
जोमसोम ।
तिब्बतसँग सीमाना जोडिएको मुस्ताङको उत्तरी कोरलानाका स्थित ३३ नं. सीमा स्तम्भ पत्ता लागेको छ । हालसम्म मुस्ताङको उत्तरी कोरला नाकाको १६ वटा सीमा स्तम्भमध्ये ३३ नं. सीमा स्तम्भको लोकेसन अज्ञात थियो ।
नेपाली सेनाको पहलमा स्थानीय २ युवाको सक्रियतामा ३३ नं. सीमा स्तम्भ पहिचान गरिएको हो । यसअघि कोरला नाकाको मनाङतर्फ पर्ने २३ नं. सीमा स्तम्भ १८ नंं सीमा स्तम्भको पहिचान गरिएको थियो भने डोल्पातर्फ पर्ने २५ नं. सीमा स्तम्भदेखि ३२ नं. सीमा स्तम्भसम्मको पहिचान गरिएको थियो ।
लोघेकर दामोदरकुण्ड ४ घाराका छिदेधार्जे गुरुङ र पासाङ गुरुङले सीमा स्तम्भ पत्ता लगाएका हुन्
यसअघि भेटिन नसकेको उत्तरी कोरलाक्षेत्रको ३३ नं. सीमा स्तम्भ भने हालै भेटिएको हो । तत्कालिन सिडिओ वेदप्रकाश अर्यालय, हिरादेवी पौडेल र अहिलेका सिडिओ नेत्रप्रसाद शर्माको कार्यकालमा सुरक्षा निकाय र प्रशासनको टोलीले १८ देखि ३२ नं सीमा स्तम्भ पटक पटक अनुमगन तथा निरीक्षण गरेको थियो । जोमसोम स्थित नेपाली सेनाको नारायण दल गणको पहलमा स्थानीय सूचकको प्रयोग गरीसीमा स्तम्भ पत्ता लगाउने कामको जिम्मा युवालार्ई दिइयो ।
लोघेकर दामोदरकुण्ड ४ घाराका छिदेधार्जे गुरुङ र पासाङ गुरुङले ३३ नं सीमा स्तम्भ पत्ता लगाएका हुन् । बिहानै ३ बजेतिर दुई घोडामा चढेर उनीहरु सीमा स्तम्भ खोज्न हिडेका थिए । उनीहरु १२ घण्टाको कठिन यात्रा तय गर्दै ३३ नं. सीमा स्तम्भ पुगेका थिए । स्तम्भ पत्ता लगाएर उनीहरु बेलुकी ९ बजे घर आइपुगेका थिए । सुरक्षा निकायले पत्ता लगाउन नसकेको सीमा स्तम्भ स्थानीय २ युवाले २ दिनमै पत्ता लगाएका हुन् । ३३ नं. सीमा स्तम्भ खोज्न हिडेका युवा त्यहाँ पुगेपछि चाइनिज भाषामा लेखिएको र नेपाली भाषामा लेखिएको दुईतर्फ मोहडाको तस्बिरसमेत खिचेका छन् ।
सेनाको आदेश पाएर सीमा स्तम्भ खोज्न हिडेका दुई युवाले २ वटा तस्बिर सुरक्षा निकाय र प्रशासनलाई उपलब्ध गराएका छन् ।
छिदे धोर्जे गुरुङ भन्छन्, ‘हामीलाई सेनाले जिम्मा दियो । कठिन यात्रापछि हामी ३३ नंं मा पुग्यौं । जुन स्थान भौगोलिक रुपले अत्यन्तै विकटमा छ । त्यहाँ पुग्दा गौरव महसुस भयो ।’ उनले उत्तरी कोरलाको ३३ नंं सीमा स्तम्भ रहेको स्थानमा २ पहाड र खाल्डोमा सीमा स्तम्भ रहेको जानकारी दिए । ‘३३ नं. को केही ओरालो लागे चीनको तिब्बती भूमीमा खुला समथर पफाँट छ ।
सीमा स्तम्भ रहेको ठाउँमा सुख्खा ग्रेग्रानसहितको फाँट छ,’ उनले भने,‘ त्यहाँको सीमा स्तम्भ नजिकै चीनको सुरक्षा पोस्ट देखियो, जहाँ चिनियाँ पक्षका सुरक्षाकर्मी देखिन्थे ।’ गुरुङले ३३ नं. सीमा स्तम्भ नजिक नेपाल–चीनको सीमाना कुनै तारबार नदेखिएको जानकारी दिए । मुस्ताङका १६ सीमा स्तम्भमध्ये हालै भेटिएको ३३ नं. सीमा स्तम्भ पुग्न पैदलयात्रा गर्दा ३ दिन लाग्ने र घोडामा गए २ दिन लाग्ने अर्को युवा पासाङ गुरुङले बताए । मुस्ताङको प्रसिद्ध धार्मिक स्थल दामोदरकुण्डको उचाइ ४८ सय मिटर छ । तर, नेपाल–चीन सीमानाको ३३ नंं सीमा स्तम्भ दामोदरकुण्डभन्दा माथि छ ।
कोरला नाकाको ३३ नं. सीमा स्तम्भको उचाइ करिब ५ हजार ५ सय मिटर छ । कोरलाका१५ वटा सीमा स्तम्भ २०१९ सालमा बनाइएको थियो । ३३ नंं. सीमास्तम्भ भने २०४५ सालमा बनाइएको सीमा स्तम्भमा उल्लेख भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । १८ नं. देखि ३२ नंं सीमा स्तम्भ बनेको २३ वर्षपछि ३३ नं. सीमा स्तम्भ निर्माण भएको देखिन्छ ।
प्रजिअ शर्माले यसअघि सशस्त्र बोर्डर आउट पोस्ट बिओपीले ३३ नं. सीमा स्तम्भ पहिचान गर्ने प्रयास गरे पनि मौसम प्रतिकूलता र खराब मौसमका कारण पत्ता लाग्न नसकेको बताए । ‘भौगोलिक पहिचानका लागि स्थानीय बढी जानकार हुन्छन् । यसैले हामीले स्थानीयलाई सीमा स्तम्भ पत्ता लगाउन भन्यौैं,’ प्रजिअ शर्माले भने, ‘अब स्थानको निक्र्योल भइसकेको छ । भदौ महिनाभित्र प्रशासन र सुरक्षा टोली ३३ नं सीमा स्तम्भमा पुगेर रिपोर्टिङ गर्नेछ ।’
यता, जोमसोम स्थित नारायण दल गणका गणपति प्रमुख सेनानी ईन्द्रबहादुर गुरुङले पनि ३३ नंं. सीमा स्तम्भ भेटिएको पुष्टि गरे । ‘हामीले सीमा स्तम्भ खोज तलास गर्ने अख्तियारी स्थानीय युवालाई दिएका थियौं, प्रमुख सेनानी गुरुङले भने, ‘उनीहरुले सीमा स्तम्भ पत्ता लगाएर फोटोसमेत पठाएका छन् । हामीले फोटो र यसको जानकारी केन्द्रमा पठाइसकेका छौं ।’ चाडै त्यहाँ पुगेर स्थितिको विस्तृत जानकारी लिई केन्द्रमा पठाइने उनले सुनाए ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया