सम्पादकीय: महामारीको नयाँ लहरको जोखिम

समाधान संवाददाता २०७९ साउन ८ गते १२:०१

देशमा कोरोना संक्रमणको दर फेरि बढ्न थालेको छ । ४ महिनायता पहिलोपटक कोरोना संक्रमण दर उच्च बिन्दुमा पुगेको छ । दैनिक ३ सयभन्दा बढी संक्रमित थपिन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमण दर १० प्रतिशतभन्दा बढी छ । शनिबार थप ४ सय ५६ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । अहिले सक्रिय संक्रमित २ हजार ८ सय ४१ जना छन् । शुक्रबार आइसियुमा २२ जना संक्रमित उपचाररत छन् । मन्त्रालयका अनुसार गत २४ घण्टामा ८० जना संक्रमित निको भएका छन् । उक्त अवधिमा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । यही दरले बढ्दै जाने हो भने कोरोना महामारीको चौथो लहर सुरु हुने जनस्वास्थ्यविद्हरूको चेतावनी छ ।

Advertisement

तेस्रो लहरमा संक्रमितको संख्या उच्च बिन्दुमा पुगेर घट्दै दैनिक सात/आठ जनासम्म मात्रै संक्रमित हुँदै आएको अवस्थामा पछिल्लोे समय संक्रमितको ग्राफ पुनः लगातार उकालो लागेकाले चौथो लहर सुरु हुनसक्ने उनीहरुको आकलन छ ।
संक्रमणदर बढेपछि रोकथाम र नियन्त्रणका लागि गण्डकी प्रदेश सरकारले तयारी थालेको छ । सरकारको बैठकले सबै सरकारी, गैरसरकारी कार्यालय तथा मानिसको भीडभाड हुने स्थान, विश्वविद्यालय, विद्यालय र शिक्षण संस्था, धार्मिक स्थल र नियमित भीडभाड हुने प्रकृतिका व्यावसायिक तथा मनोरञ्जन स्थलका साथै गोष्ठी, सेमिनार, बैठक जस्ता मानिसको जमघट हुने कार्यक्रममा अनिवार्य मास्क लगाउने, सेनिटाइजरको व्यवस्था गर्ने जस्ता जनस्वास्थ्यका मापदण्डको अनिवार्य पालना गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको छ ।

संक्रमण रोकथाम र जोखिम नियन्त्रणका लागि गण्डकी प्रदेशका अस्पताल र स्वास्थ्य संस्थामा आवश्यक औषधी, औजार÷उपकरण एवं जनशक्तिको व्यवस्थापन जस्ता कुरामा तयार रहन निर्देशन दिइएको छ । कोरोना संक्रमणका कारण विश्वको मानव समुदाय र नेपालीले भोग्नुपरेको सास्तीको हामी भुक्तभोगी छौं । अहिलेसम्म यसबाट ६३ लाख ६१ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । संक्रमणकै कारण थिलोथिलो भएको विश्वको अर्थतन्त्र अझै उठ्न सकेको छैन । नेपालमा आर्थिक संकटको मुख्य कारण कोरोना नै हो । नेपालमा वैदेशिक डलरको सञ्चिति घट्दै जाँदा आर्थिक संकट आउने हो कि भनेर आशंका गर्न थालिएको छ । यो संकटको सामना मूलतः स्थानीय सरकारले गर्नुपर्ने भएकाले स्थानीय अहिले नै तयारी नथाल्ने हो भने पुनः संक्रमण बढ्दै गयो भने स्थिति नियन्त्रणबाहिर जान सक्छ । खोप, स्वास्थ्य मापदण्डको पालना, संक्रमण बढे आवश्यक पर्ने जनशक्ति र स्वास्थ्य संस्थाको तयारीमा लाग्नैपर्छ । बारम्बार पछुताउने छुट हामीलाई छैन ।

Advertisement

तपाईको प्रतिक्रिया