पोखरा महानगरले स्वरोजगार कोषमार्फत साढे ७ सयलाई स्वरोजगार बनाउने
पोखरा ।
पोखरा महानगरपालिकाका युवा लक्षित गरी युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत ७ सय ५० युवालाई स्वरोजगार बनाइने भएको छ । यसका लागि पोखरा महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममार्फत ५ करोड रुपैयाँ विनियोजन गरिसकेको छ ।
युवा स्वरोजगार कोष र मुक्तिनाथ विकास बैंकको तर्फबाट पाँच/पाँच करोड रुपैयाँसहितको सहकार्यमा १५ करोडको कोषमार्फत कार्यक्रम सञ्चालन गरिने भएको हो । उक्त कोष सञ्चालन गर्न त्रिपक्षीय सम्झौताका लागि सैद्धान्तिक सहमति जुटेको पोखरा महानगरका मेयर धनराज आचार्यले जानकारी दिए । हालै युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारी, मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेल र महानगरका मेयर आचार्यबीच कोषमार्फत कार्यक्रम छिट्टै आगडि बढाउने सहमति भएको छ ।
मेयर आचार्यले यसका लागि छिट्टै बसेर औपचारिकता दिइने जानकारी दिए । उक्त कोषमार्फत कृषि क्षेत्रमा लागेका युवा उद्यमीलाई प्राथमिकता दिइने र लगानी गरिने प्रमुख आचार्यले बताए । साथसाथै कृषि उद्यमको माध्यमबाट रोजगारीसमेत अभिवृद्धि हुने उनले बताए । ‘हालै युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक र मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृतज्यूसँग बसेर कृषि उद्यम लक्षित गर्दै स्वरोजगार कोषमार्फत युवालाई प्रोत्साहन गर्ने सम्बन्धमा सहमति भएको छ । यसमा हामी तीन वटै पक्षले बराबर रकम जग्मा गर्ने छौं र बैंकमार्फत नै यसलाई अगाडि बढाउने योजनामा छौं,’ मेयर आचार्यले भने ।
युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले आगामी ४ वर्षसम्म यो कार्यक्रमलाई अगाडि बढाउने उद्देश्यका साथ आफूहरु अगाडि बढेको बताए । ‘यो कार्यक्रममार्फत तल्लो वर्ग र बेरोजगार युवालार्ई समेट्ने योजना हो,’ उनले भने । कार्यकारी निर्देशक अधिकारीले उक्त कोष अगाडि बढाउनका लागि अब औपचारिक सम्झौता गर्ने तयारीमा आफूहरु रहेको उनले बताए । कार्यक्रम सम्झौता भएर कार्यान्वयनमा जान कम्तीमा १ महिना लाग्नेछ ।
तपाईको प्रतिक्रिया