१३५ इलेक्ट्रिकल व्यवसायीको दुर्घटना बिमा

समाधान संवाददाता २०७९ साउन १५ गते १२:१४

पोखरा ।
पोखरा इलेक्ट्रिकल एसोसिएसनले स्वास्थ्य कोषको स्थापना गरेको छ । एसोसिएसनले कोषको स्थापनाकै दिन १ सय ३५ सदस्यको बिमासमेत गरेको छ । पोखरा इलेक्ट्रिकल एसोसिएसन विद्युतीय सामग्रीको व्यावसायीको साझा संगठन हो । ०५६ सालमा स्थापित एसोसिएसनले आफ्ना सदस्यका समस्या साथै व्यावसायिक हकहितका पक्षमा आवाज उठाउँदै आएको छ ।

Advertisement

सामाजिक काममा पनि आफ्नो अग्रता कायम राख्दै आएको एसोसिएसनले सदस्यका अलावा अति न्यून आर्थिक अवस्था भएका बिरामीको उपचारमा पनि सहयोग पुर्‍याउने उद्देश्यले कोष खडा गरेको हो । उपचार गर्न कठिन भएकालाई सहयोग गर्ने उद्देश्यले स्थापना गरेको कोषका महासचिव केशव ढकालले बताए । ‘प्रत्यक्ष रुपमा एसोसिएसनमा आबद्ध सदस्य तथा सामाजिक कार्य अन्तर्गत जो कोही अप्ठेरो अवस्थामा परेका बिरामीको उपचारमा सहयोग गर्ने उद्देश्यले कोषको स्थापना गरेका हौं,’ उनले भने ।

कोष कार्यसमिति तथा सल्लाहकारबाट स्वतस्फूत २ लाख रुपैयाँ संकलन गरी सुरु गरिएको उनले जानकारी दिए । एसोसिएसनले १ सय ३५ सदस्यको जनही २ लाख रुपैयाँका दरले दुर्घटना बिमासमेत गरेको छ । एसोसिएसनका सदस्य दुर्घटना तथा भवितव्यमा परेमा कोषमा जम्मा भएको राशिले उपचार गरिने ढकालले बताए ।

तपाईको प्रतिक्रिया