एमालेलाई पहिलो बनाउन अभियान सुरु

समाधान संवाददाता २०७९ साउन ९ गते १०:४०

पोखरा ।
नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले आगामी आम निर्वाचनलाई केन्द्रीत गरी आइतबारदेखि प्रशिक्षणात्मक अभियान सुरुवात गरेको छ । प्रतिनिधि तथा गण्डकी प्रदेशको निर्वाचनबाट प्रदेशमा पहिलो शक्तिको रुपमा पार्टीलाई स्थापित गर्न अभियान थालेको हो ।

Advertisement

कमिटीले सुरुवातमा प्रदेश स्तरीय प्रशिक्षण गरेर साउन महिनाभरीमा जिल्ला, पालिका हुँदै वडा टोल स्तरसम्म पुर्‍याउने योजनाअघि सारेको छ । पार्टीका केन्द्रीय कमिटी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले स्थानीय तहको निर्वाचनमा प्रदेशमध्ये अब्बल बनेको गण्डकीले आगामी निर्वाचनमा समेत बाजी मार्ने विश्वास व्यक्त गरिन् । उनले स्थानीय तहको निर्वाचनमा भएका कमी, कमजोरी सुधार गर्दै प्रदेशलाई लालकिल्ला बनाउने गरी लाग्न निर्देशन दिइन् ।

सानातिना सबै कुरा छोड्नुस् । गण्डकीलाई लाल किल्ला बनाउन योजनाबद्ध ढंगले लाग्नुस् ।
अष्टलक्ष्मी शाक्य
एमाले उपाध्यक्ष

‘गत चुनावी परिणाममा मध्ये गण्डकी अब्बल देखियो । संरचनात्मक हिसाबले हेर्ने हो भने पनि गण्डकीले बाजी मारेको छ,’ उपाध्यक्ष शाक्यले भनिन्, ‘पार्टी बलियो भए सबैलाई भाग पुग्छ । सानातिना सबै कुरा छोड्नुस् । गण्डकीलाई लाल किल्ला बनाउन योजनाबद्ध ढंगले लाग्नुस् ।’ उपाध्यक्ष शाक्यले इमान्दार कार्यकर्ताको ठूलो पंक्ति र एमालेको धरातल र आधार बलियो भएका कारणले चुनाव जित्न सकिने तर्क पेश गरिन् ।

उनले पार्टी निर्माणमा अहिलेदेखि नै एकताबद्ध भएर लागेमा आम निर्वाचनमा सफलता हासिल गर्न सकिने उल्लेख गरिन् । पार्टीलाई एकताबद्ध र बलियो बनाएर मात्र देशको मुहार फेर्न सकिने उनले बताइन् । वर्तमान सत्ता गठबन्धन नीति, विचार र सिद्धान्तका कारण नभएर एमालेलाई कमजोर बनाउन लागेको आरोप लगाउँदै उपाध्यक्ष शाक्यले आन्तरिक एकतालाई सुदृढ बनाएर सत्ता गठबन्धनलाई परास्त गरेर प्रमाणित गर्नुपर्ने उल्लेख गरिन् । पार्टीको मुल कुरो संगठन भएको चर्चा गर्दै उनले संगठनलाई चुस्त, दुरुस्त, व्यवस्थित बनाउन राजनीतिक प्रशिक्षण नदिए पार्टी कमजोर हुने औंल्याइन् ।

Advertisement

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले राष्ट्रियताको रक्षा तथा समाजवादमा जाने आधार तयार गर्न वर्तमान सत्ता गठबन्धनलाई तोड्नुपर्ने बताए । उनले चुनाव जित्नका लागि मात्र नभएर सबै क्षेत्रमा समाजवादमा जाने आधार तयार गर्ने र राष्ट्रिय पुँजीको विकास गर्नुपर्नेमा जोड दिए । नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन प्रतिगामी, समाजवाद तथा राष्ट्रियता विरोधी भएको आरोप लगाउँदै नेता गुरुङले राष्ट्रियताको रक्षा र अग्रगमनका लागि प्रगतिशलि गठबन्धन कायम गर्नुपर्ने उल्लेख गरे ।

उनले सबै पालिकाले सबै पुराना कानुन खारेज गरेर नयाँ व्यवस्था अनुसारको कानुन निर्माण गरी समाजवादमा जाने आधार तयार गर्न जनप्रतिनिधिलाई निर्देशन दिए । उनले नयाँ कानुन र संरचना निर्माण गर्न पार्टीले निर्देशन गर्नुपर्ने बताए । नेता गुरुङले पार्टीको निर्देशनमा पालिका तथा गाउँ सभा दलको विधान तयार गरी काम गर्नुपर्ने जानकारी दिए । एकापसमा समन्वय र सामूहिक रुपमा प्रयास गरे पार्टी र जनप्रतिनिधिको अन्तर सम्बन्ध व्यवस्थित हुने र गरेको ठोस काम देखाउन सकिने उनले उल्लेख गरे ।

एमाले सचिव तथा गण्डकी प्रदेश इन्चार्ज पद्माकुमारी अर्यालले सबै नेता तथा कार्यकर्ताले आफ्नो सामथ्य विकास गरी एक्लै प्रतिस्पर्धा गर्ने मानसिकता तयार गर्नुपर्ने बताइन् । उनले आगामी निर्वाचनमा एक्लै भिड्ने र एकल सरकार बनाउने बनाउने योजनाका साथ अगाडि बढ्नुपर्ने खाँचो औंल्याइन् । स्थानीय तहको निर्वाचनमा भएको हारको धङधङीबाट मुक्त भएर जीतको मानसिकतामा रुपान्तरण हुन कार्यकर्तालाई निर्देशन दिइन् ।

नेपाली कांग्रेस एक्लै चुनाव लड्न नसक्ने निश्कर्षमा पुगेको अवस्थामा एमालेमा शक्ति नचिन्ने हनुमान प्रवृत्ति देखिन नहुन उनको तर्क छ । उनले स्थानीय तहको निर्वाचनको शिक्षा र लिनुपर्ने शिक्षा लिएर सफलताका लागि अगाडि बढ्नुपर्ने खाँचो औंल्याइन् ।
पार्टीका स्थायी समितिका सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारीले पार्टी कमिटीलाई सशक्त र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । भूमिगत काल र अहिलेको पार्टी कमिटीका रुप र ढाँचा गलत भएको उल्लेख गर्दै उनले केन्द्रीय कमिटीको फैसला सबैले कार्यान्वयन गर्नुपर्ने बताए ।

पार्टी प्यालेस तथा चारतारे होटलमा पार्टीका गतिविधि भएता पनि जनतामा झुपडीमा जान बिर्सन नहुने उनले उल्लेख गरे ।
नेता अधिकारीले पार्टीलाई आधारभूत तहमा लैजान तथा मुल मन्त्र वर्गीय पक्षधरतालाई बिर्सन नहुने बताए । पार्टीको आन्तरिक अन्तरविरोध पनि हल गर्ने विधि हुने जानकारी दिँदै उनले विधिसम्मत निर्णयमार्फत गुटबन्दी अन्त्य गर्न सकिने बताए । माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता दल समाजवादीले बनाउने समाजवादी केन्द्रको औचित्य नभएको उनको दाबी छ । नेता अधिकारीले समाजवादी केन्द्र कांग्रेसको सेवा केन्द्र बन्ने आरोप लगाए ।

पार्टीका केन्द्रीय अनुशासन आयोग सचिव प्राडा भरतराज पहारीले पार्टीका नेता तथा कार्यकर्ताले इमान्दारिता र गोपनियता कायम गर्नुपर्ने बताए । नैतिक आचरण र अनुशासन कायम गरेमा पार्टीको संगठन बलियो बन्ने उल्लेख गर्दै उनले आयोगले आचारसंहिता निर्माण गरेको जानकारी दिए । कार्यक्रममा नेकपा (एमाले) गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा, उपाध्यक्ष मोहनप्रसाद रेग्मी र सचिव धनञ्जय दवाडीले पार्टीको देशव्यापी अभियानका क्रममा प्रदेशमा समेत गतिविधि गर्ने उल्लेख गरे ।

तपाईको प्रतिक्रिया