युनिश गुरुङ
पर्खनेहरुको कथा हो, पानीफोटो । आँगनको डिलमा उभिएर मूल बाटो हेर्नेहरुको व्यथा हो । अलिक आशा, अधिक निराशाको सम्मीश्रण पनि हो ।
हरबिहान आशाको किरणसँगै ब्युँझिनु अनि बिस्तारै निराशाको कुहिरोले ढाक्दै दिन ढल्नु । हो ! पीडा, रहस्य, सम्झना, निराशाको भारी बोकेर कसैलाई पर्खेर बाँच्नु पक्कै सजिलोहैन । पानीफोटोका प्रायपात्रहरु पनि कसै न कसैको बाटो कुरिरहेका छन् । फरक यति छ–कोही वेपत्ता छोरा त कोही परदेश हिँडेका ।कोही बेपत्ता बुबाको यादमा छन्, कोही बेपत्ता प्रेमीको ।
यो पीडादायी पर्खाइ पछाडिको एउटै दोख हो–युद्ध । तत्कालीन सशस्त्र युद्धको रापले कसैको मरण भए, कसैको हरण । हराएकाहरु कोही त फर्किए । तर, कोही दशकौं बित्दासमेत लासको थाहा पत्तो लाग्यो न सासको । ती नफर्किएकाहरुको आसमा बाँच्नेहरुको कथा हो, पानीफोटो
कुहिरोले डाँडा ढाकिएको छ । कृष्णकी आमा मैयाँ (मेनुका प्रधान) एउटा युवालाई पछ्याइरहेकी छन् । भेट्टाउनै लाग्दा ती युवा कुहिरो मै हराउँछन्। फेरि डाँडाको टुप्पोमा देखिन्छ। युवाको समीप पुग्दा मैयाँको मुहारमा आशा देखिन्छ । कुहिरोमा हराउँदा, निराशा ।
यही हो, पानीफोटोको ओपनिङ सट । र, यही वरिपरि छ सम्पूर्ण फिल्मको कथा । फिल्मको ओपनिङ मात्र हैन इन्डिङ सटमा पात्रबाट क्यामरा पेनिङ गर्दै कुहिरोले धुम्म ढाकेको दृश्यमा लैजान्छ । जसको अर्थ रहस्य हो । कुहिरोलाई बिम्बका रुपमा प्रयोग गरिएको छ । अर्थात् फिल्मभरि अधिकांश कुहिरोको प्रयोग छ ।
फिल्मका पात्रहरु कृष्ण र उनका साथी अपहरण पर्नुअघिको एउटा दृश्य छ–आँधीखोलामा रातो कपडासहित सङ्लो पानी । जसलाई अब केही खतरा हुँदैछ भनेर ‘फोर स्याडो’का रुपमा प्रयोग गरिएको छ । लगत्तै सो दृश्यसँगै जोडिन आइपुग्छ, अर्को दृश्य । त्यो हो कर्णालीमा बगेको धमिलो पानी। यसको अर्थ हो, केही ननिको भइसक्यो ।
कथा अगाडि बढ्दै जाँदाद अनुप बराल (चन्दन) र मैयाँ छोरा खोज्दै रोल्पा पुग्छन् । दृश्यअनुसार झरी छ, चिसो छ । पात्रहरु अगाडि बढ्दै जाँदा पृष्ठभूमिमा चर्च देखाउँछ। लगत्तै मन्दिरमा ती पात्रहरु ओत लगाएको देखाइएको छ। उक्त दृश्यले युद्धपछि देशको धार्मिक अवस्था चित्रण गरेको छ ।
फिल्मको अब्बल पक्ष छायांकन पनि हो । बितेका घटनालाई एफपीभीमा खिचेर होस् वा ‘फ्रेम विथइन फ्रेम’ प्रयोग गरेर । एउटा दृश्यमा चन्दन र मैयाँ झगडा गरेको देखाएको छ । सो दृश्यमा विस्तारै सटलाई ‘ट्रयाक आउट’ गरेर बाहिर लैजान्छ । बाहिर भने पानी परिरहेको हुन्छ । फेरि अर्को दृश्यमा सटलाई ‘ट्रयाक इन’ गरेर भित्र लैजान्छ । यति बेला भने चन्दन र मैयाँको निकटता देखाएको छ । दीपक बज्राचार्यले कथाको भाव र पात्रको अन्तर्दशाअनुसार क्यामेरामा परिश्रम गरेका छन् ।
माओत्से गुरुङ र प्रकाश घिमिरेले बोकेको सब–प्लट अर्थपूर्ण छ । युद्धमा जुन भूगोलको साथ ज्यादा थियो, त्यहाँको दुर्दशा, सेना समायोजन इत्यादिबारे चमन मगरका बुबामार्फत प्रस्तुत गरेका छन् । सत्यचाहिँ के हो भने १० वर्षे सशस्त्र युद्धमा सबैभन्दा गुणरोल्पा–रुकुमको थियो भने सबै भन्दा धेरै मगर र दलित समुदायले ज्यान गुमाएका थिए । तिनै तथ्य वरिपरि छ, फिल्म ।
प्रकाश घिमिरेको चरित्र नेपाल समाजको एकरुढीवादी चरित्र पनि हो । पाठाको बली र नवदुर्गाको पूजालाई युद्धसँग जोड्नु, छोरा खोज्दै हिँडेकी मैयाँको फ्रेममा उम्लेको चियापनि देखाउनु, छोराको क्रियाको कुरा मनमुटाव हुँदा पृष्ठभूमिमा ‘आमा’ र ‘गाउँले’ फिल्मको पोस्टर देखाउनु जस्ता सिम्बोलिक दृश्य तारिफयोग्य छ ।
मेथोड एक्टिङलाई पछ्याउँदै गरेका कलाकारहरुको अभिनय यथार्थपरक छ । स्पेस अर्थात ठाउँलाई गज्जबले स्थापित गरेको छ। गाह्रो परिस्थिति र कथाको भाव अनुसार रङ संयोजन भएको छ । पात्रका भाषामा आञ्चलिकताको भरपुर प्रयोग छ ।
फिल्मका सहायक पात्र पदमसँग जब जब युद्धको कुरा खोतल्न थालिन्छ, ऊतर्किन खोज्छ अर्थात् ऊ विगत सम्झिन रुचाउँदैन । अर्का पात्र प्रदीपको हालतपनि उस्तै छ । उनीहरुको चरित्रबाट युद्धको कारण परेको मनोवैज्ञानिक असर अर्थात पोस्ट–ट्रमाटिक स्ट्रेस डिसअर्डर देखाउन खोजेको छ ।
पानीफोटो अर्थात् फोटोको नेगेटिभ धुलाएर फोटो निस्किन्छ । फिल्मका पात्रहरुसँग पनि फोटो निकाल्न नेगेटिभ नै हराएको छ । फोटो पनि एकप्रति मात्र छ । बाँकी फोटो विभिन्न संक्रमणकालीन न्यायिक निरुपण,मानवअधिकारलगायत संघसंस्था लगेर सकिएको भन्ने सिम्बोलिक रुपमा अथ्र्याइएको छ ।
फोटो केवल फोटोमात्रै हैन, सम्झनाहरुकोकैद पनि हो । पर्खेर बस्नेहरु फोटो हेरेर याद मेटाउँछन् । हरसमयलाई फोटोमा कैद गरिरहने पात्र तिलक, घरका ढोकानेर झुन्डिरहेका फोटोहरु, कोठाको भित्तामा टाँसेका फोटोहरु इत्यादिमार्फत । निर्देशकले फोटो र सम्झनाको एउटा सम्बन्ध स्थापना गर्न खोजेका छन् ।
मूल कथा हराएको छोरा पर्खनु वा खोज्नु हो । कथाभित्रको ‘कथाको समस्या’ भनेको छोरा हराउनु हो। छोरा हराएपछि उनीहरु खोज्न ‘संघर्ष’ गर्छन्। तर, कथामा पाठा बेच्नु र पश्चिम जानु बाहेक विकराल ‘संघर्ष’ छैन ।
जब कथा भित्र पात्रले गरेका संघर्ष अथवा द्वन्द्व विस्तार सही रुपले हुँदैन । दर्शकलाई बाँध्न मुस्किल हुन्छ। दर्शक कथा भित्र घुस्न सक्दैनन् । गम्भीर कथालाई सतही तरिकाले पटकथामा ढाल्नु नै कमजोरी हो । कथा, कथा जस्तो हैन निबन्धजस्तो लेखिएको छ ।
यस्तो गम्भीर कथामा दर्शकको आँखा रसाउन पर्ने हो। कम्तिमा पीडाको अनुभूत गराइराख्नु पर्ने हो। संवेदनाले भरिपूर्ण हुनु पर्ने हो तर गर्दैन। लेखक यसमा चुकेका छन् । कथाको गहिराइमा नपुगी खाली फूलबुट्टामात्र भर्नु हो ।
लेखकले कथा यसरी लेखेका छन् कि दर्शकले १० वर्षे सशस्त्र युद्ध सबैले देखेर आएका हुन्, भोगेर आएका हुन् । त्यसैले फिल्मको कथा एक्सनमा भन्दा पनि रियाक्सनमा बुन्नु उचित ठाने । युद्धले छोडेको खत मात्र देखाए, युद्धको त्रासदी देखाएनन् । पुच्छरमात्र देखाए, टाउको देखाएनन् ।
अर्को कमजोरी पात्रहरुको सम्बन्धलाई सही स्थापित नगर्नु पनि हो। छोराप्रति बाबाआमाको आत्मीयता संवादबाट मात्र प्रस्तुत गरेका छन् । दृश्यले बोलेको भए कति सुन्दर हुन्थ्यो होला ? संवेदनालाई दर्शकसँग साक्षात्कार हुन्थ्यो होला ! कारण – बलियो रुपमा विगतमा नजानु ।
बितेका समयमा उनीहरुले बाँचेका पलहरु, वास्तविक घटनाक्रममा नजानु हो । बाआमाले छोरा हरायो भन्दैमा सजिलै गहिरो संवेदना जाग्दैन। फोटो च्यापेर रोएको दृश्यले मात्र दर्शकलाई छुन सक्दैन । पटक पटकको ‘ड्रिम सिक्वेन्स’मा भएपनि फ्ल्यासब्याकमा लैजान सकिन्थ्यो । तर देखाइएन । कृष्ण र राधाको सम्बन्ध स्थापित गराउन प्रयोग गरेका दृश्यहरु पहिला नै देखाइनु पथ्र्यो । राधाले खाली कृष्णप्रतिको प्रेम सुनाए, दर्शकले बलियो गरी अनुभूत गरेनन् ।
लेखक तथा निर्देशक खगेन्द्र लामिछानेले नाटकबाट अनुरुपण गरिएको हो, पानीफोटो । नाटक र सिनेमाको भाषा नै फरक भएकोले अनुरुपण गर्दा पटकथा भिन्न तरिकाले लेख्छन् । फिल्म भनेको दृश्य भाषा हो, संवाद हैन। संवाद, ध्वनि त सहायक तत्व हुन् ।
अडियोबाट कथा भन्ने नाटकको शैली अर्थात् ‘इजी वे अफ स्टोरी टेलिङ’ अपनाइएको छ । उदाहरण हो– रेडियोको प्रभावकारिता देखाउनु । जुन समय सुहाउँदो लाग्दैन। अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति हुनु, नेपालमा सेनापति पूर्णचन्द्र थापा हुनुले कथाको कालखण्ड २०७५ अथवा २०७६ को हो भन्ने देखाउँछ ।
प्रविधिको विकास भइसकेको कालखण्डमा कथा अगाडि बढाउन दृश्य हैन, श्रव्यमा भर परेको छ। सायद यो निर्देशकको अल्छीपन पनि हो।सेकेन्ड डिरेक्टर अर्थात एडिटर निमेष श्रेष्ठ यसमा नमाज्जाले चिप्लेका छन् ।
सामान्यतया सिनेमामा लामो समायावधि देखाउन अथवा फरक सिक्वेन्समा मात्र फेड इन वा फेड आउट गरिन्छ तर यसमा अनावश्यक ठाउँमा पनि पटकपटक प्रयोग गरेका छन् । दृश्यहरुलाई अधिकांश ठाउँमा ‘जम्प कट’ गरेका छन् । पाश्र्व संगीत निकै कमजोर छ। बाँसुरीको अधिक धुनले झिँजो बनाउछ । न्यारेटिभमा बिजियमले खासै भूमिका खेलेको देखिँदैन ।
लेखनको अर्को समस्या भनेको चन्दनको चरित्र निर्माणमा हो । हरेक पात्रको इतिहास हुन्छ । चन्दनको पनि आफ्नै विगत छसेना । तर,सैन्य जागिर गरेको न चन्दनको हाउभाउले पुष्टि गर्छ, न त उनको घरमा जागिर गरेको कुनै प्रमाण हुन्छ ।
पटकपटक दोहोर्याउने झगडा र एकैकिसिमको डाइलगको दृश्यले मूलकथालाई कमजोर बनाएको भान हुन्छ ।
त्यस्तै अर्को दृश्यमा चन्दन–मैयाँ छोरा खोज्दै रोल्पा जाने र राधाको विवाहको कुरालाई समानान्तर तरिकाले अगाडि बढाएको छ। जसका कारण मूल कथा अर्थात् छोरा खोज्नेको कथाको तीव्रतामा ह्रास आएको हो कि? मूल कथा फितलो बन्यो कि ?
सामान्यतया रातको समयमा छायांकन गर्दा कुनै प्रकाशको स्रोत अथवा जून समावेश गरिन्छ । त्यसकै प्रकाशमा कमसेकम चिन्ने गरी छायांकन गरिन्छ । एक दृश्य छ, माओवादी माथि आक्रमण भएको। यथार्थपरक देखाउन र कथाको भाव अनुसार ‘लो लाइट’ प्रयोग गर्नु सुन्दर कुरा हो तर मान्छे नै नचिन्ने गरी अन्धकार देखाइएको छ । त्यही अँध्यारोमा पनि विपक्षीको गोली अचुक छ अर्थात् प्रत्येक गोली छातीमै लागेको देखाइएको छ ।
फिल्म प्राविधिक रुपले कमजोर छ। खगेन्द्र लामिछानेले नाटकमा जति तारिफ बटुले तर सिनेमाको रुप धारण गरेपछि कमजोर सिद्ध भएको छ। प्रयास त गरे तर उत्कृष्ट फिल्मको आकृति दिन चुके । गम्भीर कथालाई रिलमा उतार्न चुके ।
युवराज गुरुङ ‘युनिश’
गुरुङ समाधान दैनिकका फोटो पत्रकार हुन् ।
तपाईको प्रतिक्रिया