लोकतान्त्रिक तमु संघमा वेदबहादुर

पोखरा ।
नेकपा एमालेको मोर्चा संगठन नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ अन्तर्गत नेपाल लोकतान्त्रिक तमु संघको शनिबार पोखरामा केन्द्रीय विस्तारित बैठक एवं भेला भएको छ । भेलाले दोस्रो राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गरेको छ ।
समितिको संयोजकमा वेदबहादुर गुरुङ (श्याम) र महासचिवमा हुमबहादुर गुरुङसहित १ सय ५१ सदस्यीय आयोजक समिति बनाइएको छ । कार्यक्रममा एमाले स्थायी समिति सदस्य एवं नेपाल लोकतान्त्रिक तमु संघ केन्द्रीय समिति अध्यक्ष किरण गुरुङले संघको स्थापनाको एतिहासिकता, संघका गतिविधि र आगामी कार्यदिशाबारे प्रकाश पारे ।
आदिवासी आन्दोलनलाई झुक्याउने काम माओवादीले गरेको आरोप लगाउँदै उनले नेपालमा कुनै समुदायको बाहुल्यता नभएकाले प्रदेशको नामाकरणमा जातीय पहिचान स्थापित गर्न नसकेको बताए । तर पनि समुदायको अधिकारका लागि संविधानले व्यवस्था गरेको अधिकार सुनिश्चित गर्नुपर्नेमा उनको जोड छ ।
लोकतान्त्रिक तमु संघका वरिष्ठ उपाध्यक्ष परशुराम मेघी गुरुङले तमु समुदायभित्र एमालेको असल विचार प्रवेश र अब्बल कार्यकर्ता निर्माण र समुदायको अधिकार एतिहासिक भौतिकवादी द्वन्द्वात्मक प्रगतिशील ढंगले खोजी गर्न तमु संघको गठन गरेको बताए । एमाले केन्द्रीय सदस्य पासाङ शेर्पाले एमालेकै नेतृत्वबाट अधिकार प्राप्त भएकाले यसैमा लाग्न आग्रह गरे ।
कार्यक्रममा उपाध्यक्ष मिनाकुमारी गुरुङ, महासचिव वेदबहादुर गुरुङ (श्याम), लोकतान्त्रिक आदिवासी जनजाति महासंघ महासचिव पेम्बा भोटे लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया