तनहुँमा नमूना पशु अस्पताल

तनहुँ ।
नमुना पशु अस्पताल तीव्ररूपमा निर्माण भइरहेको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँ परिसरमा निर्माणाधिन सो अस्पताल सञ्चालनमा आएपछि चार जिल्लाका पशुपालन किसान प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।
डेढ वर्षभित्र सम्पन्न गर्ने गरी सो अस्पताल इको बिल्र्डस प्रालि चितवनले निर्माणको जिम्मा पाएको छ ।
गण्डकी प्रदेश सरकारको ४ करोड ९० लाख लागतमा भ्याटबाहेक उक्त निर्माण कम्पनीले ठेक्का लिएको हो । आगामी पुसभित्र सम्पन्न गर्ने गरी थालिएको उक्त भवनको करिब ४० प्रतिशत काम पूरा भएको सहरी विकास तथा भवन निर्माण संघीय तथा कार्यन्वयन एकाइ कास्कीका साइड इञ्जीनियर शिव सुनारले जानकारी दिए । साढे २ तलाको ढलान निर्माण गरिने उक्त भवनको हालसम्म दोस्रो तलाको ढलान गरिएको छ । करिब ६ सय पाँच स्क्वायर मिटर क्षेत्रफलमा दुई ब्लकमा विभाजन गरी भवन निर्माण भइरहेको छ ।
बीचमा केही समय सामान अभावका कारण निर्माण रोकिए पनि अहिले रफ्तारमा काम भइरहेको इन्जिनियर सुनारले बताए । हाल भवन निर्माणमा दैनिक १५ जना जनशक्ति परिचालन गरिएको छ । भवनको भुइँ तलामा पशुपक्षीका एक्सरे, भिडियो एक्सरे, ल्याब, शव परीक्षणलगायत सेवाकक्ष र प्रविधिक जनशक्ति रहनेछन् भने पहिलो र दोस्रो तलामा प्रशासनिक कार्यालय, प्रयोगशाला, बैठक हल, तालिम हल रहनेछ । पशुसेवा विज्ञ केन्द्र तनहुँका प्रमुख एवं वरिष्ठ पशु विकास अधिकृत डा बालकुमार श्रेष्ठले नमूना पशु अस्पतालमा पशुपक्षीको रोग निदान, नियन्त्रण र उपचारका लागि सहज हुने बताए ।
इक्युपमेन्ट, औजार अभावमा पशुपक्षीको हचुवाका भरमा उपचार गर्नुपर्ने अवस्थाको अन्त्य हुने उनको भनाइ छ । नमूना पशु अस्पताल तनहुँका लागि मात्रै नभई आसपासका गोरखा, लमजुङ र नवलपरासीका किसानका लागि प्रत्यक्ष फाइदा पुग्नेछ ।
बहुवर्षीय योजनाअन्तर्गत अस्पतालको भौतिक संरचना विस्तार गर्दै लैजाने योजना छ । नेपालको ७७ जिल्लामध्ये पहिलो चरणमा कास्की र तनहुँमा पशु अस्पताल निर्माणका लागि प्राथामिकतामा परेका हुन् । पशुधनलाई क्षति हुनबाट जोगाउन पशु स्वास्थ्य कार्यक्रमलाई केन्द्रविन्दुमा राखिएको डा श्रेष्ठले बताए ।
पशुमा लाग्ने महामारीजन्य रोग पहिचान तथा न्यूनीकरण गर्न सकिए कम्तीमा २० प्रतिशतले उत्पादन वृद्धि गर्न सकिनेछ । “नदेखिने जुका, माटेजस्ता रोगले दूध तथा मासु उत्पादन घटाइरहेका हुन्छन्, हामीलाई थाहा हुँदैन”, उनले भने, “रोग पहिचान गरी समयमा औषधोपचार गर्न सकिए किसानको आम्दानीमा वृद्धि गर्न सकिनेछ ।”
तपाईको प्रतिक्रिया