घरपझोङ पालिकामा उपचारअघि क्रिस्चियन प्रार्थना

सुन्दरकुमार थकाली २०७९ साउन १० गते १४:०६

जोमसोम ।
मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीको चर्चमा आइतबारदेखि दुईदिने चौथो स्वास्थ्य अकुपञ्चर शिविर सुरु भएको छ । नयाँ आशा मण्डली जोमसोमको आयोजनामा करिब १२ जना कोरियाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको प्राविधिक सहयोगमा प्राकृतिक चिकित्सा पद्धतिको स्वास्थ्य अकुपञ्चर शिविर सञ्चालन गरिएको हो ।

शिविरमा बिहान १० बजेबाट बेलुकी ५ बजेसम्म उपचार हुने छ । शिविरमा विभिन्न समस्याले आएका बिरामीको उपचार गर्नुअघि र उपचार सकिने बेलामा कोरियाली चिकित्सक तथा स्वास्थ्यकर्मीले ५ मिनेट क्रिस्चियन धर्मका प्रार्थना गर्ने गरेको पाइएको छ ।

नसा सम्बन्धी, हाड जोर्नी, माइग्रेन, स्ट्रोक, नसाको कारण पिसाबमा हुने समस्या, अनिन्द्रा, बाथ, महिनावारीको बेला लाग्ने रोग र मोटोपना लगायत रोग निको पार्ने उद्देश्यले स्वास्थ्य शिविर आयोजना भएको नयाँ आशा मण्डली चर्चका पास्टर मंगल विकले जानकारी दिए । उनका अनुसार प्राकृतिक अकुपञ्चर रोग हेर्ने कोरियन चिकित्सक किमयुङ ओकेसहित १२ जना कोरियन टोली स्वास्थ्य शिविरका लागि शुक्रबार मुस्ताङ आएका हुन् ।

Advertisement

उनीहरूसँग केही नेपाली स्वास्थ्य स्वंयसेवक टोलीसमेत छन् । नयाँ आशा मण्डली चर्चको आयोजनामा भएको स्वास्थ्य शिविरमा कोरियन स्वास्थ्यकर्मीहरूको प्राविधिक सहयोग र निःशुल्क औषधि वितरण गरिएको बताइएको छ ।
यसमा सबै खर्च कोरियाली टोली नै गर्नेछ । चर्चमा उपचार गर्न आउने बिरामीलाई खाजा र खानाको व्यवस्था समेत गरिएको पास्टर विकले बताए । यसअघि आयोजक टोलीले घरपझोङ गाउँपालिकासँग शिविर सञ्चालनका लागि लिखित अनुमति लिएको थियो ।

शिविरको ब्यानरमा चौथो अकुपञ्चर स्वास्थ्य शिविर लेखिएको छ भने त्यसपछि ब्यानरको तल भागमा क्रिश्चियन धर्मको श्लोगन उल्लेख गरिएको छ । कोरियन स्वास्थ्यकर्मी तथा चिकित्सक सम्मिलित चौथो अकुपञ्चर शिविरमा झन्डै ५ सयभन्दा बढी बिरामी लाभान्वित भएको पास्टर विकले बताए । चिनियाँ पद्धतिको रूपमा चिनिने अकुपञ्चर पछिल्लो समय नेपालमा पनि भित्रिएको हो । अकु भनेको सियो र पञ्चर भनेको सियोले खोपेर रोग निदान गर्ने भन्ने बुझिन्छ ।

Advertisement

यस प्रकारको विधिबाट उपचार गर्दा कुनै एन्टिबायोटिक औषधि प्रयोग गर्न पर्दैन । जसले गर्दा बिरामीलाई एकदमै कम साइड इफेक्ट गर्छ । यस पद्धतिबाट उपचार गर्दा एकजना व्यक्तिलाई आधा घण्टादेखि ४५ मिनेटको समय लाग्छ । नयाँ आशा मण्डली चर्चका पास्टर विकले चर्चमा स्वास्थ्य शिविर सञ्चालन भएपनि यो विशुद्ध स्वास्थ्य शिविर भएको दावी गरे ।
‘हामीले बिरामीलाई नशा र हाडजोर्नी सम्बन्धी समस्या भएकालाई उपचार गरेका छौं,’ उनले भने, ‘यो कुनै धर्म प्रचार गर्न बहाना होइन । हामीले दिएको स्वास्थ्य सेवामा ५ वटै तहका विभिन्न रोगका बिरामी आएर सेवा लिएका छन् । उनीहरूले उपयुक्त स्वास्थ्य परामर्श पनि दिने गरिएको छ ।’

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया