स्वतन्त्र पत्रकारको राष्ट्रिय भेला

समाधान संवाददाता २०७९ साउन ९ गते १२:५५

पोखरा ।
स्वतन्त्र पत्रकार संघ नेपालको जिल्ला शाखाका अध्यक्ष तथा सचिवहरुको राष्ट्रिय भेला पोखरामा सम्पन्न भएको छ ।
भेलाले संगठन सुदृढ तथा विस्तार गर्ने लगायत पत्रकारहरुका हकहिताका विषयमा विभिन्न निर्णय गरेको संघका महासचिव महेशविक्रम कुँवरले जानकारी दिए ।

Advertisement

भेलाको उद्घटान संघका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले गरेका थिए । त्यस अवसरमा अध्यक्ष बास्तोलाले स्वतन्त्र पत्रकारिता गर्ने मात्र पत्रकार हुने बताउँदै पत्रकारको कार्ड भिर्दैमा कोही पत्रकार बन्न नसक्ने बताए । ‘सत्यतथ्य समाचार प्रस्तुत गर्न पत्रकार स्वतन्त्र हुनै पर्छ,’ उनले भने, ‘पत्रकारिता जस्तो विशिष्ट तथा मार्यादित पेसा छाडेर राजनीतिक संगठनमा आबद्ध हुनेले भोलिपश्चाताप गर्नुपर्ने दिन आउन सक्छ ।’ कतिपय अवस्थामा छद्मभेषीहरुलाई पनि पत्रकार भन्ने गरिंदा पत्रकारको गरिमामा आँच पुगेको पनि बास्तोलाले बताए ।

संघका उपमहासचिव सुरेश श्रेष्ठले संस्थालाई व्यवस्थित गर्दै अगाडि बढ्नुपर्ने बताए । संघका २९ जिल्ला शाखा र राष्ट्रिय समितिका सहित ७५ जना पत्रकार आमन्त्रित उक्त भेलामा सहभागीले विभिन्न सुझावहरु राखेका थिए । भेलामा संघको कास्की शाखाका अध्यक्ष असफल गौतम, काठमाडौं शाखाका अध्यक्ष पुष्करराज पाण्डे, तनहुँ शाखाका अध्यक्ष सुरेश सुनार, ललितपुरका अध्यक्ष उपेश नौबाग, मकवानपुरका अध्यक्ष गोकुल अधिकारी, पाल्पा शाखाका अध्यक्ष भोजराज भट्टराई, अछामका विष्णुबहादुर खड्का लगायतले आ–आफ्नो जिल्लाको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संघका उपाध्यक्ष लक्ष्मी गुरुङ (तिर्सना) ले स्वागत मन्तव्य राखेको कार्यक्रम उपमहासचिव कल्याण पन्तले सञ्चालन गरेका थिए । कार्यक्रमको दोस्रो दिन शनिबार भेलाका सहभागिहरुलाई पोखराका विभिन्न स्थलको अवलोकन भ्रमण गराइएको थियो । त्यस अवसरमा पत्रकारहरुले फेवाताल, विन्ध्यवासिनी मन्दिर, पुम्दीकोटको विशाल महादेव मूर्ति र छोरेपाटनको गुप्तेश्वर गुफा अवालोकन गरेका थिए । यसैगरी पत्रकारहरुले पोखराको पृथ्वीनारायण क्याम्पस पुगी नेपाली विभागद्वारा सञ्चालित पुस्तकालयबारे जानकारी लिएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया