पोखरा ।
मादी गाउँपालिकाले सामाजिक परिचालकको म्याद नथप्ने निर्णय गरेको छ । गाउँपालिकाले करारमा कार्यरत सामाजिक परिचालक गीता सापकोटा, राममाया आले र धनमाया गुरुङको म्याद नथप्ने निर्णय गरेको हो । गाउँपालिकामा सामाजिक परिचालकको दरबन्दी नभएकाले परिचालकहरुलाई हटाइएको गाउँपालिका अध्यक्ष देवीजंग गुरुङले बताए ।
‘गाउँसभाले कार्यदक्षता, कार्यसम्पादन र दरबन्दीको आधारमा करार कर्मचारी राख्ने/नराख्ने निर्णयको अधिकारलाई गाउँपालिकालाई दिएको छ, गाउँपालिकाले दरबन्दीका आधारमा थपघट गरेका हौँ,’ उनले भने, ‘सामाजिक परिचालकमा दरबन्दी नहुँदा कर्मचारी कटौती गरेका छौँ ।’ दरबन्दीका आधारमा केही कर्मचारी घटबढ हुन सक्ने उनले बताए ।
मादीले दरबन्दी नभएको भन्दै २२ वर्षदेखि कार्यरत करारका कर्मचारी हटाएको छ
महालेखा परीक्षकको प्रतिवेदनले गाउँपालिकामा बिना दरबन्दी सामाजिक परिचालक रहेको भन्दै बेरुजु देखाएको छ । प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाका अनुसार महालेखा परीक्षकले सामाजिक परिचालकमा बेरुजु देखाएको भन्दै कानुन अनुसार सामाजिक परिचालकलाई हटाइएको बताए । ‘गाउँपालिकामा सामाजिक परिचालको दरबन्दी नै छैन, महालेखा परीक्षकले बेरुजु औंल्याएको छ, कानुन सबैले मान्नुपर्यो,’ उनले भने, ‘सोही अनुरुप परिचालक कटौती गरेका हाैं ।’
दरबन्दी नभएका करारका कर्मचारीको म्याद नथप्ने र कार्यदक्षताका आधारमा केही करारका कर्मचारी घटबढ हुन सक्ने उनले बताए । ‘कार्यदक्षताका आधारमा करारका कर्मचारीको म्याद थप्ने/नथप्ने निर्णय गर्ने अधिकार गाउँपालिकालाई छ,’ उनले भने, ‘केही दिनमा गाउँपालिकाले करार कर्मचारीको विषयमा निर्णय गर्छ ।’ कुनै ठोस कारण बिना आफूहरुलाई हटाइएको परिचालिका गीता सापकोटाले बताइन् । ‘हामीलाई कुनै किसिमको सूचना दिइएन, न त कुनै पत्रचार गरियो,’ उनले भनिन्, ‘साउन १ गते बिहान बिना सूचना फोन गरेर काममा नआउन भनियो ।’
गाउँपालिकाले अरु सबै क्षेत्रका करार कर्मचारीको म्याद थप्दा सामाजिक परिचालकको म्याद नथपेर अन्याय गरेको उनले आरोप लगाइन् । ‘केही दिनअघि बसेको बैठकले गाउँपालिकाका सबै करारका कर्मचारीको म्याद थपिएको भनिएको थियो,’ उनले भनिन्, ‘गाउँसभाले थपेको म्याद गाउँ कार्यपालिकाले कार्यान्वयन गरेन ।’ राममाया आलेले २२ वर्षदेखि काम गरिरहेकालाई राजनीतिक आस्थाका आधारमा निकालिएको बताइन् । उनले भनिन्, ‘हामीले सबै ठाउँमा कुरा राखिसक्यौं तर हाम्रो कुराको सुुनुवाई भएन ।’
गाउँपालिकाले सामाजिक परिचालकले गरेको कामको अवमूल्यान गरेको आलेको गुनासो छ । ‘महिला तथा अनाथ बालबालिकाका लागि सामाजिक विकासका थुप्रै काम गरेका छाैं,’ उनले भनिन्, ‘हामीले राम्रो काम गर्दा पनि हाम्रो कामको मूल्यांकन भएन ।’ सापकोटा र आले २०५७ मा महिला विकास अन्तर्गत गाउँपालिकामा आबद्ध भएका थिए ।
धेरै बेरुजु आएको भन्दै करार सेवाबाट निकालिएको सामाजिक परिचालिका धनमाया गुरुङको भनाइ छ । ‘हामीलाई पक्का जानकारी त छैन, सुन्नमा आएको छ, धेरै बेरुजु भएकाले सेवा अवधि थप नगरिएको रे’, उनले भनिन्, ‘अन्तिम निर्णय त अझै भएको छैन । गाउँ कार्यापालिका फेरि पनि बस्दै छ, हाम्रो पक्षमा केह न केही त सकारात्मक निर्णय हुनेमा आशावादी छु ।’ गुरुङ २०७५ देखि गाउँपालिकामा कार्यरत थिइन् ।
प्रमिला कुँवर
पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् ।
तपाईको प्रतिक्रिया