानको व्यवस्था गरेको भए पनि सो सुविधा प्राप्त गर्ने प्रक्रिया झन्झटिलो भएको गुनासो गरे । यस वर्ष याकचौरीको आलो रगत प्रतिगिलास २ सयका दरले बिक्री भएको छ । सामान्यतया एउटै याकचौरीबाट १५ गिलासदेखि ३५ गिलाससम्म आलो रगत निकाल्ने गरिएको छ । रगत निकाल्नुअघि भेटेरिनरी चिकित्सकबाट याकचौरीको स्वास्थ्य परीक्षण गरिन्छ । यसबारे ज्ञान भएकाले, याकचौरीको आलो रगत निकाल्ने गर्छन् । आलो रगत निकाल्नुअघि याकचौरीलाई डोरीले बाँधेर नियन्त्रणमा नशामा सियोले रोपिन्छ ।
म्याग्दीको मालिका ५ देविस्थानकी प्रेमकुमारी फगानी याकचौरीको आलो रगत खान पहिलो पटक नमखुलेक आएकी छन् । उनले आलो रगत खाँदा स्वास्थ्यलाई फाइदा पुग्ने सुनेकाले मुस्ताङ आएको बताइन् । ‘मलाई पेटको समस्या छ । मेडिकल र आयुर्वेदिक औषधी खाँदै छु तर निको भएको छैन,’ उनले भनिन्, ‘मसँगै अरु साथी पनि छन् । हामी ३ दिन भयो लेंकमै बसेका छौं ।’ मेलाको व्यवस्थापन र प्राकृतिक सुन्दरताले लोभ्याएको उनले सुनाइन् ।
मेलामा आएका कतिपय सर्वसाधारण पाल टाँगेर बसेका छन् । कतिपय भने जोमसोमबाट आउजाउ गरिरहेका छन् । मेलामा बिहान र बेलुका गरी दिनको २ पटक याकचौरीको आलो रगत निकाल्ने गरिएको छ । मेलामा सहभागीहरु आपसमा नाचगान गरिरहेकोसमेत देखिन्छ । घरपझोङ ५ ठिनीका सुदीप थकाली पनि ग्यास्टिक ठिक हुने सुनेपछि पहिलो पटक याकचौरीको आलो रगत खान नमखुलेक आएका छन् । ‘याकचौरीको मुख्य बासस्थान हिमाली उच्च लेक नै हो । लेकमा बस्ने याकचौरीले जटिबुटी खाने गर्छन्,’ थकालीले थपे, ‘यस्ता याकचौरीको आलो रगतले पेटको समस्या निराकरण गर्छ भन्ने सुनेको छु ।’
बर्सेनि दुई सिजन मुस्ताङमा याकचौरीको आलो रगत खाने मेला लाग्छ । कोरोना कहरले मेला रोकिँदा आम्दानी गुमाइरहेका किसानहरु यसपटक खुसी छन् । जिल्लामा बैशाख महिनामा थासाङको बोक्सी खोलामा रगत खाने बेला लाग्ने गर्छ भने श्रावण महिनामा थासाङको मार्चे लेक र घरपझोङ गाउँपालिकाको नमखुलेकमा यस्तै मेला सञ्चालन हुन्छ ।
हिमाली उच्च लेकमा पालिएको एउटै वयस्क याकचौरीको मूल्य १ लाखदेखि १ लाख ३० हजारसम्म पर्छ । चिसो भूगोलमा हुर्काइएका याकचोरीको मासु स्वादिलो र पोसिलो हुने मानिन्छ । चौरीको दूधबाट दही, घिउँ, चिज, छुर्पी लगायतका परिवार बनाएर बिक्री गर्ने गरिन्छ । याकचौरीको पुच्छर पूजाआजामा प्रयोग हुन्छ ।
सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया