सेवाग्राहीको हैरानी र त्यसका बाछिटा
केही दिनअघि एपिवान टेलिभिजनमा अमेरिका निवासी उपेन्द्रदेव अचार्यले हाल नेपालमा भएको भ्रष्टाचार, राजनीति र कूटनीतिलाई छाड्ने हो भने एभरेस्ट र बुद्ध जन्मेको ठाउँ भनेर मात्रै न विश्व मानचित्रमा नेपाल चिनिन्छ भन्ने कुरासँग पुर्णरुपमा सहमत हुन सकिन्छ । राजनीतिमा सही व्यक्तिको पहुँच भएन र त्यसमाथि व्यक्तिवादीता हाबी भयो भने त्यसले जन्माउने भनेको स्वेच्छाचारिता र भ्रष्टाचार हो । अहिले आएर आफै र आफ्नो व्यापार सहज र सुरक्षित गर्न नेपालका ठुला व्यापारिक घरानासमेत विभिन्न राजनैतिक पार्टी भित्रका पद ओगट्ने परम्परा सुरु भएको छ । कुनैपनि राष्ट्रको पहिलो प्राथमिकता भनेको सुरक्षा हो, चाहे त्यो लगानीका क्षेत्रमा होस्, समाजमा शान्तिका साथ बस्नका लागि होस् या त व्यक्तिगत सम्पत्ति सुरक्षाको होस् ।
सब अव्यवस्थाको जिम्मा राष्ट्र हाँक्ने जिम्मेवारी लिएका राजनीतिज्ञ नै लिनु पर्ने हुन्छ । यसको कारण भनेको राजनीतिज्ञले आफै निजामति, आफै अर्थशास्त्री, आफै प्रहरी, आफै प्राविधिक, आफै वैज्ञानिक हुन खोजेर हो
नेपाली राजनीतिमा वर्षौँदेखि हालीमुहाली गरिराखेका र तिनका निकटहरूको मनलाग्दी स्वार्थ परिपूर्तिको लोभमा माथि उल्लेख गरिएका क्षेत्रमा सुरक्षाको अवस्थालाई चरम रसातलमा पुर्याएको छ । फोहोरी राजनीति र त्यस्तो राजनीतिले गिजोलेको र दबाबमा राखेकोको निजामती र सुरक्षा निकायले कसरी काम गरी राखेको होला ? त्यो कसैबाट लुकेको छैन । देशको अर्थव्यवस्थाका बारेमा नेपालका मूर्धन्य अर्थशास्त्री, संसदीय समिति र सञ्चार जगतले प्रश्न गरी राखेका छन् तर अर्कोतर्फ आफ्ना कमी कमजोरी स्वीकार नगरी अर्थमन्त्री सबैलाई धम्काउन व्यस्त देखिन्छन् । देश भित्र कर्मचारी र अदूरदर्शी राजनीतिज्ञबाट हुने व्यवहार र क्षण क्षणमा परिवर्तन भई राख्ने नीतिले नेपालमा कोही लगानी गर्न किन आउँछ होला र ? के गर्न आउँछ होला हामीले आफै कल्पना गर्न सक्छौँ ।
अमेरिका निवासी आइटी क्षेत्रका लगानीकर्ता रुद्र पाँडेले नेपालमा लगानी गरेका छन् र लगानी गर्दा र व्यापार सञ्चालन गर्दा सरकारी कर्मचारीले दिएको दुःखको काहीँ सुनुवाइ नभएको व्यथा समाचार र सामाजिक सञ्जालमा शेयर गरेका थिए ।
एक जना मेरा मित्रले हाइड्रोमा लगानी गरेका छन् र उनले भन्दै थिए काठमाडौँबाट आफ्नो प्रोजेक्ट भएको ठाउँमा जान निस्के भने गौँडा गौँडामा पैसा माग्ने समूह बसेका भेटिन्छ, तिनलाई पहिलै थाहा हुन्छ, आफू साइटमा जान लागेको बारेमा । साइटमा पुगेपछि त्यहाँ वरिपरिको समाजले दिने दुःख फेरि छुट्टै छ ।
उद्योगपतिका पनि समस्या आफ्नै छन् । स्थानीय निकाय होस् या केन्द्रमा लगानी गरे बापत सुरक्षा र सहजता प्रदान गर्नु भन्दापनि दिने दुःखका पोका नै ठुला छन् । यसका बारेमा उद्योगपति सुरज वैद्यले खर्चेका शब्द नै काफी छन् ।
यातायात कार्यालयको सेवा वितरणको बेथिति यातायात कार्यालयको बेथितिको कुरा गर्ने हो भने यातायात कार्यालयले हरेक ६–६ महिनामा फेर्न बाध्य बनाउने गाडीको नम्बर प्लेट, सवारी चालक अनुमति पत्रको नवीकरण गर्नै वर्षदिन भन्दा बढी लाग्ने समय, नयाँ सवारी लाइसेन्सको आसमा बसेका जनता, ब्लु बुक रिन्यु र प्रदूषण नियन्त्रणको स्टिकरको झमेलालाई हेरे पुग्छ, कुनै दिन त्यो कार्यालयमा सेवाग्राहीहरूको भिडले कुनै अन्यथा गरे भने अचम्म नमाने हुन्छ ।
अन्य कार्यालयको सेवा वितरणको अवस्था
नागरिकता पाउने भनेको अधिकारको कुरा हो तर नागरिकता पाउन कति सहज या असहज छ, त्यो दैनिक समाचारका विषय बनी राखेका छन् । नसुतेर पासपोर्टको अत्यासलाग्दो लाइनमा लागेका नेपालीको दुर्दशाको कथा सुन्दा नै विरक्त लाग्दो छ । सँगै काम गरेका गृहका उच्च तहका सेवा निवृत्त अधिकारीसँग कुरागर्दा श्रोत साधन नभएतापनि सेवा वितरणमा यतिको बेथिति त पहिला थिएन भनेर भन्दै हुनुहुन्थ्यो ।
अहिले आएर कुनै सरकारी निकायमा केही काम पर्यो भने आङ नै जिरिङ भएर आउँछ । रोज यस्ता बेथिति समाचारका विषय बनेका छन् । सुधारका लागि गरेको पहलका बारेमा सम्बन्धित मन्त्री र जिम्मेवार निकायले बोली रहेका हुन्छन् तर तिनले बोलेको र जमिन यथार्थता फरक छ । बढ्दै गएको बेथितिले नेपाली जनतामा असन्तुष्टि चरम रूपमा बढ्दै छ । यो असन्तुष्टिको जिम्मेवार राजनैतिक दल नै हुन् भन्ने सोच विकसित भएको छ, जुन सही पनि हो ।
अब असन्तुष्टि बढ्दै गयो भने यसले निम्त्याउने भनेको अविश्वास, अराजकता असुरक्षा नै हो । सत्ताको र्याल काढेर बसेका राजनैतिक दलहरूले समयमा नै यो कुरा बुझ्न जरुरी छ । जनताले पैसा तिरेका छन् भने सुविधामा सहज पहुँच खोज्दछन् र हरेक कुराको प्राथमिकता राजस्व सङ्कलन मात्रै हुँदैन, जनतामा सहज सुविधा पुर्याउने जिम्मेवारी र दायित्व पनि सरकारको हो र सरकार यसमा चुकी राखेको छ ।
नेपालमा सम्भावना नदेखेर सुन्दर भविष्यका लागि विदेश जाने नेपालीको सङ्ख्या डरलाग्दो छ । भोलिका दिन रोजगारीका अभावमा ती नेपाली फिर्ता आएमा तिनीहरूलाई कसरी व्यवस्थित गर्ने नेपाल सरकारसँग कुनै कार्य योजना छ जस्तो मलाई लाग्दैन । कुनै योजना छ भनेर यदि छैन भने त्यसले अर्को समस्या बढाउनुमा कुनै शंका छैन । माथि उल्लेख गरिएका तर छरिएर रहेका विषय नेपालीको जनजीवनसँग जोडिएका छन् । नेपालीको भविष्यसँग जोडिएको छ, नेपालीको दैनिकीसँग जोडिएको छ, यदि आफूले चाहेको सुविधामा सहज पहुँच भएन, अधिकार कुण्ठित गरियो र सरकारले सहजीकरण गरिदिएन भने यसको असर समाजमा गुम्सिएर बस्छ र कुनै सानो बहाना चाहिन्छ सरकार र राजनैतिक पार्टी माथि खनिने ।
जनतालाई सेवा सहज बनाउने नाममा व्यवहारिकता अध्ययनै नगरी जथाभाबी बनाइएका एप्लिकेसन र प्रविधिको प्रयोगका कारण सेवा सहज हुनुभन्दा पनि प्रयोगमा ल्याइएका प्रविधि सेवामा बाधक र सुविधाका नाममा अड्को थाप्ने मात्र काम भएको छ । यसबाट सिर्जित समस्याका कारण दुःख निवारण गर्नुभन्दा पनि सेवाग्राहीको घाउमा नुन चुक थप्ने काम भएको छ । सब अव्यवस्थाको जिम्मा राष्ट्र हाँक्ने जिम्मेवारी लिएका राजनीतिज्ञ नै लिनु पर्ने हुन्छ । यसको कारण भनेको राजनीतिज्ञले आफै निजामति, आफै अर्थशास्त्री, आफै प्रहरी, आफै प्राविधिक, आफै वैज्ञानिक हुन खोजेर हो । यो गुम्सिएको कुण्ठा सरकारले समयमा बुझ्न सक्नुपर्छ, चिन्न सक्नुपर्छ र चिर्न सक्नुपर्छ । अन्यथा यसको नतिजा भोग्न तयार भएर बसे हुन्छ । प्रशासनबाट
तपाईको प्रतिक्रिया