
जोमसोम–कागबेनी सडक अस्फाल्ट पिच गर्न आधा घटेर ठेक्का लिएको कम्पनीले समय आधा सकिँदासम्म मजदूर र उपकरणसमेत ल्याएको छैन
सुन्दरकुमार थकाली
जोमसोम ।
कालिगण्डकी करिडोर (बेनी जोमसोम कोरला) सडक अन्तर्गत जोमसोम कागबेनी १३ किमी अस्फाल्ट सडकमा सुरुआती चरणमै ढिलासुस्ती भएको छ । मुस्ताङको उत्तरी कोरला नाका र प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर जोड्ने सडकको कालोपत्र गर्ने सम्झौता अवधि २ वर्ष छ ।
सम्झौता भएको १० महिना बितिसक्दासमेत निर्माण कम्पनीले ३ प्रतिशतमात्र भौतिक प्रगति गरेको आयोजनाले जनाएको छ । राष्ट्रिय गौरवको जोमसोम कोरला ग्राभेल सडकका ७ खण्डमध्ये ६ वटा खण्ड ३ वर्षअघि नै कालिगण्डकी करिडोरलाई हस्तान्तरण भएका छन् ।
जसमध्ये जोमसोम कोरला सडकको चराङ छोसेर २५ किमी ग्राभेल सडकको काम अन्तिम चरणमा छ । जोमसोम कोरला ग्राभेल सडक अन्तर्गत नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आर्थिक वर्ष २०७८ असोज ४ गते कालोपत्र गर्न बजेट विनियोजन गरेको थियो । जोमसोम कागबेनी १३ किमी कालोपत्र सडक लगायतका संरचना निर्माण गर्न आयोजनाले रौटाहा आत्रेय सारस जेभी काठमाडौंसँग २८ करोड १४ लाखमा ठेक्का सम्झौता गरेको थियो ।
२०७८ असोज ४ गते ठेक्का सम्झौता भएको जोमसोम कागबेनी सडकको अवधि ०८० असोज ४ सम्म छ । सरकारले जोमसोम–कागबेनी ग्राभेल सडक थप स्तरोन्नति गर्दै अस्फाल्ट कालोपत्र गर्न ५७ करोड ९८ लाख बजेट विनियोजन गरेको थियो । तर निर्माण कम्पनीले कुल लागतको करिब ५० प्रतिशत रकम घटेर ठेक्का सम्झौता गरेको थियो ।
सम्झौता अवधि अझै १४ महिना बाँकी रहे पनि निर्माण कम्पनीले सुरुआती चरणमै काममा ढिलासुस्ती गरेको हो । निर्माण कम्पनीले सम्झौता भएबाट हालसम्म कम्तीमा ३५ देखि ४० प्रतिशत भौतिक प्रगति गर्नुपर्ने थियो । तर कम्पनीले कालोपत्रका लागि आवश्यक मजदुर र उपकरणसमेत फिल्डमा व्यवस्थापन गर्न सकेको छैन ।
निर्माण कम्पनीले प्राविधिक खटाएर गत वर्षको भदौमा १३ किमी सडक सर्भे गरेको थियो । जोमसोम कागबेनी १३ किमी सडक अन्तर्गत कागबेनी गाउँदेखि मुल सडकको १ किमी जोडिने गरी आयोजनाले ठेक्का लगाएको थियो । जोमसोम कागबेनी कालोपत्रे सडक विस्तार गर्न कालिगण्डकी नदीले ग्रोभल सडकमा क्षति पुर्याएको स्थान, सडक चौडा गर्ने, सडकको ग्रेड मिलान गर्ने, ड्रेन तथा वाल निर्माण लगायतका काम गर्ने सम्झौता छ ।
आयोजना प्रमुख जगत प्रजापतीले जोमसोम–कागबेनी कालोपत्र सडकको भौतिक प्रगती जम्मा ३ प्रतिशतमात्र भएको जानकारी दिए । गत वर्षको असोजमा ठेक्का सम्झौता भएको सडकको कामका लागि निर्माण कम्पनीले २७ लाख रकम भुक्तानी लिएको छ । ‘कोरला मुक्तिनाथ जोड्ने महत्वपूर्ण सडकको १३ किमी कालोपत्र योजनाअघि बढेको छ, निर्माण कम्पनीले अपेक्षा अनुसार कामलाई गति दिएको छैन, काम छिटो छरितो होस् भन्ने हाम्रो ध्येय हो,’ उनले भने ।
यता, सडकको जिम्मा लिएका रौटाहा आत्रेय सारस जेभीका प्रतिनिधि राजेश कुँवरलाई सडकको ढिलासुस्तीबारे पटक पटक टेलिफोन सम्पर्क गर्दासमेत उनी सम्पर्कमा आएनन् ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया