मेयर आचार्य र गभर्नर सम्मानित
पोखरा ।
डागर स्मृति प्रतिष्ठान नेपालले बुधबार ४ सामाजिक व्यक्तित्वलाई सम्मान गरेको छ । यसरी सम्मानित हुनेमा प्रतिष्ठानका अभिभावक डिस्ट्रिक ३२५ बी १ का पूर्व डिस्ट्रिक गभर्नर तथा महानगर प्रमुख धनराज आचार्य लगायत छन् ।
शुभेच्छुक राम बसेल लायन्स क्लब अफ इन्टरनेसनलको लायन वर्ष २०२२/२०२३ का लागि डिस्ट्रिक ३२५ ‘आई’को गभर्नर, ध्रुव श्रेष्ठ डिस्ट्रिक ३२५ ‘जे’को गभर्नर र राजेन्द्र बाटाजु डिस्ट्रिक ३२५ ‘के’को गभर्नरमा निर्वाचित भएकोमा उनीहरुलाई सम्मान गरिएको हो । प्रतिष्ठानका संस्थापक अध्यक्ष रमा पराशर, निवर्तमान अध्यक्ष हिरादेवी बास्तोला र अध्यक्ष बिन्दु श्रेष्ठले उनीहरुलाई गरेका हुन् ।
सम्मानित व्यक्तित्व धु्रव श्रेष्ठले प्रतिष्ठानका गतिविधिलाई आफूले नजिकबाट नियाल्दै आएको बताए । प्रतिष्ठानले समाजमा असल कर्म गर्नेलाई प्रोत्साहनमात्र नगरी असल मार्गनिर्देशन पनि गरेकोमा उनले खुसी व्यक्त गरे । सम्मानित व्यक्तित्व बाटाजूले प्रतिष्ठानसँग निरन्तर सहकार्य र सहयात्रामा नरहे पनि सम्मानले थप जिम्मेवारी बोध गराएको सुनाए । अर्का सम्मानित व्यक्तित्व बसेलले प्रतिष्ठानले साहित्य, समाजसेवा र शिक्षासेवाका क्षेत्रमा गरेको योगदानको प्रशंसा गरे ।
प्रतिष्ठानका सदस्य दीपेन्द्र श्रेष्ठले रमा पराशरको एक्लो प्रयासलाई संस्थागत रुप दिएर निरन्तर शिक्षा सेवा, समाजसेवा, साहित्य सेवा र राष्ट्रसेवामा क्रियाशील प्रतिभालाई प्रोत्साहन, उत्साह र हौसला प्रदान गर्दै आएको बताए । संस्थापक रमा पराशरले आफ्नो भन्नु नै पोखरेली र यही प्रतिष्ठान रहेको जनाइन् । प्रतिष्ठानका उपाध्यक्ष सरिता तिम्सिना पंगेनीले पोखरेलीको प्रेरणा र हौसला नै प्रतिष्ठानको कमाइ भएको उल्लेख गरिन् ।
संस्थापक अध्यक्ष रमा पराशरलाई सम्मानित तीनै जना डिस्ट्रिक गभर्नरले गभर्नर पिनबाट सम्मान गरेका थिए । समारोहमा पुरुषलाई सफलताको मार्गमा डोहो¥याउन महिलाको महत्वपूर्ण भूमिका हुने भन्दै प्रतिष्ठानका मेयर आचार्यकी श्रीमती पुष्पा आचार्य र तीनवटै डिस्ट्रिकका फस्ट लेडीलाई समेत सम्मान गरिएको थियो । प्रतिष्ठानका अध्यक्ष बिन्दु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका सहसचिव असफल गौतमले समेत बोलेका थिए ।
तपाईको प्रतिक्रिया