
जोमसोम ।
अर्थ मन्त्रालयले मुस्ताङका लागि चालु आर्थिक वर्ष २०७९/०८० का लागि ६ अर्ब ११ करोड १८ लाख बजेट विनियोजन गरेको छ । गत वर्ष ६ अर्ब १७ करोड १० लाख बजेट विनियोजन भएको छ ।
चालु वर्ष ६ करोड ८ लाख घटी बजेट विनियोजन भएको हो । चालु वर्ष संघ/प्रदेश र स्थानीय तहलाई चालु खर्चतर्फ ३ अर्ब १५ करोड ६ लाख र पुँजीगत खर्चतर्फ २ अर्ब ९६ लाख ११ लाख बजेट विनियोजन भएको हो । २०७९/०८० का लागि संघीय कार्यालयतर्फ ३ अर्ब ७२ करोड २२ लाख विनियोजन भएको छ । जसअन्तर्गत चालुतर्फ २ अर्ब ३ करोड ५१ लाख र पुँजीगततर्फ १ अर्ब ६८ करोड ७१ लाख बजेट विनियोजन भएको कोष तथा लेखा नियन्त्रण कार्यालय मुस्ताङले जनाएको छ ।
संघीय र प्रदेश कार्यालयको बजेट वृद्धि भए पनि ५ स्थानीय तहमा साढे २९ करोड घटेको छ
गत वर्षको तुलनामा यो १७ करोड बढी हो । प्रदेश कार्यालयतर्फ चालु आर्थिक वर्षका लागि ८९ करोड ४ लाख ४८ हजार विनियोजन भएको छ । गत आवको तुलनामा चालु वर्ष ७ करोड ६० लाख बजेट बढी विनियोजन भएको हो । प्रदेशको चालुतर्फ ३० करोड ६४ लाख ४८ हजार र पुँजीगततर्फ ५८ करोड ४ लाख २५ हजार विनियोजन भएको कोष नियन्त्रक डालेश्वर अर्यालले जानकारी दिए ।
गत वर्षको तुलनामा संघीय र प्रदेश कार्यालयको बजेट आशिंक वृद्धि भए पनि मुस्ताङका ५ स्थानीय तहको बजेटमा करिब २९ करोड ५० लाख रकम घटेको छ । गत वर्ष ५ स्थानीय तहलाई १ अर्ब ७८ करोड ५० लाख विनियोजन भएकोमा चालु वर्ष १ अर्ब ४९ करोड ९० लाख बजेट विनियोजन भएको कोष नियन्त्रक अर्यालले उल्लेख गरे । मुस्ताङका ५ स्थानीय तहका लागि चालुतर्फ ८० करोड ९१ लाख र पुँजीगततर्फ ६८ करोड ९९ लाख बजेट छ । घरपझोङलाई ३२ करोड ३९ लाख, थासाङलाई ३४ करोड २ लाख, लोघेकर दामोदरकुण्डलाई २४ करोड ६ लाख, वारागुङ मुक्तिक्षेत्रलाई ३३ करोड ८८ लाख र लोमान्थाङ गाउँपालिकालाई २५ करोड ५३ लाख बजेट छ ।
संघीय कार्यालय अन्तर्गतको राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर(बेनी जोमसोम कोरला) सडक आयोजनाका लागि १ अर्ब ३८ करोड ७६ लाख बजेट छ । गत वर्ष आयोजनालाई १ अर्ब १४ करोड बजेट विनियोजन भएकोमा चालु वर्ष २४ करोड ७६ लाख बजेट बढी विनियोजन भएको हो । संघीय कार्यालय अन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वन इकाईको बजेट पनि २४ लाखले वृद्धि भएको छ । गत वर्ष ५ करोड ४५ लाख बजेट थियो भने चालु वर्ष ५ करोड ६९ लाख बजेट विनियोजन भएको जनाईएको छ । यस्तै,मुस्ताङ स्थित सैनिक उच्च शिखर शिक्षालयलाई १२ करोड ५९ लाख बजेट विनियोजन भएको छ ।
पूर्वाधार विकास कार्यालयको बजेट पनि बढेको छ । गत वर्ष २२ करोड ३६ लाख बजेट रहेकोमा चालु वर्ष २८ करोड ६८ लाख बजेट विनियोजन भएको कोष नियन्त्रक अर्यालले बताए । चालु वर्ष पूर्वाधार विकास कार्यालय बजेट ६ करोड ५० लाख वृद्धि भएको छ । प्रदेशतर्फकै खानेपानी जलस्रोत तथा सिंचाई सबडिभिजन कार्यालयलाई चालु वर्ष १६ करोड ५० लाख बजेट विनियोजन गरिएको छ । गत वर्ष यस कार्यालयलाई १४ करोड ६२ लाख बजेट थियो । चालु वर्ष करिब २ करोड बजेट बढेको छ ।
प्रदेश मातहत रहेको मुस्ताङ जिल्ला अस्पतालको बजेट पनि करिब ४ करोड वृद्धि भएको छ । गत वर्ष ४ करोड ५१ लाख ५० हजार बजेट विनियोजन गरिएकोमा चालु वर्ष ८ करोड ४० लाख बजेट छ । सम्बन्धित निकायले समयमै खरिद प्रक्रिया सुरु नगरेको, समयमै ठेक्का नलगाएको, लागेका क्रमागत ठेक्कामा नियमित अनुगमन गर्ने तथा निर्देशन दिने काम नभएकाले अपेक्षा गरे अनुसार बजेट खर्च हुन नसकेको कोष नियन्त्रक अर्यालले औंल्याए । उनले चालु वर्ष लक्ष्य अनुसारको बजेट खर्च गर्न ध्यान जानुपर्ने उल्लेख गरे ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया