रोजगार मेलामा तालिम र रोजगारबारे परामर्श
पोखरा ।
पोखरा काजीपोखरीकी छनमाया गुरुङ किसान हुन् । उनी व्यवसायीक रुपमा तरकारी खेती गर्छिन् । गुरुङ शनिबार गण्डकी प्रदेश सरकारको शिक्षा सामाजिक विकास मन्त्रालयले आयोजना गरेको रोजगार मेलामा भेटिइन् । मेलामा उनले आफ्नो रोजाइको विरुवा उत्पादन गर्ने तलिम लिने ठाउँ भेटिन् । उनलाइ परामर्श दिँदै थिए धौलागिरी बहुउद्देश्यीय शिक्षालय बागलुङका सूचना अधिकारी शिवराज पाठक । छनमाया जस्तै सयौंले मेलामा परामर्श लिएका छन् ।
मेलामा निशुल्क तालिम दिने कृषि, घरेलु, पर्यटन क्षेत्र, होटल क्षेत्र, घरेलु उद्योग र मुद्रण व्यवसायका २० भन्दा बढी स्टल छन् । उनीहरुको एउटै उद्देश्य छः मानिसलाई स्वरोजगारका साथै उद्यमी बनाउनु । अदक्ष र अर्धदक्षलाई तलिम दिनुका साथै दक्षलाई सीप प्रमाणीकरणको साथै वित्तीय परामर्श पनि दिने गरिएको छ । नेपाल व्यवसायीक योग्यता प्रणलीका प्रतिनिधि प्रेम मग्रातीका अनुसार सीप परिक्षण समितिले ३ सय १ व्यवसायको सीप प्रमाणीकरण गर्छ । मंग्रातीले भने, ‘भोलि रोजगार मेलामा नै आएर पनि बुझ्न सक्नुहुन्छ ।
यसपश्चात शिक्षा संस्कृति विज्ञान प्रविधि मन्त्रालयमा रहेको नेपाल व्यवसायिक योग्यता प्रणाली परियोजना कार्यालयमा सम्पर्क गर्नुहोस् ।’ गण्डकी प्रविधिक शिक्षा तथा व्यवसायिक तलिम प्रतिष्ठानका अधिकृत मोती पोखरेलले प्रतिष्ठानले बजारमा माग भए अनुसारका सबैजसो तलिम चलाउने बताए । युवाको रोजाइमा पर्ने होटल तलिमबारे बुझ्न मेलामा भीड देखियो । होटल तालिम प्रदायक संघ नेपालका प्रतिनिधि ओम गुरुङका अनुसार मेलामा सहभागीलाई होटलका विभिन्न विधामा ३, ६ र १८ महिने तालिमबारे जानकारी दिइएको सुनाए ।
मौरीपालन बारे बेगनास मौरी घार उद्योगका सञ्चालक सूर्यप्रसाद लामिछानेले परामर्श दिएका छन् । सञ्चालक लामिछानेका अनुसार महसँगै मौरीको ‘कुट’, ‘रोयल जेली’, चोप र मैनको पनि बजारमा उच्च माग छ । ‘मौरीपालन तलिम लिँदा ३ दिनमा निपुण भइन्छ,’ उनले भने, ‘तर एकैप टक ५० ६० वटा घारबाट भने सुरुवात गर्ने होइन, मौरीको स्वभाव र वातावरण अनुकूल छ कि छैन । एउटा घार लगेर परीक्षण गर्नुपर्छ ।’
व्यवसायिक किट विकास केन्द्रका गोविन्द गौलीले केन्द्रले बेला बेलामा मौरी पालनसम्बन्धी निशुल्क तालिम आयोजना गर्ने भएकाले इच्छुकलाई केन्द्रमा सम्पर्क गर्न आग्रह गरेका छन् । हस्तकला उद्योगबारे पनि मेलामा धेरैको चासो देखियो । यो सिक्न चाहनेहरु महिला सीप विकास संस्थाको स्टलमा बाक्लै देखिए । त्यहाँ व्यवसायीहरु तान बुन्दै थिए । संस्थाकी प्रतिनिधि भगवती ढकालले नेपालको हस्तकलाका मुख्य ग्राहक पर्यटक भएको बताइन् ।
‘नेपाली हस्तकालको माग अमेरिका, इटाली, ताइवान, कोरिया जापान लगायत थुप्रै मुलुकमा छ,’ ढकालले भनिन्, ‘अहिले नेपालको जनशक्तिले धानेको छैन, ठूलो जनशक्तिको खाँचो छ ।’ हस्तकला सिक्न इच्छुकलाई सित्तैमा सिकाइने उनले जनाइन् । नेपाल सुन चाँदी रत्न तथा आभूषण व्यवसाय संघ कास्कीको स्टल पनि केही दर्शक भेटिए । संघका अध्यक्ष रामबहादुर विश्वकर्माका अनुसार बंगाली शैलीका सुन तथा चाँदीका गहनाले नेपाली मौलिक शैलीलाई विस्थापित गरेको जनाए ।
‘बंगाली कालिगढले नेपालीलाई आफ्नो कला सिकाउँदैन्न,’ उनले भने, ‘नेपाली शैलीका गहना बचाइराख्न सुनचाँदी कालिगढलाई व्यवसायिक बनाउन सिटिइभिटी अन्तर्गतको पाठ्यक्रममा समावेश गर्नुपर्छ ।’ दक्ष कालिगढ नहुँदा व्यवसायमा निकै कठिनाइ हुने गरेको उनले सुनाए ।
तपाईको प्रतिक्रिया