
जोमसोम ।
मुस्ताङको थासाङ गाउँपालिकाले करार सेवामा कार्यरत ३२ कर्मचारीको म्याद थप गरेको छैन । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत भर्ना भएका कर्मचारीको म्याद अहिलेसम्म थप नभएको थासाङ गाउँपालिकाले जनाएको छ ।
३२ असारमा बसेको कार्यपालिका बैठकले करारका कर्मचारीलाई फेरि नियुक्त गर्ने बिषयमा निर्णय नभएकाले उनीहरुको म्याद स्वतः समाप्त भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले अनावश्यक खर्च कटौती गरी विकास योजनामा बजेट परिचालन गर्ने, भइरहेको खर्च घटाउँदै जाने र गाउँपालिकालाई आवश्यक परेमात्र करार सेवामा कर्मचारी नियुक्त गर्ने जनाएको छ ।
नयाँ २ कर्मचारी करारमा भर्ना गरेको पालिकाले ३२ कर्मचारीको म्याद थप गरेन
थासाङमा अहिले ४२ स्थायी कर्मचारी छन् । यो निर्णयबाट अलावा संघ/प्रदेश र स्थानीय तहको स्रोतबाट करारमा भर्ना गरिएका ३२ करार सेवाका कर्मचारी रुष्ट बनेका छन् । थासाङ गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को असार मसान्तमा म्याद सकिएका करार सेवाका कर्मचारीलाई पुन: म्याद थप्ने वा नथप्ने भन्ने विषयमा अझै ठोस निर्णय गर्न सकेको छैन । थासाङ गाउँपालिकाले ५ वटै वडाका कार्यालय सहयोगी, स्वास्थ्य संस्था र गाउँपालिकामा कार्यरत १३ कार्यालय सहयोगीको म्याद थप गरेको छैन ।
स्वास्थ्य शाखामा कार्यरत चौथो र पाँचौं तहका ४ कर्मचारीको म्याद पनि थपिएन । गाउँपालिकाको कृषि र पशु शाखाका ४, आइटी अफिसर १ जना, एम्बुलेन्स चालक १ जना र लघु उद्यम विकास सहजकर्ताको म्याद सकिएको साता बितिसक्दासमेत पालिकाले ठोस निर्णय दिएको छैन । थासाङले चालु वर्षको साउनको ६ गते पशु शाखातर्फ २ प्राविधिक कर्मचारी थप गरेको छ । गाउँपालिकाले करार सेवाका लागि तोकिएर नआएको वित्तीय समानिकरणको रकम गाउँपालिका अन्तर्गत हुने भएकाले बढ्दो व्ययभार कर्म गर्न करार सेवाका कर्मचारीको म्याद थप नभएको सूचना अधिकारी लालप्रसाद पौडेलले जानकारी दिए ।
गाउँपालिकाले करार सेवाका कर्मचारीको म्याद थप गर्ने वा नगर्ने ठोस निर्णय भएको छैन । यस विषयमा कार्यपालिकाले नै निर्णय गर्ने हो । गाउँपालिकाले राख्न पनि सक्छ, हटाउन पनि सक्छ,’ उनले भने ।’ थासाङमा करार अवधि सकिएका ३२ कर्मचारीले गत असार ३१ गते प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र सुवेदीलाई ज्ञापनपत्र बुझाएका थिए । उनीहरुले म्याद थप गर्न माग गरेका थिए ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया