‘१ प्रतिशतले रगत दिए अभाव हुँदैन’
पोखरा ।
५६ औं नेपाल रक्तदान दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी कास्कीले सरकारी, सामुदायिक तथा निजी अस्पतालका चिकित्सकका लागि रगत र रक्त तत्वहरुको प्रयोगसम्बन्धी अभिमुखिकरण गरेको छ ।
कार्यक्रममा रक्त सञ्चार विशेषज्ञ डा विपिन नेपाललेमानव शरिीलाई आवश्यक पर्ने तत्वबाहेक सबै रगत (होलब्लड) जस्ताको तस्तै प्रयोग गर्न नपर्ने बताए । उनले ताजा रगतसमेत प्रयोग गर्न नहुने जानकारी दिए । ‘ताजा रगत विश्वको शब्दकोषमा हुँदैन । एक दिनको रगत पनि त्यही हो । ३५ दिनको पनि त्यही हो,’डा नेपालले भने, ‘मलेरियाका किटाणु ताजा रगतमा बाँचेर बस्न सक्छ । त्यसैले ताजा रगत कहिल्यै प्रयोग गर्न मिल्दैन ।’
उनले ३५ दिनसम्मको रगत प्रयोग गर्दा केही फरक नपर्ने जानकारी दिए । रगतको सही प्रयोगको विषयमा सहजीकरण गरेका डा नेपालले जनसंख्याको १ प्रतिशत व्यक्तिले रगत दिए पुग्ने बताए । विश्व स्वास्थ्य संगठनको मान्यता अनुरुप रक्तदान गर्नेको संख्या नपुग्दा नेपालमा सधैभरी जसो रगत अभाव हुने गरेको छ ।
कुल जनसंख्याको २ प्रतिशतले रक्तदान गर्नुपर्ने संगठनको मान्यता छ । तर नेपालमा गत वर्ष शून्य दशमलब ८ प्रतिशत जनसंख्यामात्र रक्तदानमा सामेल भएको देखिन्छ । यस हिसाबले पनि नेपालमा ५ लाख ८३ हजार ८ सय ४९ जनाले रक्तदान गरेको हुनुपर्छ । तर, ०७८÷७९ मा २ लाख ४९ हजार ७ सय युनिट संकलन भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा बुद्धिबहादुर थापाले रेडक्रसले रगतको संकलन, भण्डारण र वितरणको क्षेत्रमा उत्कृष्ट कार्य गरेको बताए । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका निर्देशक दिव्यराज पौडेलले रक्त सञ्चारको सबै खालको प्राविधिक सेवालाई बढाउन मानवीय र भौतिक सहयोग आवश्यक पर्ने बताए । उनले सबै काम रेडक्रसलाई नछोडेर सरकार तथा अस्पतालले समेत लगानी बढाउनुपर्ने माग गरे ।
उनले आर्थिक वर्ष २०७८÷०७९ को अवधिमा गण्डकी प्रदेश सरकारले आफ्नो प्रदेशभित्र रगत तथा रक्ततत्व निशुल्क गर्ने घोषणा गरेर ०७८ फागुन १ गतेबाट कार्यान्वयन ल्याएकोस्मरण गरे । लुम्बिनी प्रदेश सरकारले पहिल्यै घोषणा गरेको र वागमती प्रदेशले नीति कार्यक्रम र बजेट बनाएर ल्याएपनि कार्यान्वयन गर्ने गण्डकी प्रदेश पहिलो भएको उल्लेख गरे । नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति डोलराज पाण्डेलेरक्तदातामाझ रगतको महत्वबारे सचेतना फैलाउनेदेखिस्वयं सेवी रक्तदाताको संख्या बढाएर गण्डकी प्रदेशमा रगत अभाव हुन नदिएको जानकारी दिए ।
‘सुलभ गुणस्तरीय र मर्यादित नेपालको रक्तसञ्चार सेवा’ भन्ने नाराका साथ भएको कार्यक्रममा डा रेखा मानन्धर श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी कास्की उपसभापति डण्डराज शर्मा, मन्त्री धर्मराज आचार्य, रक्त सञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवाली लगायतले सरकार र रेडक्रसको साझेदारीमा आधुनिक प्रविधिलाई प्रयोग गरी रक्तसञ्चार सेवालाई गुणस्तरीय बनाउनु पर्नेमा जोड दिए ।
तपाईको प्रतिक्रिया